कीर्तिमान तोड्दै केजीएफ–२
मुम्बई : पछिल्लो समय दक्षिण भारतीय चलचित्रले बर्चश्व जमाउन थालेका छन्। दक्षिण भारतीय चलचित्रले बक्स अफिस कलेक्सनमा पनि ठूल्ठूला कीर्तिमान बनाइरहेका छन्। ‘पुष्पा’ र ‘आरआरआर’पछि ‘केजीएफ च्याप्टर–२’ ले पनि रिलिजअघि नै विभिन्न रेकर्ड तोडेको छ। यस चलचित्रको ट्रेलर सार्वजनिक भएदेखि नै यसले चर्चा बटुल्दै आएको छ।
यही शुक्रबार रिलिज हुन लागेको ‘केजीएफ च्याप्टर–२’ले प्रि–बुकिङमा एसएस राजमौलीको ‘आरआरआर’लाई समेत पछाडि छाडेको छ। अप्रिल १४ बाट विश्वव्यापी रुपमा रिलिज हुन लागेको ‘केजीएफ च्याप्टर–२’ ले बक्स अफिसमा सुनामी ल्याउने चलचित्र पण्डितहरूले अनुमान गरिएका छन्। अहिलेदेखि नै आक्रामक रुपमा टिकट बुकिङ भइरहेकाले यसले थुप्रै कीर्तिमान राख्ने अपेक्षा गरिएको छ।
यस चलचित्रले रिलिज अघि नै २५ करोडभन्दा बढीको प्रि–बुकिङ गरिसकेको छ। जुन ‘आरआरआर’को भन्दा धेरै हो। ‘आरआरआर’ले जम्मा पाँच करोड भारुको मात्रै प्रि–बुकिङ गरेको थियो। प्रि–बुकिङमा ‘केजीएफ च्याप्टर–२’ ले ‘आरआरआर’लाई पाँच गुणाले उछिनेको छ। त्यसले बक्स अफिस कलेक्सनमा पनि ‘आरआरआर’माथि ‘केजीएफ–२’ हाबी हुने चलचित्र पण्डितहरूको दाबी छ।