पाकिस्तानी प्रधानमन्त्री खान पदमा रहने कि बाहिरिने ? संसदमा हुँदै मतदान
इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ता रहने वा बाहिरिने विषयको टुंगो लगाउन सदनमा कारवाही सुरु भएको छ।
विपक्षीहरुले संसदमा पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको हो। पहिलो बैठकमा विपक्षी र सत्तारुढ दलका नेता आफ्नो धारणा राखेका थिए। त्यसक्रममा तनाव भएपछि सभामुखले केही समयका लागि बैठक स्थगित गरेका थिए।
अहिले बैठक पुन: सुरु भएको छ। सैद्धान्तिक छलफलपछि अविश्वास प्रस्तावमा मतदान सुरु हुनेछ। स्थानीय सञ्चारमाध्यमले साँझ ८ बजेसम्म मतदान हुने बताएका छन्।
सत्तारुढ पीटीआईका नेता तथा विदेशमन्त्री शाह मुहमद कुरेशीले अविश्वासको प्रस्तावको सामना गर्ने तर प्रस्ताव कसरी आयो भनेर सदनबाट जनतालाई स्पष्ट पार्ने बताएका छन्।
विहीबार सर्वोच्च अदालतले उपसभामुखले रद्ध गरेको अविश्वास प्रस्तावलाई संसदमा अगाडि बढाउन आदेश दिएसँगै पाकिस्तानमा विघटन भएको संसद पुनर्स्थापित हुँदै आज अविश्वास प्रस्ताव अघि बढेको हो।
प्रधानमन्त्री खानले भने सर्वोच्च अदालतले फैसला गर्दा धेरै कुराहरुलाई नजरअन्दाज गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले विदेशी षडयन्त्रमा अविश्वास प्रस्ताव आएको बताउँदै आएका छन्।
३४२ सांसद रहेको पाकिस्तानी संसदमा अविश्वास प्रस्ताव पास गर्न १७२ मत आवश्यक पर्छ। इमरान खानको सरकारलाई १४२ सांसदको समर्थन छ। विपक्षी गठबन्धनले आफूसँग १९९ सांसद रहेको दाबी गरेको छ।