नेपाल एयरलाइन्सले २२ अप्रिलबाट साउदी उडान भर्ने
साउदी : नेपाल एयरलाइन्सले यही २२ अप्रिलबाट साउदीको रियाद काठमाडौं र काठमाडौं रियाद सिधा उडान भर्ने भएको छ। हप्तामा ३ उडान हुने छ।
साउदी अरेवियाको गाकाले बायु सेवा नियमलाई ५ मार्चमा साउदी उडान भर्ने अनुमति दिएको थियो। रियाद शहरको कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलेउडान अनुमति प्राप्त गरेको हो। सोलगत्तै निगमले साउदी अरेबियाको रियाद , दमाम तथा जेद्दा शहरबाट उडान गर्न लागेको हो।
संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष अधिकारीको पहलमा उडान सुरु हुन लागेको हो। निगमले यस अघि कोभिड १९को समयमा पनि साउदीमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि चार्टर्ड उडान गरेको थियो।
साउदीमा हुने नियमित उडानमा तत्कालीन समयको लागि एयरलाइन्सले यात्रुहरुको लागि ४० किलो लगेज र ७ किलो ह्यान्ड ब्यागसँगै खानाको व्यवस्था समेत गर्ने भएको छ।
साउदीका लागि तत्कालीन समयमा सिधा उडान हिमालयन एयरलाइन्सले गर्दै आइरहेको छ। नेपाल वायुसेवा निगमले हालसम्म भारतका तीन सहरसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज रहेका छन्।