गठबन्धनमा लोकतन्त्रको स्वास्थ्य
स्थानीय तहको चुनाव नजिकिँदै जाँदा पाँचदलीय गठबन्धनको चर्चा त्यति नै चलिरहेको छ। पाँचदलीय गठबन्धन लोकतन्त्रको हितमा छ कि छैन भन्ने बारेमा सत्तारूढ दल नेपाली कांग्रेसभित्र बहस चलिरहेको छ। कांग्रेस संसदीय पृष्ठभूमिको पार्टी भएकाले विपक्षी दलविरुद्ध सत्तारूढहरूले गठबन्धन गरेर चुनावमा जानु कतिको लोकतान्त्रिक पद्धति हो ? प्रश्न उठेको छ। वास्तवमा लोकतन्त्र भनेको चुनावको अवसरमा आफ्नो विचार, नीति र कार्यक्रम लिएर जनतामा जाने र जनताको मन जितेर जनतामाथि नै शासन गर्ने प्रणाली हो। जसरी पनि जित्नुपर्छ भन्ने कुरा लोकतान्त्रिक सोच होइन। जसरी पनि चुनाव जित्नुपर्छ भन्ने उद्देश्यले गरिने गठबन्धन वा जनमतको सौदाबाजी लोकतन्त्रको मर्म अनुकूल हुन सक्दैन।
लोकतन्त्रको आधारभूत मान्यता आवधिक चुनाव हो। जनताले रोजेको प्रतिनिधिले जनतामाथि शासन गर्न पाउने पद्धति हो। कल्याणकारी शासन व्यवस्थाको अर्थमा जनताका लागि आधारभूत सेवा पजनी गर्ने स्थानीय सरकार गठन गर्ने प्रक्रिया हो। स्थानीय तह जनताको साथमा हुन्छ। जनसरोकारका मुद्दामा केन्द्रित भएर काम गर्छ। यसले प्रवाह गर्ने सेवाको आधारमा आमनागरिकले राज्य लोकतान्त्रिक र जनपक्षीय चरित्रको छ कि छैन भनेर बुझ्छन्। चुनाव आफैंमा लोकतान्त्रिक अवधारणा हो। लोकतन्त्रलाई नागरिकको स्वतन्त्रताको संरक्षक र व्यक्तिको अधिकतम हित गर्ने साधन मानिन्छ। कम्युनिस्ट दृष्टिमा बहुसंख्यक श्रमजीवी जनताको सत्तामा पहुँच वृद्धि गर्नु नै लोकतन्त्र हो। शासन प्रणालीको कोणबाट लोकतन्त्र कुनै वर्ग विशेषको शासन होइन। यस अवधारणाबमोजिम सर्वसाधारण जनताले आफ्ना प्रतिनिधिमार्फत शासन सञ्चालनमा सहभागी हुने अवसर हो। त्यो अधिकार उपयोग गर्ने महत्त्वपूर्ण अवसर चुनाव हो।
यसर्थ, जुनसुकै चुनाव स्वस्थ र स्वतन्त्र हुनुपर्छ। जनताले निर्भयपूर्वक मन परेको दल र उम्मेदवारलाई रोज्न पाउनु पर्छ। यो पनि लोकतन्त्रको आधारभूत मान्यता हो। नेपालको समकालीन राजनीतिमा सत्तारूढ पाँच दलले स्थानीय चुनावमा जित्ने उद्देश्यले गठबन्धन गर्ने कोसिस गरिरहेका छन्। जित्छ कि जित्दैन थाहा छैन तर विपक्षी दल नेकपा एमालेले बिनागठबन्धन चुनाव लड्न अन्य दललाई हाँक दिइरहेकोे छ। सत्तामा रहेका केही वामपन्थी दल गठबन्धन नगरी चुनाव जित्न नसकिने तर्क गर्दैछन्। गठबन्धन नभए हार हुने उनीहरूको ठम्याइँ छ। वामपन्थी दलहरू एमालेविरुद्ध गठबन्धन बनाएर अगाडि बढ्न वा कांग्रेसलाई नेता मान्न तयार छन्। कांग्रेस आफैं भने गठबन्धनको फाइदा बेफाइदाको जोडघटाउ गरिरहेको छ।
स्थानीय तहको चुनावमा जान तिघ्रा कमाउने राजनीतिक दलले देश बनाउला भनेर अपेक्षा गर्न सकिन्न। जनतामा भिजेको व्यक्त्तिलाई उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्नुपर्छ।
वर्तमान सरकार जोगाउन र प्रमुख विपक्षीलाई आकारमा ल्याउन गठबन्धन अनिवार्य हो कि होइन भन्ने विषयमा कांग्रेसभित्र बहस चलिरहेको छ। यसले कांग्रेसको राजनीतिक जीवनमा कस्तो असर पार्ला भन्ने कोणबाट चर्चा भइरहेको छ। वास्तवमा चुनावी गठबन्धन त्यसबेला गरिन्छ जब एक्लै चुनाव नजितिने पक्का हुन्छ। कमजोर शक्तिहरू बलियो शक्तिविरुद्ध गठबन्धन गर्छन्। अब प्रश्न उठ्छ, के नेपालमा सबैभन्दा कमजोर शक्तिहरू बलियोविरुद्ध गठबन्धन गरिरहेका छन् ? गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी तुलनात्मक रूपमा कमजोर र गठबन्धन चाहिएको दल हुन सक्छ। किनकि ऊ भर्खरै स्थापना भएकाले राजनीतिक रूपमा जमिनमा खुट्टा टेक्न भ्याएको छैन। त्यसपछि माओवादी केन्द्र र जनता समाजवादीलाई पनि गठबन्धन चाहिने अवस्था छ। किनकि ती एमालेभन्दा साना छन्। तर, कांग्रेस आफैंमा नेपालको ठूलो र लोकतान्त्रिक दल हो। यसको इतिहास र योगदान गठबन्धनका अन्य दलको भन्दा लामो छ।
कांग्रेसलाई स्थानीय चुनावमा एकाध स्थानीय तह जित्न अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था छैन। अझ सिद्धान्त नै नमिल्ने दलसँग गठबन्धन गर्नुपर्ने हुँदै होइन। कांग्रेसका कतिपय नेता, कार्यकर्ताले गठबन्धनकै कारण निर्वाचनमा उम्मेदवार बन्ने र लोकतन्त्रको अभ्यास गर्ने अवसर गुमाइरहेका छन्। त्यसबाट जुन प्रकारको असन्तुष्टि र राजनीतिक क्षति हुन्छ, त्यो गठबन्धनबाट हुने फाइदाबाट क्षतिपूर्ति हुने छैन। नेपाली कांग्रेसजस्तो ऐतिहासिक राजनीतिक पार्टीले कम्युनिस्टहरूसँग गठबन्धन गरेर चुनावरूपी नदी तर्नुपर्ने अवस्था आएको हो ? यदि हो भने कांग्रेस एमालेभन्दा कमजोर भएछ भनेर स्वीकार गरे भो। एमाले
असाध्यै बलियो छ, त्यसलाई दिग्विजय हुनबाट रोक्ने अरू उपाय छैन भन्ने सन्देश दिनु हो।
दुनियाँलाई थाहा भएकै कुरा हो, यो गठबन्धन सैद्धान्तिक होइन। कम्युुनिस्टको सरकार बलात् अपदस्त गरेर कांग्रेसलाई सत्तामा पुर्याउन देशीविदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’मा बनेको हो। माधव नेपालजस्ता नेताहरूको राजनीतिक साख जोगाइदिन गरिएको साँठगाँठ हो। यही गठबन्धनकै कारण कांग्रेस असमयमै सरकारमा पुगेको छ। त्यही ऋण तिर्न पनि गठबन्धनमा सामेल भएर नेकपा (एस) जस्ता दललाई भोट हाल्नुपर्ने कांग्रेसी नेतृत्वको बाध्यता हुन सक्छ।
वास्तवमा यो गठबन्धन न राजनीतिक हो न सैद्धान्तिक। राजनीतिक रूपमा विश्लेषण गर्ने हो भने वर्तमान सत्ता गठबन्धन निर्वाचनबाट उदाएको कम्युनिस्ट सरकारलाई अपदस्थ गर्न रचिएको ग्रान्ड डिजाइनको उपज हो। ठूला कम्युनिस्ट पार्टीहरू मिलेर चुनाव लडेर जनताको मतबाट झन्डै दुईतिहाइ जनमत आफूतिर तान्न सक्नु दुनियाँका लागि आश्चर्यको विषय थियो। खासगरी कम्युनिस्ट विरोधी शक्तिहरूका लागि त टाउको दुःखाइको विषय नै थियो। त्यही त्रसित मानसिकतामा रहेका बेला पनि विकास निर्माणको अभियान सञ्चालन हुँदै थियो। मिचिएको भूभाग समेटेर नक्सा प्रकाशित गर्नेजस्ता राष्ट्रवादी काम गरेर जनविश्वास बढाइरहेको अवस्था थियो। तर, पार्टीभित्रैको अन्तरद्वन्द्वमा फेसो हालेर नेकपा फुटाइयो। अप्राकृतिक रूपमा कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई सिंहासनमा बसाइयो।
अप्राकृतिक गठबन्धन गरेर राजनीतिक बैसाखीको भरमा सत्तामा पुगी राज्यको साधनस्रोतमाथि कब्जा गर्नु सर्वथा अनुचित हो। लोकतन्त्रको मर्म र सुस्वास्थ्यको दृष्टिबाट अत्यन्त गलत हो।
आश्चर्यलाग्दो कुरो त कम्युनिस्ट पार्टीका खाइलाग्दा नेताहरू यस अप्राकृतिक सत्ता हस्तान्तरणका सारथि बनेका छन्। अहिले पनि चुनावको माध्यमबाट केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले जनताको विश्वास जितेर शक्तिमा आउने खतरा उनीहरूले देखिरहेका छन्। कम्युनिस्ट आवरणमा रहेका दलहरूलाई एकीकृत गरेर कांग्रेसको नेतृत्वमा गठबन्धन बनाए मात्र एमालेलाई हराउन सकिने निष्कर्षका साथ गठबन्धनको नाटक मञ्चन भइरहेको छ। निर्वाचनको माध्यमबाट कम्युनिस्ट शक्तिलाई समाप्त गर्न कम्युनिस्ट नामधारी समूहलाई कांग्रेसको नेतृत्वमा मोर्चाबन्दी बनाइएको छ। यो मोर्चाबन्दी वा गठबन्धन जित्नभन्दा पनि एमालेलाई हराउन कम्युनिस्टविरुद्ध कम्युनिस्टलाई प्रयोग गर्ने ध्येयका साथ ग्रान्ड डिजाइन रचिएको हो। यो गठबन्धन जनतामा स्थापित कम्युनिस्ट शक्ति एमालेविरुद्ध लक्षित छ।
त्यसैले यो गठबन्धन राजनीतिक उद्देश्यबाट भन्दा पनि षड्यन्त्रको सिद्धान्तबाट निर्देशित छ। मुलुकको सुदूर भविष्यका लागि होइन, सत्तास्वार्थ र षड्यन्त्रको बीउ रोपेर गमलामा हुर्काइएको विकासको फूल हो। सबैभन्दा आश्चर्यको कुरा एमालेविरुद्धमा रहेका दलहरूमा पनि रणनीतिक रूपमा गठबन्धनलाई उपयोग गर्ने मनस्थिति देखिन्छ। कांग्रेसले वामपन्थीहरू एक हुने अवस्था आएमा उनीहरू बलियो शक्तिको रूपमा उदाउन सक्ने सम्भावना बुझेको छ। त्यही भएर नेकपा (एस) र माओवादी केन्द्रलाई खोकिलामा बोकेर एमालेविरुद्ध प्रयोग गर्न चाहन्छ। बृहत् कम्युनिस्ट आन्दोलनको सपना वाम राजनीतिक दलहरूको साझा सपना हो। माओवादी केन्द्र र एकीकृत समाजवादी केपी ओलीविरुद्ध लक्षित छन्।
ओलीको विद्वता, बढ्दो लोकप्रियता र रणनीतिक कौशलका अगाडि हार खाएका माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहालहरू चुनावबाट केपी ओलीलाई कमजोर सावित गर्न पाए कम्युनिस्ट एकता गर्ने प्रचार गरिरहेका छन्। यसबाट रणनीतिक हिसाबले एमाले शक्तिमा आए कांग्रेस नेतृत्वमा रहेको गठबन्धन तत्काल परास्त हुन्छ। एमालेलाई कमजोर पार्न सके एकीकृत कम्युनिस्ट पार्टी बनाउने माधव–प्रचण्डको ध्येय पूरा हुन्छ। त्यसबाट नेपाली कांग्रेस सधैंका लागि कमजोर हुने अवस्था रहन्छ। त्यसपछि माधव प्रचण्डले भनेजस्तै अवस्था आएमा एकीकृत कम्युनिस्ट पार्टी सशक्त भएर नेपाली कांग्रेसको भविष्य गम्भीर संकटमा पर्न जाने सम्भावना छ। दुवै किसिमले गठबन्धन नेपाली कांग्रेसको हितमा छैन।
स्थानीय तह राज्यको संरचनाको आधारभूत तह हो। राजनीतिक दलले आफ्ना प्रतिनिधिहरू पठाएर स्थानीय सरकारको माध्यमबाट जनताको मन जित्ने हो। जनताको घरदैलोमा पुगेर सुखदुःखमा साथ दिने महत्त्वपूर्ण अवसर हो। स्थानीय मतदाताले यस निर्वाचनमा चुन्ने र चुनिन पाउने कानुनी व्यवस्था छ। स्थानीय जनताले नै जित र हारको निर्णय गर्न सक्छन्। यसर्थ, राजनीतिक दलहरूले आफ्नो प्रभावअनुसार स्थानीय प्रयास र उपाय लगाएर जित्नुपर्छ। एउटा वार्ड र एउटा स्थानीय तह जिते पनि शासन गर्न पाइन्छ। एउटा वडा र एउटा स्थानीय तह जित्ने हिम्मत नभएर गठबन्धनको भरमा जित्न खोज्नु आफैंमा गलत हो।
स्थानीय तहमा सत्तापक्ष वा विपक्ष हुँदैन। संंसदीय दलको व्यवस्था छैन। संघ र प्रदेशमा जस्तो सरकार बनाउन बहुमत कुर्नुपर्ने र अल्पमतमा पर्नासाथ सरकार ढल्ने हुँदैन।
स्थानीय सरकारमा निर्वाचित भएको प्रमुख वा अध्यक्षले पाँच वर्षसम्म सरकार चलाउन सक्छ। विकासको काम गर्ने स्थानीय तहमा राजनीतिक भागबन्डाको आधारमा अप्राकृतिक गठबन्धन गरेर जित्ने सपना देख्नु आफैंमा अलोकतान्त्रिक सोच हो। लोकतन्त्रको आधारभूत मान्यताविपरीत हो। स्थानीय तहमा गठबन्धन गरेर एउटा वडा र एउटा पालिकामात्र पनि जित्ने हैसियत नभएका राजनीतिक दल पनि छन्। जो राज्य सञ्चालनको सपना बाँडेर हँसिमजाकको पात्र बन्नु हुँदैन। बरू स्थानीय तहको चुनावमा खडा भएर शक्ति देखाउनु पर्छ। स्थानीय तहमा प्रकट भएको शक्तिको आधारमा राजनीतिक दलहरूले आगामी प्रदेश एवं संसदीय चुनावमा कति स्थान जित्न सक्छ भनेर अनुमान लगाइन्छ। निर्वाचन परिमाण जनमत मापन गर्ने आधार बन्छ। बिनामापन अरूले उचालेको भरमा गठबन्धन गर्नु उचित हुन्न।
स्थानीय तहको चुनावमा जान तिघ्रा कमाउने राजनीतिक दलले देश बनाउला भनेर अपेक्षा गर्न सकिन्न। जनतामा भिजेको व्यक्तिलाई उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्नुपर्छ। त्यसो गर्नाले जनतामा लोकतन्त्रप्रतिको आस्था र राजनीतिक दलप्रतिको विश्वास बढ्छ, लोकतान्त्रिक संस्कार सिकाउन सकिन्छ। स्थानीय चुनावमा गठबन्धन गर्नु भनेको राजनीतिक दल विशेषलाई जिम्मेवार बन्नबाट रोक्नु हो। राजनीतिक दलहरूले जनपक्षीय राजनीति गर्न हार र जित, जस र अपजस बेहोर्न सिक्नुपर्छ। आफ्नो खुट्टामा उभिएर सके जति जनताको सेवा गर्ने अठोट गर्नुपर्छ। अप्राकृतिक गठबन्धन गरेर राजनीतिक बैसाखीको भरमा सत्तामा पुगी राज्यको साधनस्रोतमाथि कब्जा गर्नु सर्वथा अनुचित हो। लोकतन्त्रको मर्म र सुस्वास्थ्यको दृष्टिबाट अत्यन्त गलत हो।