कवि हुन नसकेका गणेशमान
भौतिक रूपले यो लोक छाडिसकेको मान्छेको कुरो गर्नु एउटा औपचारिकता मात्रै हुन सक्ला। तर, औपचारिकता नै सही। औपचारिकतावश कल्पना भने गर्न सकिन्छ। र, यहाँ कल्पनाभन्दा पनि सम्झनाको कुरो छ। सन्दर्भ जोड्न खोजिएको विषय हो– नेपाली राजनीतिमा चट्टानको उपमा दिइएका लौहपुरुष गणेशमान सिंहको। यो नाम भन्नासाथ त्योसँगै जोडिएर आउँछ– चैत २६ को मिति। र, यही समयबीच त्यो
२०४६ सालको त्यो चैत २६ मा अन्त्य भएको जनआन्दोलनलाई सफल पार्न नेपाली जनमानसको तर्फबाट अधिकांश नागरिकले योगदान पुर्याएका थिए। सो आन्दोलनसँग लेखक–कविहरू मात्रै अछूत रहन सक्ने कुरै थिएन। यहाँ त्यही प्रसंग छ– कवि र कवितासँग गाँसिएका उनै गणेशमान सिंंहको। नेपाली साहित्यको इतिहासमा पहिलो घटना थियो– राणाकालका त्रिभुवन, पञ्चायतकालका महेन्द्र र त्यही कालका वीरेन्द्रको शासनलाई भोगिरहेका स्वाभिमानी गणेशमानले आफ्नो जीवनकालकै प्रथम पुस्तक विमोचन ‘जिन्दावाद मुर्दावाद’ नामक एक कविता संग्रहको गरेका थिए।
त्यो पुस्तक विमोचन मूल रूपमा पंक्तिकार स्वयंका साथ उत्तम भौकाजी र राजेन्द्र पराजुलीसमेतका तथा अतिथिहरू शिव अधिकारी, दिनेश अधिकारी, वियोगी बुढाथोकी र लव गाउँलेका कविता रहेको छ। उक्त पुस्तकको विमोचन समारोहले एउटा ऐतिहासिकता पनि कायम गर्यो। गणेशमान सिंहले आफ्नो जीवनकालमा त्यो पुस्तकपश्चात् फेरि अर्को दोस्रो पुस्तकको विमोचन नगर्नुबाट नै यो तथ्यको पुष्टि हुन जान्छ। ‘जिन्दावाद मुर्दावाद’ किताब विमोचनको समारोह भएको थियो– २०४७ जेठ १० गते। विमोचनको परम्परालाई अनुसरण गर्दै उक्त विमोचन कार्यक्रमको बीच समयमा पुस्तकभित्रबाटै प्रथम कविता पाठ भयो,
...गल्ली–गल्लीबाट निस्केर उसले
बीच सडकमा स्थापित
कालो सालिक हल्लाउन थाल्यो...
सालिक हल्लाउँदा हल्लाउँदै
अचानक, आफैं गल्र्याम्म ढल्यो
मलाईसमेत छक्याएर ढल्यो
थाहै थिएन, ‘ढलाइ’ यस्तो पनि हुँदो रहेछ
कि ढल्ने मान्छे
सालिक हल्लाउँदा हल्लाउँदै
तत्काल, पूरै देश हल्लाएर ढल्यो
देशको इतिहास उभ्याएर ढल्यो।
आफू विशुद्ध राजनीतिक व्यक्ति भए पनि साहित्यिक किताबको विमोचन गर्नु परेको कारणबारे स्पष्ट पार्दै गणेशमानले बताएका थिए– ‘खासमा मैले कविहरूको मान मर्दन गर्न नचाहेर यो कार्यक्रममा आएको हुँ। मैले यी नवयुवा कविहरूको उत्साहलाई कमजोर पार्न चाहिनँ।’ उही वाक्यसँग जोड्दै कवितासँग आफ्नो सम्बन्धबारे नढाँटीकन भने– ‘हुन त मैले कहिल्यै पनि कविता बुझिनँ। तर किन हो, कविताले मेरो कहिल्यै पिछा छाडेन। जेल बसेदेखि यी अहिलेको समयसम्म नै। ...खोइ, कस्तो संयोग हो यो !’
गणेशमानको स्वीकारोक्ति थियो, उनले कविता कहिल्यै बुझेनन्। बुझ्ने हरसम्भव चेष्टा गरे। तर कसै गरे पनि बुझ्न सकेनन्। एउटा संयोग ! राणा शासनकालमा जब उनी काराबासको जीवनयापन गर्दै थिए। ठीक उही समयमा युगकवि सिद्धिचरण श्रेष्ठ पनि त्यही काराबासमा सजाय भोगिरहेका थिए। खुब रोमाञ्चक इतिहास थियो त्यो। ध्यानस्थ सिद्धिचरण सदैव चुपचाप कविता लेखिरहन्थे। छन्दका कविता। समयक्रममा सिद्धिचरणको कविता– लेखाइप्रति गणेशमान पनि आकृष्ट नभई रहन सकेनन्।
साथसंगतको फल ! चुलबुल उनको मन। एक दिन गणेशमानले पनि कलम उठाए र कविता लेख्न बसे। सिद्धिचरणकै अनुसरण गर्दै छन्दमा लेख्ने प्रयत्न गरे। अर्को दिन पनि गरे। त्यो प्रयत्नलाई कैयौं दिनसम्म जारी राखे। तर पहिलो पंक्तिपछि दोस्रो पंक्तिमा छन्द मिलाउन उनले कहिल्यै सकेनन्। छन्द मिलाउन खोजेका उनका प्रत्येक दिनको प्रयास विफल भयो। अर्कोतर्फ, सिद्धिचरण भने सधैं कविता– सोचमै मग्न रहिरहेका हुन्थे। अन्ततः गणेशमानलाई लाग्यो, कवि हुनलाई गहिरो चिन्तन गर्नुपर्छ, साधना गर्नुपर्छ। ठूलो तपस्या गर्नुपर्छ। उनको अन्तसंस्करणले उनलाई स्वीकार गर्न बाध्य गरायो कि उनीभित्र यी तीनवटै गुण छैनन्। यसर्थ कवि हुने आफ्नो भित्री चाहनालाई उनले पूर्णरूपमा तिलाञ्जली दिए र सदाका लागि कलम बिसाए।
आफूभित्र बाँचेको जिजीविषाको यस प्रकार अवशान भएलगत्तै उनको सोचले अर्को रूप लियो। सिद्धिचरणको सिको गरेर कविता लेख्नुभन्दा वास्तविक रूपमा उनीजस्ता कर्मठ कविसँग सहवास हुनुजस्तो उपलब्धिको विषय आफ्ना लागि अर्को हुन सत्तैmन भन्नेतर्फ उनको विचार डोरियो। यही विचारअनुरूप गणेशमानको मथिंगलमा आफ्नो तर्पmबाट सिद्धिचरणको कविता–लेखनलाई थप बल पुर्याउने उद्देश्यका साथ सक्दो सहयोग गर्नुपर्छ भन्ने भावना आयो। फलतः एउटा निधो गरेर चिन्तनमग्न सिद्धिचरणलाई बेला–बेलामा पानी पिउन दिने कर्म गर्न लागे उनी।
यसरी, कविता लेखेर सिद्धिचरणजस्तो सिद्ध हुन नपाए पनि एक सिद्ध कविलाई पानी पिलाउने कर्म गरेर गणेशमान आफूले ठूलो पुण्य कमाएको गौरव गरे। जुन गौरवको अनुभूति उनले उक्त ‘जिन्दावाद मुर्दावाद’ विमोचनको समयमा यसरी सुनाएका थिए कि उनी काव्य–कर्मलाई अत्यन्तै सम्मान गर्छन्। सायद यही आदरभावले नै प्रेरित गरेकै कारणले गर्दा उनी राजनीतिक व्यक्तित्व भएरै पनि त्यस समय उक्त पुस्तक विमोचनका लागि अग्रसर भएको हुनुपर्छ।
चैत २६ सँग गणेशमान सिंहको सन्दर्भ यसै कारणले विशेष छ कि उक्त विमोचित ‘जिन्दावाद मुर्दावाद’ भित्रका रचनाहरू गणेशमानद्वारा हाँकिएको आन्दोलनको समर्थन अर्थात् तत्कालीन पञ्चायतको विरुद्धमा लेखिएका थिए। स्मरणीय छ, त्यो आन्दोलनको अन्त्य चैत २४ गते समाप्त भएपश्चात् २६ गते मध्यरातमा दलमाथिको प्रतिबन्ध फुकुवा गरेर बहुदलीय व्यवस्थाको घोषणा भएको थियो।