प्यूठानको नौवहिनीमा भत्कियो गठबन्धन
प्यूठान : नौवहिनी गाउँपालिका प्यूठानमा गठबन्धन भत्किएको छ। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएपछि अर्को दल राष्ट्रिय जनमोर्चा एक्लिएको हो।
सत्तारुढ दलका तीन दलले आफूहरुलाई सहभागी नगराएको राष्ट्रिय जनमोर्चा प्यूठानमा सल्लाहकार एवं नौबहिनी गाउँपालिका इन्चार्ज राम पहाडीले जानकारी दिए। ‘बैठकमा बोलाएर कांग्रेस र माओवादीले छुट्टै बैठक बस्छौं भनेपछि नोट अफ डिसेन्ट लेखेर हामी बाहिरियौँ’,पहाडीले भने,‘पुरानै अनुहार दोहोरिने गरी भागबण्डा गरेको खबर छ। हामीलाई पुनः बैठकमा बोलाएनन्।’
हाल नौवहिनी गाउँपालिकामा कांग्रेस र माओवादीको साझेदार सत्ता छ। वडा नम्बर १ स्याउलीवाङ समाजवादीलाई तीन/तीन वटा वडा कांग्रेस माओवादीलाई भागवण्डा गरिएको पाइएको छ। विवादमा रहेको फोप्लीको वडामा सहमति भएको छैन। गाउँपालिका अध्यक्षमा पुनः वहालवाला अध्यक्ष कांग्रेसका शिव रिजाल र उपाध्यक्षमा माओवादीका घनबहादुर बुढालाई दोहोर्याउने सहमति भएको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा नौवहिनीमा कांग्रेस, माओवादीको चुनावी तालमेल भएको थियो। राष्ट्रिय जनमोर्चा र नेकपा एमालेले पनि तालमेल गरेका थिए। राजमोका पहाडि यस अघि एमालेसँगको तालमेलमा गाउँपालिका उपाध्यक्ष उठेका थिए। राजमोले वडा नम्बर ४ र ६ को वडा अध्यक्ष माग गरेपछि सहमति हुन कांग्रेसका जिल्ला सदस्य एवं नौवहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए। ‘उहाँहरुले मागेको पद हामीले दिन सक्ने अवस्था भएन’,रिजालले भने,‘केही सदस्यमा सहमती गरौँ भनेको हो नमानेपछि उहाँहरुलाई साथमा लिन सकिएन।’