रौतापोखरी र ताप्लीमा भव्य मेला
उदयपुर : विगत वर्षझैँ यस वर्ष पनि उदयपुरका ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र रौतापोखरी र ताप्ली पोखरीमा धार्मिक मेला लागेको छ।
नयाँ वर्षको अवसरमा रौतामाई गाउँपालिका वडा नं ६ स्थित रौतापोखरी र ताप्लि गाउँपालिका २ ओख्लेमा रहेको ताप्लि पोखरीमा मेला लागेको हो। ऐतिहासिक तथा धार्मिक महत्व बोकेका यी दुबै स्थलको नामबाटै गाउँपालिकाको नामाकरण गरिएको छ।
कोभिड-१९ का कारण विगत दुई वर्षदेखि लाग्न नसकेको मेला यस वर्ष स्थानीयले भव्यरुपमा लगाएका छन्। कोभिडको कारण देखाउँदै स्थानीय प्रशासनले मेला, पर्वजस्ता भिडभाड हुने र्कायक्रममा रोक लगाएसँगै रोकिएको मेला यसवर्ष स्थानीयले निकै खुसीसाथ लगाएका हुन्।
मेला हेर्न र पूजाआरधना गर्न उदयपुर, सिराहा, सप्तरी, मोरङ, सुनसरी, धनुषा, खोटाङलगायतका जिल्ला र छिमेकी मुलुक भारतबाटसमेत दर्शनार्थीको भिड लागेको स्थानीय मनोज कार्कीले बताए। उनले सोचदै नसोचेका ठाउँबाट भक्तजनहरुको घुइँचो लागेकाले व्यवस्थापनमा केही कठिनाइ भएको बताए।
‘दुई वर्षदेखि मेला लागेको थिएन, यस वर्ष पनि सामान्यरुपले लगाउने सोचकासाथ कहीँ कतै खबर नगरी लगाउने योजना थियो, तर दर्शनार्थीको भिडले आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको छ,' उनले भने।
रौता भगवतीको दर्शनबाट मनोकामना पूरा हुने विश्वास भएकाले नयाँ वर्षमा भगवतीको दर्शन गर्न आउने भक्तजनको संख्या वर्षेनि बढ्दै गएको उनले बताए।
रौता र ताप्ली क्षेत्र पर्यटकीय स्थल भएकाले समेत त्यस क्षेत्रमा मानिसहरुको भीड लाग्ने गरेको हो। नयाँ वर्षको विदाको सदुपयोग गर्दै कर्मचारीदेखि व्यापारसमेत सदरमुकाम गाईघाटबाट बाक्लो उपस्थित जनाएका छन्।