टाइफाइडविरुद्धको खोपमा ३ हजारबढी बालबालिका छुटे
परासी : सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन्। १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३० गतेसम्म सञ्चालन गरिएको थियो।
स्वास्थ्य कार्यालयले ति उमेर समूहका कुल १ लाख ४ हजार २ सय ८६ बालबालिकालाई खोप लगाउने लक्ष्यसहित अभियान सुरु गरेको थियो। जसमा १ लाख १ हजार १ सय ९१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर देविलाल पौडेलले जानकारी दिए। छुटेको संख्या ३ हजार ९५ छ।
१ लाखबढी बालबालिकामा त्यतिको संख्यामा छुट्नु सामान्य भएको पौडेलको भनाई छ। केही खोप लिन छुटेकामा विद्यालय बाहिर रहने उमेर समूहका र केही जानकारी नपाएर आउन नसकेको तथा केही बाहिर गएकाले आउन नसकेको हुन सक्ने पौडेलले बताए। छुटेकालाई फेरि खोप लगाइने छैन। ‘नियमित खोप लगाउन बाँकी रहेका उमेर समूहका बालबालिकालाई मात्र खोप लगाउन जाने क्रममा लगाइने छ। त्यस उमेर समूहकाबाहेक अन्यलाई लगाइन्न।’ पौडेलले भने।
सरकारले लिएको लक्ष्यभन्दा पनि बढी हासिल गरेको स्वास्थ्य कार्यालयको भनाई छ। सरकारले ९५ प्रतिशत पूरा गर्नुपर्ने जनाएको छ। जिल्लामा ९७ प्रतिशत भन्दाबढी पूरा भएकाले अभियान पूर्ण रुपमा सफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका ७ स्थानीय तहमा ३ सय २२ खोप केन्द्रमार्फत खोप लगाइएको थियो।