२० औं खुला प्याराग्लाइडिङ च्याम्पियनसिप : सोलो ओभरअलमा सेनाका सागर च्याम्पियन
पोखरा : २० औं संस्करणको खुला (महिला तथा पुरुष) प्याराग्लाइडिङ च्याम्पियनसिपमा एक्युरेसी प्रतियोगिता अन्तर्गत सोलो ओभरअलमा १७ अंक ल्याएर नेपाल आर्मीका सागर जलारी च्याम्पियन भएका छन्। सारङकोटबाट उडेर फेवाताल किनारमा अवतरण गर्ने गरी भएको प्रतियोगितामा १८ अंक ल्याएर अंञ्जन कुवँर दोस्रो र अमन थापाले २० अंक ल्याएर तेस्रो भएका छन्। २१ अंकसहित विशाल थापा चौथो भए।
यसैगरी महिलातर्फको ओभरअल एकलमा दुर्गा माया गुरुङ ४९१ अंक ल्याएर च्याम्पियन भएकी छन्। स्वस्तिका गुरुङ ५४७ अंक ल्याएर दोस्रो र सविता तामाङले ७२३ अंक ल्याएर तेस्रो हुँदा सुस्मीता सुनारले ९५० अंक ल्याएर चौथो भएको प्रतिस्पर्धाका निर्णायक समितिका संयोजक योगश भट्टराईले बताए। ओभरअल टेण्डममा इन्द्र नेपाली ४२ नम्बरसहित च्याम्पियन हुँदा ५० नम्बर ल्याएर कृष्णबहादुर सुनार दोस्रो भए। ५५ नम्बर ल्याएका न्युरेन राना तेस्रो भए। ५७ अंक ल्याएका नारायण पराजुली तेस्रो भए।
यसैगरी टिम टेण्डम (दुई जना उडेर हुने प्रतिस्पर्धा) टिम एड्भान्सले ११८६ नम्बर ल्याएर च्याम्पियन बनेको छ। १२५६ नम्बर ल्याएको टिम ड्रागनफ्लाई दोस्रो हुँदा १३०९ नम्बरका साथ टिम गोल्डेन तेस्रो भएको छ। टिम सोलोतर्फ २०२ नम्बर ल्याएर स्काई राइडर टिम प्रथम भएको छ। यसै गरी फ्लाई तानसेन टिमले १५१७ नम्बर ल्याएर दोस्रो हुँदा नेपाल एक्रो टिम १९६० नम्बरका साथ तेस्रो भएको छ।
बुधबारदेखि सुरु भएको प्रतियोगितामा ८ महिलासहित ९९ प्याराग्लाइडिङ पाइलोटको सहभागिता रहेको आयोजक संस्था नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए। प्रतियोगितामा महिला/पुरुष तथा टिमतर्फ गरी ७ इभेन्टमा प्रतिस्पर्धा भएको थियो।
एक्युरेसी सोलो ल्याण्डीङ ओभरअलतर्फ पहिलो, दोस्रो, तेस्रो हुने खेलाडीले क्रमश: ५०, ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गरे। एक्युरेसी टेण्डम ल्यान्डिङ ओभरअल र एक्युरेसी टिम टेण्डम ल्याण्डडिङ ओभरअलमा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश: ३०, २०, १० र ५ हजारसहित मेडल तथा प्रमाणपत्र पाए।
एक्रोब्याटिक प्रदर्शन, एयर ओभरअलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५, १० र ५ हजार प्रधान गरिएको थियो। बेस्ट कस्ट्युमतर्फ उत्कृष्ट एक खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरियो। कोरोनापछि प्याराग्लाइडिङ खेलका गतिविधि नभएकोले खेलाडीलाई प्रतिस्पर्धी बनाउन र प्याराग्लाइडिङ गतिविधिलाई चलायमान बनाउन प्रतियोगिताको आयोजना गरिएको नेपाल हवाई खेलकुद संस्थाका टेक्नीकल डाइरेक्टर अनिल केसीले बताए।
प्रतिक्रिया दिनुहोस !