पोखराको मेयरमा एमालेबाट १२ आकाङ्क्षी
पोखरा : एमालेबाट पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बन्न १२ जना इच्छुक देखिएका छन्। एमाले महानगर कमिटीको मंगलबारको बैठकमा १२ जनाले आफ्नो आकाङ्क्षा जाहेर गरेका हुन्। नगर कमिटीले आकाङ्क्षीलाई पार्टीबाट सिफारिस हुन पार्टीभित्र उम्मेदवारी दिन लगाएको थियो।
केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्ण थापा, राजीव पहारी, मीनाकुमारी गुरुङ, प्रदेश कमिटी उपसचिव रश्मि आचार्य, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, प्राडा विश्वकल्याण पराजुली, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी मेयरका आकांक्षी देखिएका छन्। उनीहरुले महानगर कमिटीको मंगलबारको जारी बैठकमा उम्मेदवारी दिएका हुन्।
मेयरका लागि बहालवाला उपमेयर मञ्जुदेवी गुरुङको पनि नाम चर्चा छ। तर पार्टी बैठकमा उनले उम्मेदवारी दर्ता नगराएको स्रोतले जनाएको छ।
महानगर उपमेयरमा पनि ११ जनाले आकांक्षा देखाएका छन्। पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका प्रहारी, पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, जिसस संयोजक बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका छन्।
एमालेले महानगर कमिटीले ३ जनाको नाम मेयरमा सिफारिस गर्न सहमतिको प्रयास गरेको छ। कतिपय आकांक्षीहरुले भने आफूहरुलाई कार्यकर्ताले भोट हालेर चुनी सिफारिस गरिनुपर्ने माग गरेका छन्।