पृथ्वी तातो बनाउँदै मलमूत्र
काठमाडौं : राजधानीमा मात्रै मानव मलमूत्रको सही प्रयोग गर्ने हो भने दैनिक १५० सिलिन्डर एलपीजी ग्यास उत्पादन गर्न सकिन्छ। विज्ञहरूका अनुसार, एकातिर मानव मलमूत्र सित्तैमा खेर गइरहेको छ भने अर्कोतिर, यसबाट उत्पादित मिथेन ग्यासले जलवायु परिवर्तनमा नराम्रो असर पुर्याइरहेको छ।
सार्वजनिक शौचालय व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको एरोसान नेपालका सीईओ प्रकाश अमात्यका अनुसार काठमाडौंबाट मात्रै दैनिक ३३६ घनमिटर बायोग्यास निकाल्न मिल्ने मिथेन उत्सर्जन भइरहेको छ। उनका अनुसार काठमाडौंको जनसंख्या ४० लाख मान्ने हो भने दैनिक १० लाख लिटर पिसाब संकलन हुन्छ। उक्त पिसाबबाट एक लाख केजी ठोस पदार्थ बन्छ। पिसाबमा १० प्रतिशत ठोस पदार्थ हुन्छ। जुन त्यसै खेर गइरहेको छ।
अव्यवस्थित मानव मलमूत्रबाट निस्कने मिथेन ग्यासका कारण जलवायु परिवर्तनमा नराम्रो असर गरिरहेको छ। विज्ञहरूका अनुसार कार्बनडाइअक्साइडले भन्दा मिथेन ग्यासले २२ गुणा बढी नराम्रो प्रभाव पारिरहेको छ। यसरी नै मानव मलमुत्रलाई ठाडै वायुमण्डलमा फाल्दै जाने हो भने भविष्यमा नराम्रो परिणाम भोग्नुपर्ने जलवायुविज्ञ अजय दीक्षित बताउँछन्। ‘मिथेन वायुमण्डलमा कम समय बस्छ,’ उनले भने, ‘तर धेरै हानिकारक हुन्छ। कार्बनभन्दा तातो हुने भएकाले मिथेनले पृथ्वीको तापक्रम थप बढाउँछ।’
दीक्षितका अनुसार खेर गइरहेका यस्ता ग्यासलाई ऊर्जामा परिणत गर्न सके वायुमण्डलमा कम प्रभाव देखिन्छ। र, जलवायु परिवर्तनमा न्यून भूमिका हुन्छ। गत नोभेम्बरमा ग्लास्गोमा सम्पन्न जलवायु सम्मेलनमा पनि मिथेन घटाउने एक खालको सहमती भएको हो। नेपाल सरकारले आफनो राष्ट्रिय निर्धारित प्रतिबद्धता (एनडीसी) मार्फत मिथेन ग्यास घटाउने वचन दिइसकेको छ।
अर्को तरिकाले भन्दा दीक्षितले मानव मलमूत्रलाई पानी प्रदूषणको कारक (वाटर पल्युटर) मानेका छन्। संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रम (यूएनईपी) सम्बन्धी कार्यक्रमले औद्योगिक क्रान्तिपछि पृथ्वीको तापमान ३० प्रतिशतसम्म मिथेनकै कारण बढेको तथ्य बाहिर ल्याएको छ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले कार्बनभन्दा ८६ गुणा बढी मिथेनले पृथ्वीको तापक्रम बढाएको बताएको छ। आईपीसीसीले पेरिस सहमति २०१५ अनुसार पृथ्वीको तापक्रम १.५ डिग्रीमा सीमित राख्नलाई तीव्र गतिमा मिथेन घटाउनुपर्ने चेतावनी दिइसकेको छ। सन् २०३० सम्ममा मिथेन उत्सर्जन ३० प्रतिशत न्यूनीकरण गर्न अमेरिका, युरोप, युरोपियन युनियनलगायत १ सय ४ वटा देश मन्जुर भएका छन्।
एरोसानको तथ्यांकअनुसार सन् २०२० मा मंगलबजार, बानेश्वर र स्वयम्भूस्थित बुद्धपार्कको रहेको सार्वजनिक शौचालयबाट मात्रै करिब डेढ लाख लिटर पिसाब संकलन भएको थियो। त्यसैगरी २०२१ मा मंगलबजारमा ४३ हजार ५ सय ७७, बानेश्वरमा २७ हजार ८ सय ३९ र बुद्धपार्कमा १२ हजार ४ सय ४९ लिटरभन्दा धेरै पिसाब संकलन गरेर ग्यास निकालिएको छ। ती शौचालयहरूबाट ४ हजार ७६७.५ हजार किलोग्राम दिशाबाट २०९.३२ लिटर ग्यास निस्किएको छ। ती शौचालयहरूबाट २४ वटा एलपीजी ग्यास निकालिएको छ। ‘एउटा संस्थाको पहलले यतिका उपलब्धि हासिल गरयो भने राज्यले किन नगर्ने’ अमात्यले भने, ‘निी क्षेत्रलाई पनि यस्ता काममा आकर्षण गर्न सक्नुपर्छ।’
त्यसैगरी काठमाडौंका भान्साबाट निस्कने फोहोरबाट दैनिक २ लाख ४० हजार किलोग्राम बायोग्यास बन्ने कच्चा पदार्थ निस्कन्छ। उक्त कच्चा पदार्थले पनि वायुमण्डलमा मिथेन उत्सर्जन गरिरहेको हुन्छ। यसबाट दैनिक २७ किलो बराबर एलपीजी ग्यास नास भइरहेको अमात्यले बताए। वर्षमा करिब चार हजार ९ सय ६३ किलो बराबरको बायोग्यास उत्पादन हुनेसक्ने उनको भनाइ छ। अर्का जलवायु अध्येता मन्जित ढकालका अनुसार मिथेनले सूर्यबाट आउने तापलाई कार्बनले भन्दा २२ गुणा बढी सोसेर पृथ्वीमै राख्छ। त्यसैले कार्बनभन्दा २२ गुणा बढी शक्तिशाली मानिन्छ। ढकालले भने, ‘नम्बरको हिसाबले कार्बन उत्सर्जन मिथेनभन्दा कम भएपनि त्यसको असर बढी हुन्छ। त्यसलाई प्रयोग गरेर ऊर्जा निकाल्न सकिन्छ।’
दुई वर्ष पहिला नै ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको भनिएको गुहेश्वरीस्थित ढल प्रशोधन केन्द्र अझै सम्पन्न भएको छैन।
सिनियर बायोइनर्जी विज्ञ सुशीम अमात्यका अनुसार मानव मलमुत्रलाई उचित प्रयोग गर्न सके दीर्घकालीन रूपमा फाइदा हुने बताए। विशेषगरी सार्वजनिक शौचालयहरूबाट निस्कने ग्यासलाई ऊर्जामा लैजाने प्रचुर सम्भावना देखेको उनले बताए। उनले भने, ‘खासै महंगो प्रविधि होइन।’ अमात्यका अनुसार ४ लाख ५० हजार बायोग्यास जडित भइसकेको छ। त्यसमध्ये ७० प्रतिशतमा शौचालयमा जोडिएको छ। तर, प्रदेश २ मा मानिसहरूले विभिन्न कारणले बायोग्यास जोड्न नमानेको अनुभव अमात्यले सुनाए। अन्य ठाउँमा आपत्ति छैन। तर, निरन्तर ग्यास निकाल्नका लागि शौचालयबाट मात्र जोडेर पुग्दैन। त्यसैले सार्वजनिक शौचालयबाट प्रयोग गर्न सकिने सुझाए। उनका अनुसार यसका लागि सम्पूर्ण प्रविधि नेपालमै बन्दै आएको बताए।
नेपालमा बायोग्यासको कुरा गर्दा गुहेश्वरीको एउटा प्लान्ट बाहेक कुनै प्रयोगमा छैनन्। सरकारले अनुदान नीतिअनुसार सहयोग गर्दैै आएकाले फोहोरबाट ऊर्जा निकाल्न सकिने तर्क उनको छ। ६ घनमिटरलाई ९० हजार पर्छ। ६ घनमिटर एउटा घरका लागि पर्याप्त हुन्छ। यस्ता विषयमा चासो र चेतना जगाउनुपर्ने हुन्छ। सञ्चालन पनि सजिलो छ। यसले जलवायु परिवर्तनमा उल्लेखनीय भूमिका खेल्नसक्छ।
दुई वर्ष पहिला नै ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको भनिएको गुहेश्वरीस्थित ढल प्रशोधन केन्द्र अझै सम्पन्न भएको छैन। तत्कालीन खानेपानीमन्त्रि बिना मगरले घरघरबाट निस्किएको ढल नदीमा मिसाइँदा त्यसले पानीको स्रोत प्रदूषित भएको बताउने गर्थिन्। संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रम (यूएनईपी) ले मानवीय क्रियाकलाप भएको उत्सर्जनका कारण मानवस्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई खतरामा लगेको छ। यसको प्रभाव व्यापक हुनसक्ने चेतावनीसमेत देखाएको छ।
तर, कार्बनडाइअक्साइड सयदेखि हजार वर्षसम्म वातावरणमा रहन सक्छ। तुरुन्तै कार्बन उत्सर्जन घटाए पनि त्यसको प्रभाव न्यूनीकरण गर्न शताब्दीसम्म लाग्न सक्छ। तर, मिथेन उत्सर्जन घटाउनुले निकट अवधिमा त्यसको प्रभाव देखन थाल्छ। त्यसले विश्वव्यापी तापमान १.५ डिग्रीको बाटोमा राख्न सहयो गर्नेछ। मानवीय गतिविधिबाट भएको मिथेन उत्सर्जन यो दशकमा ४५ प्रतिशतसम्म न्युनिकरण गर्न सम्भव रहेको यूएनईपीले जनाएको छ।