युक्रेन-रुस युद्धको ५० दिन पूरा : राष्ट्रपति जेलेन्स्कीले भने, युक्रेन बचाउनेलाई सम्मान
किभ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन् ।
जेलेन्स्कीले भने, 'एक बहादुर देशका अटल जनता, हामी रुसी आक्रमणको ५० दिनसम्म उभियौं, आक्रमण गर्नेले हामीलाई पाँच दिन दिएका थिए।'
धेरै पश्चिमा नेताहरुसँगको वार्ता र भेटघाटलाई स्मरण गर्दै उनले भने, ‘यी ५० दिनमा मैले विश्वका धेरै नेताहरुलाई विभिन्न तरिकाले भेटेको छु। राजनेताहरुले आफूसँग शक्ति नभएको जस्तो व्यवहार गरेको पनि देखेको छु। नेतृत्वमा रहेकाले भन्दा पनि गैरराजनीतिक मानिसहरूले धेरै गरेका छन्।'
जेलेन्स्कीले मोस्क्वा जहाज डुबेको प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि युक्रेनी सेनाको प्रशंसा गर्दै उनीहरूले रूसी जहाजहरू डुब्न सक्ने' भनेर देखाएको बताए।
उनले भने, ‘५० दिन देशको रक्षा गर्न सक्नु हाम्रो लागि उपलब्धि हो, यो फेब्रुवरी २४ मा महत्त्वपूर्ण निर्णय लिएर देशका लागि लडेका युक्रेनका करोडौं जनताको उपलब्धि हो ।' बीबीसी