जनमत सधैं एकनास हुँदैन, गठबन्धनसँग लडेर एमाले पहिलो पार्टी बन्छ : महासचिव पोखरेल

जनमत सधैं एकनास हुँदैन, गठबन्धनसँग लडेर एमाले पहिलो पार्टी बन्छ : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमत सधैं एकनास नहुने बताएका छन्। आइतबार बागबजारमा आयोजित स्थानीय निर्वाचन केन्द्रित प्रचार भेलालाई सम्बोधन गर्दै उनले पाँच वर्षमा हरेक पार्टीले गरेको काम आधारमा नयाँ जनमत निर्माण हुने भएकाले आवधिक निर्वाचन आवश्यक भएको बताएका हुन्।

उनले अघिल्लो निर्वाचनको मतपरिणामलाई सत्ता गठबन्धनको मत एकातिर र प्रतिपक्ष एमालेको मत अर्कोतिर राखेर तुलना गर्नु उपयुक्त नहुने बताए। ‘विगतको स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धन मिलेर लड्दा पनि एमाले पहिलो भएको हो।’ उनले भने,‘आगामी निर्वाचनमा पनि एमालेका स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले गरेको कामका आधारमा जनताले एमालेलाई नै मत दिएर पहिलो पार्टी बनाउँछन्।’

उनले पार्टी विभाजनको असर ४ प्रतिशतमा परेको दाबी गरे। उनले भने, ‘माधव नेपाल पक्षले जनमतलाई प्रभाव पार्ने हैसियत छैन। यसकारण चुनावमा जाँदा उनीहरूले असर पार्दैनन् , त्यो नगन्य छ।’पोखरेलले थपे, ‘एमालेले जित्ने आधारहरु स्पष्ट छन्। बाहिर हल्ला गरिए जस्तो एमाले विभाजन भएर कमजोर छ भन्ने तर्क तथ्यमा आधारित छैन। तथ्य तत्कालिन दल विभाजन गर्न गरिएको प्रयास नै काफी छ। दल विभाजन नेता वा जनमतको आधारमा हुन्छ। एमाले नेताका आधारमा विभाजित भएको हो।’ 

पोखरेलले माधव पक्षमा गएका कार्यकर्ताले दिने मत माओवादी केन्द्रबाट एमालेमा पार्टी प्रवेश गरेकाबाट नै परिपूर्ति हुने भएको एमालेलाई विभाजनको असर नपर्ने दाबी गरे। महासचिव पोखरेलले मधेश प्रदेशमा पनि एमालेमा जनलहर देखिएकाले पार्टी कमजोर नहुने स्पष्ट पारे। उनले नेपाली राजनीतिमा कार्यकर्ताहरू चलायमान भएपनि एमालेमा ८० प्रतिशत आइरहेको दाबी गरे। उनले निर्वाचन आयोगमा झण्डै ३५ लाख मतदाता थपिएकामध्ये अधिकांश एमालेका जनमत भएको दाबी गरे। ‘गठबन्धनका माध्यमबाट परिवर्तन र विकासको नाराले जनमत पाउँदैन। मिलेर लड्ने विषय स्वार्थ हो।’ उनले भने, ‘एमाले विकास र सम‌ृद्धिको नारा लिएर अगाडि बढेको छ, जनलहर एमालेमै छ।’ 

उनले पार्टी विभाजन अघि प्रचण्ड र माधव नेपाल एकसाथ भएपनि फुटेपछि किन एउटै बनाउन सकेनन् भन्ने जनतालाई राम्रोसँग थाहा भएको बताए। उनले भने, ‘पार्टी विभाजन अघि प्रचण्ड र माधव नेपाल एकसाथ थिए। तर त उनीहरु नै विभाजन भए। मिल्न सकेनन्। किनकी उनीहरुको सम्बन्ध स्वार्थको थियो। हो, यसैले अब माओवादी र माधव पक्षमा रहेका नेता, कार्यकर्ताहरुपनि एक–एक गर्दै एमालेमा नै समाहित भइसक्नुहुनेछ।’

कांग्रेसको पछाडि लाग्ने कम्युनिस्ट हुन सक्दैनन् 

महासचिव पोखरेलले कांग्रेसको पछाडि लाग्ने कम्युनिस्ट हुन नसक्ने दाबी गरे। उनले गठबन्धन आवद्ध दललाई संकेत गर्दै कांग्रेसको पछाडि लाग्ने वामपन्थी हुन नसक्ने स्पष्ट पारेका हुन्। उनले नेपालमा राजनीति पार्टीहरू घटाएर ध्रुवीकरण गर्नु आवश्यक भएको बताए। उनले भने, ‘जति धेरै पार्टी त्यति नेपाली राजनीतिमा अस्थिरता, स्वार्थ समूहको गठजोड, विदेशी चलखेल हुन्छ। त्यसैले पार्टी घटाउनु आवश्यक छ।’

उनले अहिले दुई धार देखिएकाले एउटा एमालेले र अर्को धारको कांग्रेसले लिड गरिरहेको बताए। उनले भने, ‘वामपन्थी धारको नेतृत्व एमालेले गरिरहेको छ। अर्को कांग्रेसले, अबको चुनाव त्यसतर्फ जाँदैछ। आफ्नै दृष्टिकोण र राजनीतिक दिशा नभएका पार्टीहरु विघटनतर्फ जान्छन्।’
 
उनले नेपाली कांग्रेसको नीति र शेरबहादुर देउवाको नेतृत्वलाई स्वीकार गरेर माधव–प्रचण्ड हिडेकोले एमालेले सहकार्य गर्ने काम सम्भव नरहेको स्पष्ट पारे। पोखरेलले भने, ‘प्रचण्ड र माधवलाई पार्टीमा फिर्ता ल्याउने होइन, देउवातिरै धकेल्ने हो, उतै जान दिनुपर्छ, माधव र प्रचण्डको भ्रममा परेर त्यता लागेका अन्य नेता कार्यकर्तालाई भने पार्टीमा स्वागत गर्नुपर्छ, स्थान दिनुपर्छ।’

पछिल्लो युवा पुस्ता एमाले आकर्षित

महासचिव पोखरेलले एमालेमा सुरुवात देखिनै स‌ंगठित कार्यकर्ता भएको दाबी गरे। उनले भने, ‘पहिलेदेखि नै नेपालको चुनावी परिणाम नियाल्ने हो भने संगठित मतदाता एमालेमा छन्। असंगठित मतदाता कांग्रेसमा हुन्थे। तर अहिले संगठित त एमालेमा छँदैछन्। एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा एमालेले गरेका काम, देश बदल्ने विश्वास र भिजन देखेर पछिल्लो समयमा युवा पुस्ता एमाले र केपी शर्मा ओलीप्रति आकर्षित भएका छन्।’ उनले केपी ओलीले विकास र समृद्धिको योजना जनतामाझ लगेपछि एमालेप्रति आकर्षण बढेको धारणा राखे। उनले राजनीतिक लडाई विभिन्न क्रान्तिबाट भएपछि विकासमा क्रान्ति ल्याउनुपर्छ भनेर विकास र समृद्धिको जग नै अध्यक्ष ओलीले बसाएको दाबी गरे।

पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले एमालेले राम्रो काम गर्दागर्दै पनि गठबन्धन र राष्ट्रिय स्वार्थको कारणबाट मात्रै एमाले सरकारबाट बाहिरिनु परेको बताए। 

राष्ट्रिय स्वाभिमान र हित, विकास र समृद्धिको एजेन्डा र नीति, संविधान निर्माण र कार्यान्वयनमा भूमिका, जनताको बहुदलीय जनवाद (जवज) बाट निर्दिष्टहरु सामाजिक न्यायको पक्षमा एमाले सफल देखिएकाले जनतामा लैजाने धेरै एजेन्डा पार्टीसँग रहेको पोखरेलको भनाइ छ। उनले भारतले नाकाबन्दी लगाउँदा चीनतर्फ सम्झौता अगाडि बढाएको, संसद्बाट सर्वसम्मत रुपमा संविधान नै संशोधन गरेर संविधानको अनुसूचीमा निशान छापमा नेपालमा चुच्चे नक्सा अंकित राख्न सफल भएको र कार्यान्वयन गरेको समेत स्मरण गरे। चीनसँग नेपाललाई बन्दरगाह प्रयोग गर्न दिने सम्झौता गरेकाले अब कुनै एक देशले चाहेमापनि कहिल्यै नाकाबन्दीको समस्या भोग्नु नपर्ने पोखरेलको जिकिर छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.