सुनकोशीमा गठबन्धन नगर्न कांग्रेसका वडाअध्यक्षको दबाव
सिन्धुली : स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धन नगर्न कांग्रेसका वडाअध्यक्षहरुले सिन्धुलीमा दबाव दिएका छन्। जिल्लाको सुनकोशी गाउँपालिकाका सातवटै वडा सभापतिहरुको शनिबार बसेको बैठकले आगामी बैशाख ३० गते हुने स्थानय तहको निर्वाचनमा कुनैपनि दलसंग गठबन्धन नगर्ने निर्णय गरेका हुन्।
सुनकोशी गाउँपालिका-५ का सभापति अर्जुनविक्रम थापाको अध्यक्षमा बसेको बैठकले सत्तारुढ दल र अन्य कुनैपनि दलसंग गठबन्धन नगर्ने निर्णय गरिएको हो। वडा सभापति थापाका अनुसार गाउँपालिकाका सबै वडाका सभापति र कार्यकर्ताहरु गठबन्धनको पक्षमा नरहेको र आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाने निर्णय गरिएको हो।
‘गाउँपालिकामा चुनावी तालमेल गर्ने कुरा पार्टीको वसमा पनि छैन र नेपाली कांग्रेस सुनकोशी कुनैपनि दलसंगको तालमेल मान्ने पक्षमा छैन। यही जानकारी क्षेत्र, जिल्ला र प्रदेश पार्टीलाई जानकारी गराउँने गरी निर्णय गरिएको हो,’ उनले भने।
निर्णयमा नेपाली कांग्रेस सुनकोशी गाउँपालिका-१ का सभापति रामकुमार श्रेष्ठ, २ का सभापति विज्जु मोक्तान, ३ का सभापति विशु सूर्यवंशी, ४ का सभापती हरिकुमार योञ्जन, ५ का सभापति अर्जुन विक्रम थापा, ६ का सभापति होमप्रसाद तिमल्सिना र ७ नम्बरका सभापति उत्तमकुमार लामको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन्।
उक्त पालिकामा यस अघि २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र दुई वटा वडा जितेको थियो। कांग्रेसले तीनवटा वडा जितेको थियो भने एमालेले दुई वडा जितेको थियो।
यस पटक एक्लाएक्लै प्रतिस्पर्धा भए आफूले जित्ने कांग्रेसको वडा सभापतिहरुको दावी छ। सुनकोशी गाउँपालिकामा गठबन्धन हुँदा माओवादी केन्द्रले प्रमुख पाउनु पर्ने दावी गरेको छ। यस अघिपनि जितेको र हालसमेत पार्टीको जनधार पहिलो भएकोले आफुहरुले नै पाउनु पर्ने दावी गरिएको माओवादी केन्द्र सुनकोशी गाउँपालिकाका अध्यक्ष दुधराज पुलामीले बताए। कांग्रेसले आफूले गाउँपालिका प्रमुख नपाउँने भएपछि विवाद सुरु गरेको उनको बुझाई छ।
सुनकोशी गाउँपालिकामा हालसम्म नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेलगायतका दलले उम्मेदवार छान्न सकेका छैनन्। उता वडा सभापतिहरुको निर्णयका बारेमा नेपाली कांग्रेस जिल्ला उपसभापति दिपक घिमिरेले भने सत्तारुढ दलहरुबीचमानै गठबन्धन हुने बताए। उनले भने, ‘वडा सभापतिहरुको निर्णयका विषयमा जानकारी भयो। हामी स्थानीय तहका नेतृत्वको भावनालाई सम्मान गर्दै छलफल गरेर निश्कर्षसहित केन्द्रकै निर्णयअनुसार गठबन्धन गर्छौं यसमा कुनै शंका गर्नुपर्दैन।’
सत्ता गठबन्धनको अर्को मुख्यदल नेकपमा माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालले भने सकेसम्म चुनावी तलमेल गर्ने र नेता कार्यकर्ताहरुबीचमा नै असहमति भए स्वच्छ प्रतिस्पर्धामा जाने बताए। ‘हामी केन्द्रको निर्णय भन्दा बाहिर जादैँनौं। अहिले नै केन्द्रको निर्णयविरुद्ध जाने छुट कसैलाई छैन्। अन्तिमसम्म कुनै सहमति नभए स्वच्छ प्रतिस्पर्धा हुन्छ,’ उनले भने।