महिला मतमा पुरुषकै ‘मर्जी’

महिला मतमा पुरुषकै ‘मर्जी’

मधवा, महोत्तरी : ४० वर्षीया जलेसिया देवी सदा हरेक निर्वाचनमा भोट खसाल्छिन्। तर, आफूले कुन पार्टी वा उम्मेदवारलाई भोट हाल्ने उनलाई थाहा हुँदैन। त्यसको कारण हो, उनको भोटमा पतिको ‘मर्जी’। अर्थात्, पतिले जहाँ भन्यो, उनले त्यही मत हाल्ने गरेकी छिन्। ‘कसलाई भोट दिने, नदिने मेरो लोग्नेले भनेअनुसार भोट हाल्छु,’ जलेसिया देवीले भनिन्, ‘पार्टीको बारेमा पनि मलाई केही थाहा छैन्।’

महोत्तरीको मनरा सिसबा गाउँपालिका— १० मधवा गाउँकी जलेसिया देवी मुसहर जातिकी निरक्षर हुन्। गरिब, निमुखाका लागि कुनै पनि पार्टी वा नेताले ध्यान नदिने भएकाले उनीहरूका विषयमा चासो नराखेको उनले बताइन। ‘नेताहरूको बारेमा बुझेर पनि के गर्नू ?’ उनले भनिन, ‘जोसुकैले जिते पनि हाम्रो लागि केही गर्ने होइन। त्यसो भए किन मतलव राख्ने ?’

मधवा गाउँको दसगजामा करिब एक सय मुसहर परिवारको बसोबास छ। आर्थिक विकास, समृद्धि, पहिचान त परै जाओस्, यहाँको मुसहर समुदाय खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट समेत बञ्चित छ। अर्काको जग्गामा मजदुरी गरेर छाक टार्ने यस दलित बस्तीलाई पार्टीहरूले भोट बैंक मान्ने गरेका छन्। तर, निर्वाचन सकिएपछि भने कुनै नेता फर्केर पनि यो गाउँ जाँदैनन्। 

चुनावको बेला उम्मेदवारहरूले यहाँका पुरुषहरूलाई आर्थिक सहयोग र भोजभतेर गराउँछन्। धेरथोर आर्थिक सहयोग, मासु र रक्सीकै भरमा यो बस्तीको भोट खरिदबिक्री हुने गरेको स्थानीयवासी बताउँछन्। यहाँका एक/दुईजना पुरुष मात्रै साक्षर छन्।  महिलाहरू सबै निरक्षर छन्। यसैकारण पनि पुरुषले जहाँ भन्यो, महिलाहरू त्यतै भोट हाल्ने गरेका छन्। 

हरेक निर्वाचनमा गुलियो आश्वासन र आर्थिक प्रलोभनमा परेर मुसहरहरूले भोट हाल्ने गरेका छन्। महिलाहरू पनि पुरुषले भनेअनुसार मात्रै भोट हाल्ने गरेको ४५ वर्षीया कैलाशी सदा बताउँछिन्। पीपलको बोटबाट झरेको पातलाई मतपत्रको उदाहरण बनाउँदै कैलाशीले भनिन्, ‘यसरी कागज लिएर आउँछन्, यो चिह्नमै भोट हाल्नु, नत्र रामधुलाई दिन्छु भनेर भन्छन्। अनि, हामीहरू पनि त्यसअनुसार नै भोट हाल्छौं।’ कहाँ भोट हाल्दा राम्रो हुन्छ ? कहाँ हाल्दा बस्तीको लागि सहयोग आउँछ ? यी सबै कुरा पुरुषहरूले नै थाहा पाउने गरेको कैलाशीले बताइन्। 

भोट माग्न आउने नेताहरू प्नि पुरुषहरूकै बीचमा बसेर कुरा गर्छन्,’ सिकिलिया सदाले भनिन, ‘हामी महिलाहरू त टाढैबाट हेर्छौं मात्रै। उनीहरूले के कुरा गरे, के वाचा गरे हामीलाई के थाहा ? तिमीहरूको बच्चालाई सित्तैमा पढाइदिन्छौं। बस्तीमा शौचालयको बन्दोबस्त गराइदिन्छौं। बेरोजगारहरूलाई रोजगारी दिन्छौं के न के कुराहरू सुन्न पाइन्छ तर, चुनाव बितेपछि सब हावा हुन्छ।’ नेताहरूले रक्सी र मासु खुवाएर आफूहरूको भोट लिने गरेको उनले बताइन्। ‘हामी महिलाहरूले त घरपरिवार चलाउनु पर्छ,’ उनले भनिन्, ‘लोग्नेले भनेको ठाउँमा भोट दिएन् भने कहाँ दिने ?’ 

अधिकांश पुरुषहरू रक्सी खान्छन्। त्यही कारण अवस्थ र बेरोजगार छन्। गाउँमा अवैध रूपमा रक्सीका भट्टी पसल सञ्चालनमा छन्। अपराध र महिला हिंसाका मुख्य कारण नै यी भट्टी पसल बनेका छन्। भट्टीहरू हटाउन सहयोग गर्नेलाई आफूले भोट दिने सोच बनाइरहेको ३० वर्षीया कमली सदाले बताइन्। ‘चुनावको बेला भोटको कुराकानी पनि भट्टीमै हुन्छ,’ उनले भनिन्, ‘पुरुषहरू भट्टीमा रक्सी खान्छन्। अनि, घरमा आएर झगडा गर्छन्। छोरी बुहारीलाई कुटपिट गर्छन्। यसपटक त लोग्नेको भन्दा पनि जसले भट्टी हटाउँछु भन्छ, त्यसैलाई भोट दिने हो।’ 

मुसहर बस्तीमा एउटा मात्रै खानेपानीको चापाकल छ। शौचालय छैन। ‘हामी खुल्ला स्थानमा शौच गर्न बाध्य छौ,’ सुन्दर सदाले भनिन, ‘बेलाबेला भारतीय सुरक्षाकर्मीहरूले आएर बस्ती नै उठाई दिन्छन्।  बाढीका बेला डुबान हुन्छ। शीतलहरका बेला बस्तीमा ओढ्ने ओछ्याउनेसमेत अभाव हुन्छ।’ चुनावका बेला मात्रै मुसहरका समस्या समाधान गर्ने भनेर नेताहरूले भाषण गर्ने गरेको उनले सुनाइन्। ‘हाम्रा समस्या हेर्न कोही नेता आउँदैनन्’ उनले भनिन्, ‘अहिले उनीहरूलाई भोट चाहिएको छ। चिल्लो गाडीमा चढेर हात जोड्दै आउँछन् र भोट माग्छन्।’ यसपालि आफ्नो बुद्धि विवेकले भोट हाल्ने सोच बनाउन उनले महिलालाई आग्रह गरिन्। ‘लोग्नेले जहाँ भन्यो त्यहीं भोट हाल्ने होइन’ उनले भनिन्, ‘जसले हाम्रो लागि काम गर्न सक्छ उसैलाई भोट दिनुपर्छ।’  

अशिक्षित मात्रै नभई शिक्षित महिलाहरूको मतमा पनि पुरुषहरूकै मर्जी चल्ने गरेको अधिवक्ता रेखा झाले बताइन्। ‘आफ्नो मतको प्रयोग कहाँ गर्ने ? मतको महत्त्व के छ ? एक मतले पनि चुनावी परिणाममा कस्तो असर पार्छ भन्ने विषयमा महिलालाई शिक्षाको अभाव छ,’ अधिवक्ता झाले भनिन्। 

मधेसमा पितृसत्ता निकै हाबी भएको हुँदा महिला मतमा पुरुषहरूकै मर्जी चल्दै आएको युवा नेत्री विभा ठाकुर बताउँछिन्। ‘राजनीतिक रूपमा महिलाको सक्रियता बढेको जस्तो देखिए पनि त्यो यथार्थ होइन,’ उनले भनिन्, ‘अहिले पनि पुरुषहरूले जुन दलमा भन्यो त्यहीँ राजनीतिक रूपमा आस्था राख्नुपर्ने, आफूले दल चयन गर्न नसक्ने र जहाँ अरूले भन्यो त्यहीं मत दिनुपर्ने बाध्यता महिलालाई छ।’ प्रदेश निर्वाचन कार्यालयको तथ्यांकअनुसार मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता छन्। जसमा १५ लाख ७७ हजार ३ सय १७ पुरुष र १३ लाख ३२ हजार ६ सय ४० महिला मतदाता छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.