राजीनामा दिएका श्रीलङ्काका अर्थमन्त्रीले पदलाई निरन्तरता दिने
कोलम्बो : यसै हप्ताको सुरुमा नयाँ वित्त मन्त्री नियुक्त भइ २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन्।
उनलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए। त्यसको एक दिनपछि राष्ट्रपतिसमक्ष उनले राजीनामा पेश दिएका थिए। राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भने भएको थिएन।
उनले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका हुन्।
अरु कसैले अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति गोटाबाया राजपाक्षले सबारीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले वित्त मन्त्रीको पदलाई निरन्तरता दिने बताएका हुन्।
सबारीले भने, 'जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु।'
श्रीलङ्कामा आर्थिक संकट, घण्टौं लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ। रासस