मदन भण्डारीस्मृति फुटबल सुरु : सर्लाहीद्वारा सुनसरी पराजित
राजविराज : सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा शुक्रबारदेखि सुरु भएको मदन भण्डारीस्मृति फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बागमती फुटबल क्लब सर्लाही विजयी भएको छ।
बागमती फुटबल क्लबले इटहरी फुटबल क्लब सुनसरीलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। खेल सुरु भएको २ मिनेटमै बागमती फुटबल क्ल्बका अनिल थापाले एक गोल गरी अग्रता दिलाए। मध्यान्हपछि इटहरी फुटबल क्लबका दिपेन तामाङले एक गोल गरी खेललाई बराबरी ल्याएपनि बागमती फुटबल क्लबका बिमल घिसिङले निर्णायक गोल गरी विजय दिलाए।
जिल्ला फुटबल संघ सप्तरी र न्यू त्रियुगा स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ र मधेस प्रदेशका ८ वटा टिमको सहभागिता रहेको छ। राष्ट्रियस्तरका खेलाडीहरु सम्मिलित टिममा सर्लाही र सुनसरीसहित, दमक फुटबल एकेडेमी झापा, डाँगीहाट फुटबल क्लब मोरङ, गाइघाट फुटबल क्लब उदयपुर, सहलेस फुटबल क्लब सिरहा, एपीएफ फुटबल क्लब महोत्तरी र आयोजक टिमको सहभागिता रहेको जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले जानकारी दिए।
प्रतियोगितामा विजेतालाई नगद दुई लाख र उपविजेतालाई नगद एक लाख रुपैयाँ तथा ट्रफी प्रमाणपत्र, मेडल प्रदान गरिने खवासले जानकारी दिए। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, म्यान अफ दि म्याच, बेस्ट गोल किपरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको दोस्रो खेल शनिबार गाइघाट फुटबल क्लब उदयपुर र डाँगीहाट युथ क्लब मोरङबीच हुने जिल्ला फुटबल संघ सप्तरीले जनाएको छ।
सप्तरीको १ (क) बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको संसदीय विकास कोष र सप्तकोसी नगरपालिका सप्तरीको सहयोगमा सञ्चालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य सत्यनारायण मण्डलले गरे।
जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्मा, नेकपा (एमाले) का केन्द्रीय सदस्य राजकुमार लेखी र विभिन्न राजनीतिक दलका नगर अध्यक्षहरुको उपस्थिति रहेको थियो।