पार्टी कार्यालयमा तोडफोड गरेपछि मेयरका आकांक्षी अन्सारी माओवादीबाट निष्काशित
वीरगञ्ज : नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीलाई पार्टीको सधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ।
बुधबार वीरगञ्जस्थित पार्टी कार्यालयमा भएको तोडफोडको घटनामा संलग्न रहेको भन्दै माओवादी केन्द्रले महानगर अध्यक्ष अन्सारी, उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्मादिन अन्सारीलाई पनि पार्टीबाट निष्काशन गरेको हो।
महानगर अध्यक्ष अन्सारी आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट वीरगञ्ज महानगरको मेयरका आंकाक्षी थिए। उनी २०७४ को निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए।
माओवादी केन्द्रका पर्सा जिल्ला इन्चार्ज विजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहाले बुधबार साँझ निकालेको विज्ञप्तिमा महानगर अध्यक्ष अन्सारी, उपाध्यक्षद्वय यादव र अन्सारीलाई पार्टीको साधरण सदस्य नरहने गरी निष्काशन गरिएको उल्लेख छ।
महानगर अध्यक्ष अन्सारीलगायतको समूहले देशी-विदेशी प्रतिक्रियावादीहरुको इशारामा पार्टी कार्यालयमा तोडफोड गरी जिल्ला इन्चार्ज र संयोजकलाई तथानाम गाली गलौज गरी पार्टीलाई बदनाम गराएको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय निर्वाचनमा समेत पार्टीलाई हानी पुर्याउने गरी गुण्डागर्दी र अराजक गतिविधि गर्ने र गराउने अन्सारीसहितका नेताहरुलाई पार्टीबाट निष्काशन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
वीरगञ्जको राधेमाईस्थित माओवादीको पार्टी कार्यालयमा बुधबार दिउँसो असन्तुष्ट नेता कार्यकर्ताहरुको एक समूहले तोडफोड गरेको थियो। जिल्ला नेतृत्वबाट असन्तुष्ट अखिल क्रान्तिकारीका मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, माओवादी केन्द्रका वीरगञ्ज महानगर उपाध्यक्षद्वय अनिरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हीरा अन्सारी, छोटेलाल कुर्मीलगायतको समूहले पार्टी कार्यालयमा तोडफोड गरेको जिल्ला इन्चार्ज महतोको आरोप छ।
स्थानीय तह निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधि प्रति असन्तुष्टि जनाउँदै नेता कार्यकर्ताहरुको एक समूह पार्टी कार्यालयमा जिल्ला इन्चार्ज महतोलाई ज्ञापनपत्र पत्र बुझाउन गएको थियो। त्यही क्रममा विवाद भएपछि आक्रोशित उनीहरुले तोडफोड गरेका थिए। तोडफोडबाट पार्टी कार्यलयमा रहेको टेबल, कुर्सी, सोफागायतमा क्षति भएको छ।
पार्टीका वीरगन्ज महानगर कमिटी अध्यक्ष अन्सारीकै निर्देशनमा पार्टी कार्यालयमा तोडफोड भएको जिल्ला संयोजक कुशवाहाको भनाइ छ। महानगर अध्यक्ष अन्सारीले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताए। उनले पार्टी कार्यालयमा तोडफोडको घटना भएका बेला आफू विन्दवासीनीमा पार्टीको कार्यक्रममा रहेको बताए।