रूसी आक्रमणमा ३ हजार युक्रेनी सैनिक मारिएको जेलेन्स्कीको दावी
किभ : रूस र युक्रेनबीच भइरहेको द्वन्द्वका क्रममा करिब ३ हजार युक्रेनी सैनिकको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सयदेखि ३ हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले १० हजारभन्दा बढी युक्रेनी राष्ट्र सेवकसमेत घाइते भएको बताएका छन्। घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे। झन्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ।
सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भए पनि सहमति हुन नसकेपछि अहिले वार्ता हुन छाडेको छ। अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्तामार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन्। यसैबीच रूसले औपचारिक रूपमा संयुक्त राज्य अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ।