एमाले भातृसंस्था नेतृत्वमा आएपछि स्वास्थ्य सेवाका १०औं तहका कर्मचारीविरुद्ध अख्तियारमा उजुरी

एमाले भातृसंस्था नेतृत्वमा आएपछि स्वास्थ्य सेवाका १०औं तहका कर्मचारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : स्वास्थ्य सेवा समूहअन्तर्गतका १०औं तहका कर्मचारी कानुनलाई लत्याउँदै एमाले निकट संगठनमा आबद्ध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीहरुले स्वास्थ्य सेवा ऐन २०५३ र स्वास्थ्य सेवा नियमावली २०५५ विपरीत पार्टीमा आबद्ध भएको भन्दै अख्तियारमा उजुरी परेको हो।

स्वास्थ्य सेवा विभाग, पूर्वाधार विकास शाखा प्रमुख डा. झलक शर्मा गौतम र राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सन्तोष पौडेल एमालेको भातृ संस्था स्वास्थ्य संगठनको नेतृत्वमा आएका हुन्। गत चैत २५-२८ मा भएको महाधिवेशनबाट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको अध्यक्षमा डा. गौतम र डा. पौडेल महासचिवमा चयन भएका हुन्।

स्वास्थ्य सेवा ऐन, २०५३ मा ट्रेड युनियनसम्बन्धी व्यवस्थामा कार्यालय प्रमुख भई काम गर्नुपर्ने अधिकृत स्तरका कर्मचारी र चिकित्सकबाहेक आठौं तह वा सोभन्दा मुनिका कर्मचारीहरुले आफ्नो पेसागत हकहितका लागि राष्ट्रियस्तरका कर्मचारीहरुको ट्रेड युनियन गठन गरी सदस्यता लिने व्यवस्था छ। जबकि डा. गौतम र डा. पौडेल १०औं तहका कर्मचारी हुन्।

ऐनविपरीत संघको नेतृत्वमा आएको भन्दै शुक्रबार अख्तियारमा बेनामे उजुरी परेको छ। एक स्वास्थ्यकर्मीले दिएको उजुरीपत्रमा भनिएको छ, ‘स्वास्थ्य सेवा ऐनको दफा ५४ मा राजनीतिक वा अवाञ्छनीय पार्न नहुने, दफा ५५ मा राजनीतिमा भाग लिन नहुने र सोही ऐनको दफा (९२) (क) मा ट्रेड युनियनसम्बन्धी व्यवस्थामा आठौं तहदेखि माथिका चिकित्सक वा विभागीय प्रमुखलाई बन्देज गरेको छ। यी चिकित्सकहरु नेकपा एमाले पार्टीका नेताको पछि लाग्ने र पार्टी सरकारमा हुँदा विभिन्न लाभका पदहरु लिने गर्छन्। ट्रेड युनियनमा रहेर कामकाज गर्नसमेत बन्देज गरेको अवस्थामा ऐन कानुनको खिल्ली उडाउँदै पार्टीको कार्यकर्ता बन्ने अनि व्यक्तिगत फाइदाको लागि मरिहत्ते गर्ने चिकित्सकहरुलाई हदैसम्मको कारबाही गरी पाउँ। पुष्टि गर्ने भिडियो तथा तस्बिरहरु यसै साथ नत्थी गरेको छु।’

यसअघि डा. गौतम स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए भने डा. पौडेल ट्रमा सेन्टरको निर्देशक भइसकेका छन्। केही दिनअघि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको महाधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्राप्त उजुरीमाथि अघि बढ्ने बताए। उनले अन्नपूर्णसँग भने, ‘उजुरीको गाम्भीर्यताका आधारमा अघि बढ्छौं। उजुरीमाथि थप अध्ययन गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.