कागबेनीधाममा तीर्थालुको भीड
जोमसोम : दिवंगत पितृहरूको उद्धार तथा उनीहरूको नाममा श्राद्ध, पिण्डदान र तर्पण दिन मुस्ताङको कागबेनीधाम चर्चित धार्मिकस्थलको रूपमा मानिन्छ। कागबेनीधाममा सधैंझैं चैतेदसैंको औंसी तिथिदेखि चैतेदसैंसम्म श्रद्धालु भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।
कोरोना कहरअघि बर्सेनि दुई सिजन कागबेनीमा नुहाउन, श्राद्ध गर्न, पिण्डदान र तर्पण दिन देशभरका ७७ वटै जिल्लाबाट भक्तजनहरू मुस्ताङको कागबेनी आउने गरेका छन्। कोरोना कहरको बेला कागबेनीधाममा भक्तजनहरूहरू श्राद्ध गर्न मुस्ताङ आउन सकेनन्। कोरोनाकै कारण कागबेनी धार्मिकस्थल लगातार दुई वर्ष सुनसान रह्यो।
यसपटक मुस्ताङको कागबेनीधाममा पितृको नाममा श्राद्ध तथा पिण्डदान गर्न चैतेदसंै औंसीदेखि चैतेदसैंको दिनसम्म हजारौं पर्यटक मुस्ताङ भित्रिए। यहाँ आएका भक्तजनले सामूहिक र व्यक्तिगत रूपमा पूजापाठ गरी पितृको नाममा श्राद्ध र पिण्डदान गर्ने गर्छन्। यहाँ पुगेर कर्म गर्नाले मोक्ष प्राप्ति हुने तीर्थालुहरू बताउँछन्।
भक्तजनहरू कागबेनीमा श्राद्ध गरी कालीगण्डकी नदीमा नुहाएर मुक्तिनाथ दर्शनका लागि उकालो उक्लिने चलन छ। कागबेनीका पुजारी यज्ञप्रसाद शर्मा गौतमका अनुसार विगतका वर्षहरूमा भन्दा यसपटक कागबेनीधाममा श्राद्ध गर्न आउने तीर्थालु अत्यधिक संख्यामा वृद्धि भएको छ। उनले कागबेनी महत्त्वपूर्ण तीर्थस्थल रहेकोले यसको व्यवस्थापनमा आंशिक सुधारको खाँचो रहेको बताए। मुस्ताङमा तीर्थालुको आगमन बढेकाले स्थानीयको व्यवसायसमेत राम्रो हुँदै गइरहेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !