चिन्ह नभएका जिल्लामा स्वतन्त्रबाट चुनाव लड्छौं : हृदयेश त्रिपाठी
परासी : जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह निर्वाचनमा १७ जिल्लाबाहेक अन्य जिल्लाबाट स्वतन्त्रबाट चुनाव लड्ने बताएका छन्। १७ जिल्लामा भने आफ्नै चिन्हबाट चुनाव लड्ने उनको भनाई छ।
निर्वाचनमा अहिलेसम्म तालमेल गर्ने सोच नबनाए पनि उपयुक्त अवस्था आएमा तालमेल हुन सक्ने उनको भनाई छ। एमालेको सूर्य चुनाव चिन्हबाट पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित त्रिपाठीले नयाँ पार्टी खोलेका छन्।
दल दर्तापछि उनको पार्टीले १७ जिल्लाको विवरण निर्वाचन आयोगमा बुझाएको छ। ‘१७ जिल्लाबाट आफ्नै चिन्हबाट चुनाव लड्छौं अन्य जिल्लाबाट स्वतन्त्रबाट उमेदवारी दिन्छौं।’उनले अन्नपूर्ण पोस्टसँग भने। आफ्नै चिन्हबाट चुनाव लड्ने जिल्लामा तराईसहित केही पहाडका पनि रहेको उनले जानकारी दिए।
स्थानीय तह निर्वाचनका लागि अन्य दलहरुले धमाधम उमेदवारको टुंगो लगाइ रहेपनि आफ्नै जिल्लामासमेत उनले उम्मेदवारको टुंगो लगाएका छैनन्। स्थानीय चुनावबारे टिप्पणी गर्दै उनले भने ‘सैद्धान्तिकरुपले स्थानीय तह दलिय आधारमा हुनुहुँदैन भन्ने हाम्रो धारणा हो। दलकै आधारमा हुने भएपछि हामीलाई पनि बाध्यता बनाएको छ। त्यसैले चुनावमा जाँदैछौं।’ उनले भने।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका त्रिपाठीले स्थानीय तहमा सबैभन्दा बढी स्वास्थ्य र कृषि क्षेत्रमा गएको रकम दुरुपयोग भएको उनले बताए। चुनाव घोषणा भइसकेपछि स्थानीय तहहरुले कार्यकर्ता पोस्न जथाभावी कृषि उपकरणलगायतका सामग्री वितरण गरेर दुरुपयोग गरेको उनको आरोप छ। स्थानीय तहमा भएको आर्थिक अनियमिता र भ्रष्टचार अन्त्यका लागि पार्टीले नारा बनाएर चुनावमा जाने त्रिपाठीको भनाई छ।