भारत १५ वर्षभित्र अखण्ड बन्ने आरएसएस प्रमुखको घोषणा, नेपालसमेत पर्ने अखण्ड भारत अवधारणा के हो?

भारत १५ वर्षभित्र अखण्ड बन्ने आरएसएस प्रमुखको घोषणा, नेपालसमेत पर्ने अखण्ड भारत अवधारणा के हो?

काठमाडौं : भारतको हिन्दू राष्ट्रवादी छाता संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतले भारत १५ वर्षभित्र अखण्ड बन्ने घोषणा गरेका छन्।

उत्तराखण्डको हरिद्वारमा बुधबार मन्दिर उद्‌घाटन गर्न पुगेका भागवतले १५ वर्षभित्र भारत फेरि अखण्ड भारत बन्ने र आफूहरुले यो सबै आफ्नै आँखाले देख्ने बताए। नवभारत टाइम्सकाअनुसार सन्त र ज्योतिषीहरुले २० देखि २५ वर्षमा भारत फेरि अखण्ड भारत हुने भविष्यवाणी गरेको भन्दै भागवतले सबै मिलेर यो कार्यको गति बढाएमा १० देखि १५ वर्षभित्र अखण्ड भारत बन्ने बताएका थिए। सनातन धर्म नै हिन्दु राष्ट्र भएको बताएका भागवतले भारत लगातार प्रगति पथमा अगाडि बढिरहेको बताएका छन्। यसमा बाधक बन्नेहरु समाप्त हुने उनको चेतावनी थियो।

भारतको सत्तारुढ भाजपासँग जोडिएको आरएसएसका प्रमुखको यो बयानको भारतमै विरोध सुरु भएको छ। बीबीसी हिन्दीकाअनुसार विपक्षी कंग्रेस आईका प्रवक्ता सुप्रिया श्रीनेतले भारतको सीमाभित्र घुसेको चीनलाई फर्काउन नसक्ने सरकारले भागवतको अखण्ड भारतको जवाफ दिनुपर्ने बताइन्। उनले अखण्ड भारत, हिन्दु राष्ट्रको कुरा गर्ने भागवतलाई सीमामा घुसपैठ गरिरहेको चीनलाई किन फिर्ता नपठाएको भनेर प्रश्न गरिन्।

अखण्ड भारतको अवधारणा

अखण्ड भारतलाई अखण्ड हिन्दुस्तान पनि भनिन्छ। यो एक एकीकृत भारतीय उपमहाद्वीपको अवधारणा हो। अवधारणाले आधुनिक भारत, पाकिस्तान, अफगानिस्तान, बंग्लादेश, नेपाल, भुटान, तिब्बत, श्रीलंका, माल्दिभ्स र म्यानमार एकै राष्ट्र हो भन्ने मान्यता राख्छ।

ब्रिटिस उपनिवेशले विगतमा अलग भए पनि फेरि एकीकृत गर्ने अभियानका रुपमा यो अवधारणलाई लिने गरिएको छ। यो बेला-बेला भारतीय नेताहरुबाट समेत मुखरित हुने गरेको छ। खासगरी भाजपाका नेताहरुले यसको वकालत गर्छन्। भाजपामा आरएसएसको जबरजस्त प्रभाव छ।

भारतीय राष्ट्रिय कंग्रेस र कम्युनिस्ट पार्टीहरुले विरोध गर्छन्। उपनिवेशकालमा बेलायतको फुटाउ र राज गर नीतिविरुद्धको अभियानका हकमा अखण्ड भारतको अवधारणालाई गान्धीले पनि समर्थन गरेका थिए।

अखण्ड भारतको निर्माण वैचारिकरुपमा हिन्दुत्व (हिन्दु राष्ट्रवाद)को अवधारणासँग जोडिएको छ। आरएसएसको पाठ्य पुस्तकमा अखण्ड भारतको अवधारणामा पाकिस्तान, बंगलादेश, नेपाल, भुटान र म्यानमार समावेश छ। पाकिस्तान र चीनसँग सीमा जोडिएको काश्मिरलाई आफ्नो भूभाग मान्छ। अखण्ड भारतको अवधारणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका राष्ट्रिय महासचिव राम माधवको समर्थन रहेको बताइन्छ।

सन् २०१५ मा महासचिव रामले पाकिस्तान र बंगलादेश एक दिन एक हुने बयान दिएका थिए। त्यस्तै सन् २०१९ मा आरएसएस नेता इन्द्रेश कुमारले २०२५ सम्म पाकिस्तान भारतसँग फेरि जोडिने र युरोपियन युनियन शैलीमा यस क्षेत्रका राष्ट्रमा भारतीय सहयोगी सरकार सुनिश्चित हुनेगरी अखण्ड भारत बन्ने बताएका थिए। २०२० मा आरएसएसका प्रचारकले ‘अखण्ड भारत’ अवधारणामा आधारित क्यालेण्डर जारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.