जन्ती होइन, जनता बनौं
देश स्थानीय तह निर्वाचन उन्मुख छ। मतदाता नामावली अध्यावधिक गर्ने काम सम्पन्न भएको छ। निर्वाचन कार्यक्रमसमेत सार्वजनिक भएका छन्। दलहरू निर्वाचनलाई सके आफ्नो पक्षमा पार्ने नभए प्रमुख प्रतिस्पर्धीलाई हराउने रणनीतिमा छन्।
आम नागरिकसँग सघन सामीप्यता र अधिक सरोकार भएको तह चाहिँ स्थानीय सरकार नै हो। यो सबैभन्दा सहज र आफ्नै ठाउँमा भेटिने सरकार हो। अधिकांश मानिसले जीवनकालमा लिने सेवाका आधाभन्दा बढी चाहिँ स्थानीय तहबाट प्रवाह हुन्छन्। अधिकांश विकास बजेट स्थानीय तहमार्फत खर्च हुन्छ। नागरिकले तिरेका धेरै किसिमका राजस्वहरू त्यही दाखिला हुन्छन्। जनतालाई देशको निकाससँगै आफ्नो तहमा चाहिएको विकास र सहजतालाई राष्ट्रिय चुनावले थोरै र स्थानीय चुनावले धेरै मद्दत गर्छ। शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, सञ्चारलगायत सबै पूर्वाधारको विकासमा स्थानीय तह नै जिम्मेवार रहन्छन्।
स्थानीय निर्वाचनमा नागरिकले मताधिकारको पनि बृहत्तर प्रयोग गर्न पाउँछन्। हरेक मतदाताले निकायको प्रमुख र उपप्रमुख, वडाध्यक्ष, अनि चार वडा सदस्य गरी सात जनालाई मतदान गर्नुपर्छ। यसरी आउने सातमध्धे कम्तीमा तीन प्रतिनिधि महिलासमेत हुनुपर्छ। त्यसैले स्थानीय निर्वाचनले समावेशिताको दायरासमेत फराकिलो र संख्यासमेत उल्लेख्य रूपमा बढोत्तरी गराउँछ। स्थानीय तहमा धेरै संख्यामा उम्मेदवार हुने हँुदा हरेकसँगको भेटघाट र भलाकुसारीले अतिरिक्त ज्ञान तथा सूचना प्रवाह हुन्छ, मतदाताको बुझाइको दायरा फराकिलो बन्छ। मतदाता प्रशिक्षणको रफ्तारले नयाँ उचाइ लिन्छ। यो एक प्रकारको स्थायी सरकार हो। प्रदेश तथा संघका सरकारहरू त फेरिन सक्छन् तर यसले अविछिन्न आफ्नो समयावधि पूरै काम गर्छ। कोही कसैलाई दोषारोपण गरेर उम्कन पाउँदैन।
स्थानीय सरकारसामु नागरिकको सौदाबाजी शक्तिसमेत प्रदेश-संघभन्दा बढी हुन्छ। उसका कामप्रति नागरिकको सचेतना स्तरसमेत बढी नै हुन्छ। निर्वाचन स्थानीय भए पनि यसको महŒव चाहिँ राष्ट्रिय हुन्छ। केन्द्रभन्दा स्थानीय नेतृत्व सही अथवा खराब हुनुको अधिक असर हुन्छ। देशका सबै गाउँ-सहर सबल र विकसित भए देश सबल हुन्छ। तसर्थ, सबैले आफ्नो गाउँ÷सहर सबल बनाउन सक्ने नेतृत्व छान्नुपर्छ। सम्मुखमा आएको निर्वाचनमा सघन सहभागिता जनाउनुपर्छ। प्रतिक्रियात्मक होइन, निर्णयात्मक भएर परिवर्तनलाई सघाउनुपर्छ। यद्यपि सफल गाउँ-सहर निर्माण गर्न प्रतिनिधि चुन्ने हामी जनताहरू पनि सजग बन्नुपर्छ। राजनीतिमा नागरिक सहभागिता तीन विशिष्ट र फरक प्रकृतिबाट अगाडि गुज्रन्छ। नागरिकहरू पहिले जन्तु, त्यसपछि जन्ती अनि मात्र जनता बन्छन्। हामी पनि पहिले जन्तु अनि केहीकालदेखि जन्तीको हिसाबले राजनीतिमा छौं।
क्यानेडियन शोधकर्ता जेनिफर ट्याङका अनुसार पूर्वीय तटका देशहरूमा राजनीतिक सहभागिता अझै अवैज्ञानिक देखिन्छ। बेंग ह्वाउट क्लको पुस्तक ‘इलेक्सन इज पपुलर कल्चर इन् एसिया’को मतसमेत समान छ। लभगभ २० प्रतिशत मतदाताले मात्र सोच÷विचारसाथ मतदान गर्ने देखाउँछ। डोनाल्ड जी फेरीको पुस्तक ‘डिसिजन एन्ड इलेक्सन ः एक्सपेक्टिङ द अनएक्सपेक्टेड’का अनुसार दलका कार्यकम र तिनले ल्याउने परिणामको मूल्यांकनका आधारमा राजनीतिक मताधिकार प्रयोग गर्ने नागरिकको संख्या ज्यादै न्यून छ। छलफल र अनुसन्धानात्मकभन्दा परम्परागत विधिको प्रयोग बढी हुन्छ। अनि अधिकांश निर्वाचनले नसोचेका परिणाम चाहिँ बढी ल्याउँछन्, हाम्रो अवस्था पनि यही हो। अब यो कमजोरीबाट माथि उठ्दै सबल जनता भएर राजनीतिक सहभागिता देखाउनुपर्छ। जन्तुको जस्तो विगत र जन्तीको जस्तो वर्तमान भूमिकाबाट माथि उठ्नुपर्छ।
विगतका अभ्यास
प्रजातान्त्रिक अभ्यासका सुरुआती वर्षहरूमा हाम्रो राजनीतिक सहभागिता जन्तुका हिसाबले भयो। निर्वाचनको केही दिनपूर्व नेताहरूबाट सहयोगीमार्फत भोजभतेर र खानपिन गराएर नागरिक प्रभावित गरिन्थ्यो। गरिबी, अशिक्षा र राजनीतिक चेतनाशून्य भएका नागरिकहरू जसले दुई पैसा अथवा दुई चार छाक खान दियो। उसैको जयजयकार गर्थे। उसैले भनेबमोजिम मत दिन्थे। नोट र भोटको सामीप्यता सघन देखिन्थ्यो। यस्तो गलत परिपाटीबाट आएका प्रतिनिधिले जनताको भलाई सोच्दैनथिए। निर्वाचन अघि र पछि उनीहरूको ध्येय झुक्याउने मात्रै रहन्थ्यो। जन्तुलाई जस्तो खान दिएर नागरिकलाई आफ्नो बसमा केही समय लिन्थे र काम सकिएपछि छोडिदिन्थे। थुप्रै अविकसित देशका निर्वाचनमा अझै यस्तै स्थिति देखिन्छ। यद्यपि राजनीतिक सहभागिताको दोस्रो चरणमा मानिस जन्तीको हिसाबमा उभिन्छन्। हामी पनि पछिल्लो केही समय जन्तीको भूमिकामा निर्वाचनमा होमिँदैछौं।
जन्तीजस्तो वर्तमान
जन्ती विवाह समारोहमा बेहुलासँग उसको सहयोगार्थ खटिन्छन्। जस्तोसुकै विषम परिस्थितिमा समेत बेहुलालाई सुरक्षित र बेहुलीसाथ घर पुर्याउनु उनीहरूको जिम्मा हुन्छ। विवाह अवधिमा भएका जायज-नाजायज कुरामा उनीहरू जहिल्यै बेहुलाको पक्षमा बोल्छन्। जतिसुकै राम्रो तयारी गरे पनि यो वा त्यो नभएको भनेर बेहुली पक्षलाई कमजोर देखाउनु उनीहरूको ध्येय नै हुन्छ। त्यस्तै हामीसमेत विभिन्न पार्टीका जन्ती भएका छौं। आफ्नो पार्टीको वकालत गर्दै अरूलाई कमजोर देखाएर उनीहरूको विपक्षमा कुरा गर्छौं। आफ्नो नेताको विजयका लागि विवाद, झगडा वा जुनसुकै रामरमितामा सुखीसाथ ओर्लन्छौं।
अधिकांश निर्वाचनले नसोचेका परिणाम चाहिँ बढी ल्याउँछन्। हाम्रो अवस्था पनि यही हो।
सामान्य मानिस मात्र होइन, यहाँ लेखक, पत्रकार, डाक्टर, वकिल, प्राध्यापक, कलाकार, पेसाकर्मी, नागरिक समाजका अगुवालगायत कुनै न कुनै पार्टीका संगठन बनाउँदै सक्रिय कार्यकर्ता भएर उभिन्छौं। आफू संलग्न पार्टीले भने जे पनि प्रजातान्त्रिक जनभावनाअनुसारको अग्रगामी अनि प्रगतिउन्मुख भन्छौं। अन्य पार्टीबाट आएका विचारलाई राम्रै भए पनि अनेकन कटाक्ष गर्छौं। अनि शक्तिमा भएकाहरू सार्वजनिक र विशेषगरी सरकारी सञ्चारसमेत दुरुपयोग गर्दै आफ्नो प्रभाव बढाउन खोज्छन्। कुनै पार्टीको सदस्यताबिना स्वतन्त्र नागरिकको हैसियतमा रहने त कसैलाई रुचि वा अनुभव नै नभएको जस्तो हुँदैछ।
केही लेखकहरू भन्छन्, नेपालमा त जनता कोही छैनन्, सबै कार्यकर्ता मात्र छन्। सम्भ्रान्त देशका सुसंस्कृत राजनीतिमा यस्ता अभ्यासहरू खासै देखिँदैनन्। जन्ती संस्कारले नेता जतिसुकै विकृत र भ्रष्ट भए पनि नागरिकलाई उसकोे विरोधमा जान सिकाएकै हुँदैन। यस्तो राजनीतिक सहभागितामा प्रतिनिधिहरू नागरिकप्रति उत्तरदायी रहँदैनन्। नेतृत्वको अति नालायकीपनामा पनि विरोध गर्ने ल्याकत नागरिकमा देखिँदैन। उनीहरूका कमजोरीमाथि समेत प्रतिवाद गरिँदैन। सबैले नेतृत्वको भजन गाउँछन्, केवल जयजयकार गर्छन्। जन्तु वा जन्तीरूपी राजनीतिक अभ्यासले नागरिकका इच्छा-आकांक्षा पूरा हुँदैनन्। लेखक ऐ हेबुडका अनुसार यी दुवै सहभागिता राजनीतिलाई सही बनाउन कम उत्प्ररेणादायी हुन्छन्। नेताहरू नागरिकका लागि सकारात्मक काम गर्न बाध्य हुँदैनन् अनि चाहँदैनन्। अपेक्षित राजनीति त्यतिखेर मात्र हुन्छ, नेतृत्वलाई दबाब त्यसबेला मात्र पर्छ जब नागरिक जनता हुन्छन्।
जनता बन्नुपर्ने आवश्यकता
राजनीतिक सहभागिताको उच्च समयमा नागरिक जनता हुन्छन्। भाषिक हिसाबले पनि जन्तु र जन्तीमा आधा र जनतामा पूरा ‘न’ लेखिन्छ। जनता रहँदा नागरिक कुनै दल वा नेताको अन्धभक्त नभै उसको कार्यक्रम, नेतृत्व कौशलता अनि क्षमतालाई मूल्यांकन गर्छन्। हाम्रोभन्दा राम्रो छनोट चाहन्छन्। जनताले प्रतिनिधिलाई उसको क्षमता, सोच, देशप्रतिको चिन्तन र अठोटका विषयमा मूल्यांकन गरेर मात्र सही वा योग्य मान्नुपर्छ। नेताले गलत गरे सामाजिक बहिष्कार र असहयोग गर्नुपर्छ। देशप्रति बेइमानी गर्नेलाई अहिंसात्मक तवरबाट बेइज्जती गर्न सक्नुपर्छ। स्वतस्फुर्त आन्दोलनबाट उपस्थितहरूको प्रतिस्थापन गर्ने साहस राख्नुपर्छ।
नागरिक समाज तथा सञ्चार गृहले यसको नेतृत्व लिनुपर्छ। फोड्ने होइन, जोड्नेलाई रोज्नुपर्छ। नेतृत्वको विकास तथा समृद्धिका ठोस योजना अनि त्यसलाई सार्थक गर्न सक्ने ल्याकतका आधारमा मतदान अधिकारको सचेत सदुपयोग गर्नुपर्छ। लेखक माइकल एम विल्सन आफ्नो पुस्तक ‘एभ्री डे प्रोब्याबिलिटी एन्ड स्टाटिस्टिक्स’मा चुनावमा बाँकी प्रत्येक दिनका लागि असीम सम्भावना भएको बताउँछन्। त्यसलाई मतदाताले सही सदुपयोग गर्नुपर्ने तर्क गर्छन्। परिवर्तन चाहने नागरिकले मताधिकारलाई पनि परिस्कृत गर्न सिक्नु र सक्नुपर्छ।
अन्य देशका नागरिकले नेतृत्वलाई नीति हेरेर निष्पक्ष मूल्यांकन गरेका प्रशस्त उदाहरण छन्। कुनै पार्टीगत मतभेद नराखी सिंगापुरका नागरिकले ली क्वानलाई निरन्तर तीन दशक समर्थन र सहयोग गरे। महाथिर विन महोमदलाई पहिले तानशाह भनिए पनि कामका आधारमा समस्त मलेसिया नतमस्तक रह्यो। आधुनिक मलेसियाका पिताको रूपमा श्रद्धा बन्यो। नरेन्द्र मोदीको गुजरात मोडल हेरेर जनताले प्रधानमन्त्रीमा जिताए। अमेरिकाको सक्षमता तथा सामथ्र्य बढोत्तरी गर्ने योजना दिएकै कारण बाइडेनलाई अपेक्षित रूपमा बिजयी बनाइयो। पूर्वराष्ट्रपति ओबामाको स्वास्थ्य नीतिमाथि उनकै पार्टीको बिमति थियो। ड्भाभिड क्यामरुनले भन्दैमा बेलायती नागरिकले युरोपियन युनियनमा रहन मानेनन्। नागरिक पार्टीको होइन, उसका कार्यक्रमको हुन्छ। नेता हाम्रो कि अर्काको नभै नीति अनि कार्यक्रम कस्तो भन्ने मूल्यांकन गरेर जनताले समर्थन वा विरोध गर्नुपर्छ।
जनताको हैसियतमा नागरिकहरू रहँदा पार्टीसमेत सचेत रहन्छन्। कुनै पनि बेला नागरिकको समर्थन समाप्त हुने भयले सदैव लोकप्रिय काम गर्न खोज्छन्, राम्रो नेतृत्व दिन्छन्। तर यहाँ वर्षौंसम्म एउटा नागरिक एउटै पार्टीको हुन्छ। भोटर भएर पनि हामीहरू कार्यकर्ता बन्दैछौं। नेतृत्वको निष्पक्ष र स्वतन्त्र मूल्याकंन गर्न चुक्दैछौं। सोचिएको सम्मुन्नति मृगतृष्णा बन्नुमा विगतमा हामीहरू जनता नभै जन्तु वा जन्तीमात्र हुनुसमेत जिम्मेवार छ। त्यसैले, सकारात्मक परिणामका लागि जन्तु वा जन्ती नभै जनता भएर राजनीतिक अभ्यास गर्नुुपर्छ। नेतृत्वको सबलता अनि विकास कार्यक्रमका आधारमा मतदान गर्नुपर्छ। देशको विकास र विनाश चाहनेलाई प्रष्ट चिन्नुपर्छ। नागरिकलाई जनता बन्न÷बनाउन सबैले पहल गर्नुपर्छ। देशले त्यतिखेर स्वतः प्रगतिको यात्रा सुरुआत गर्नेछ।