उल्लंघन गर्न होइन आचारसंहिता
निर्वाचनको मूल उद्देश्य स्वतन्त्रतापूर्वक मतदाताले मत हाल्नु पाउनु हो। स्वतन्त्रतापूर्वक मतदाता गर्न स्वतन्त्र वातावरण चाहिन्छ। दबाब र प्रभाव हुनु हुँदैन। भय हुनु हुँदैन। प्रलोभन हुनु हुँदैन। उम्मेदवार र नेताहरू भने मतदातामाथि प्रभाव पार्न निकै ठूलो कसरत गर्छन्। प्रभाव पार्न पाइन्छ तर छलकपट गरेर लोभलालच देखाएर होइन। आफ्ना योजना राख्ने र आफ्ना सबल पक्ष खुला रूपमा राखेर मतदाता प्रभावित पार्ने हक दल र नेता तथा उम्मेदवारलाई छ। तडकभडक, दबाब र अनुचित प्रभाव लोकतान्त्रिक निर्वाचनमा हुनै हुँदैन। राज्य शक्तिको दुरुपयोग निर्वाचनमा झन् हुनु हुँदैन। नैतिकतापूर्ण राजनीति गर्नेहरूले ती त स्वतः व्यवहारमा उतार्नुपर्ने कुरा हुन्। तर नेपाली राजनीति निकै विकृत छ। राजनीतिबाट नैतिकता ह्रास भइरहेको छ। इमान्दारी, निष्ठा र आदर्श लोप हुँदैछ। बाहुबली शैली हावी भइरहेको छ। पैसाको खोलो बगाएर जसरी पनि चुनाव जित्ने ध्याउन्न दल, नेता र उम्मेदवारहरूले राखिरहेका छन्।
यी सबैलाई लगाम लगाउन निर्वाचन आयोगले आचार संहिता बनाएको छ। तर, त्यसको धज्जी उडाउन दल र नेताहरू तँछाडमछाड गरिरहेका छन्। खासमा चुनाव गर्ने काम निर्वाचन आयोगको मात्रै ठेक्का होइन। निष्पक्ष, स्वच्छ र स्वतन्त्र निर्वाचन सम्पन्न गराउन प्रमुख भूमिका त त्यसका प्रमुख सरोकारवाला अर्थात् दलहरूले खेल्न सक्नुपर्छ। पछिल्लो समय निर्वाचन निकै खर्चिलो भएको आमगुनासो छ। नेता र उम्मेदवारहरूले नै पनि यस्तो गुनासो चर्काएका छन्। दलहरू जसले खर्च गर्न सक्छ, त्यस्तै त्यस्तै उम्मेदवार मात्र खोजिरहेका छन्। त्यसरी वास्तवमा तिनले चुनाव त जित्लान्, तर निष्ठा, सिद्धान्त, विचार, आस्था र पद्धतिले हार्छ। भड्किलो निर्वाचनले लोकतन्त्रलाई कमजोर बनाउँछ। त्यसैले निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना निसर्त हुनुपर्छ। त्यसको जरुरी छ। आचार संहिताको पालना अकाट्य छ। आयोगलाई सफल बनाउने दायित्व उम्मेदवार र दलहरूको हो। स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन हुनु नै लोकतन्त्रले जित्नु हो।
प्रधानमन्त्री र मन्त्रीहरूले पछिल्लो समय हेलिकोप्टरको प्रयोग गर्दै कार्यकर्ता प्रशिक्षणमा भाग लिनु, मेला महोत्सवको उदघाट्न र भवनहरूको शिलान्यास र उद्घाटनमा गइरहेको देखिन्छ। त्यो राज्यस्रोतको दोहन हो। राज्यस्रोतको प्रयोग गरी आफ्नो चुनाव गर्न पाइन्न। विपक्षी दलकै नेता पनि हेलिकोप्टरमा देशभर पुगिरहेको देखिन्छ। सत्ता गठबन्धनका अरू नेताले पनि हेलिकोप्टरको अत्यधिक प्रयोग गरिरहेका छन्। विपक्षी र अरू नेताले राज्यस्रोतको ढुकुटीको पैसाले हेलिकोप्टर नचढे पनि कतिपय कार्यक्रमका लागि स्थानीय आयोजकलाई त्यसको भार पारेका छन्। त्यो पैसा घुमाउरो गरी पार्टीका नेताले चुनाव जितेका पालिकाहरूबाट भुक्तान गरिरहेको भन्ने आरोप छ। यदि यो सही हो भने त्यो पनि राज्यको ढुकुटीकै दोहन हो।
पछिल्लो समय नेपाली राजनीतिमा देखिएको छ, घृणा। अर्थात् एकअर्काप्रति घृणित आरोप लगाउने काम धेरै नेताले गरिरहेका छन्। घृणा चुनावमा मात्रै होइन, अरू बेला पनि फैलाउन हुँदैन। नेताहरू जतिसक्दो एकअर्कालाई घृणा फैलाइरहेका छन्। यो आचार संहिता विपरीतको कर्म हो। प्रचार प्रसारमा सामाजिक सञ्जालको दुरुपयोग त झन् गर्नै हुँदैन। सामाजिक सञ्जालचाहिँ एकअर्काप्रति घृणा र भ्रम फैलाउने काममा दुरुपयोग भइरहेको छ। निर्वाचन आयोगले आचार संहिता जारी गर्यो। उसैले पालना गरोस् भन्ने होइन कि त्यसको पालना गर्ने हो। खासमा त आचार संहिता पालना गराउनेभन्दा पनि पालना गर्ने कुरा हो। यसमा दलहरू गम्भीर हुन जरुरी छ। लोकतन्त्रलाई बलियो बनाउने हो भने आचार संहिताको पूर्ण पालनासहितको निर्वाचन जरुरी छ। निर्वाचन आयोगले आचार संहिता पालना नगर्दा उम्मेदवारी नै रद्द गर्ने काम गरेको उदाहरण अहिलेसम्म दुर्लभ छ। त्यसमा आयोग निर्मम बन्न सक्नुपर्छ। मतदाताले पनि आचार संहिता पालना नगर्ने उम्मेदवारलाई रोज्नु हुँदैन। नैतिकवान, इमान्दार र योग्य उम्मेदवारलाई रोज्नुपर्छ।