जात्रै जात्राको बिस्का
'यो जात्रै जात्राको सहर हो।’ काठमाडौं उपत्यकालाई परिभाषा गर्नेहरूले भन्ने एउटा वाक्य हो। यसको मुख्य हिस्सा भक्तपुर पनि हो। विश्वव्यापी कोरोनाले यसमा ब्रेक लगायो। हरेक रातपछि बिहान आउँछ भनेझैं कोरोना संक्रमण घट्यो। र, यसवर्ष जात्रामा रथ र खट यात्रासँगै महामारी जितेको उमंग पनि सबैले बाँड्न पाए।
रथ तान्ने लठ्ठामा युवाको बल मिल्यो। सिन्दुरे रङमा रमाउन बालकदेखि वृद्धसम्म पुगे। बुबाआमाको काँधमा चढेर जात्रा हेर्न पुगेका बालबालिकाको मुस्कानले जात्राको यात्रालाई सहज बनायो। संस्कार संस्कृति धान्ने अब तिनै बालबालिका हुन्। उनै युवा हुन्छन् र रथको लठ्ठा र खटलाई काँध थाप्नेछन्। मध्यपुर थिमिका गणेश मानन्धर भन्छन्, ‘युवाको जोसले जात्रा चल्छ। नयाँ वर्षलाई सम्झनयोग्य बनाउने भक्तपुरको जात्रा नै हो।’
आठ रात नौ दिनसम्म जात्रा
भक्तपुर नगरको सांस्कृतिक र ऐतिहासिक महत्त्वको प्रमुख आकर्षण हो, बिस्का जात्रा। यसभित्रै पर्छन् अन्य जात्रा पनि। हरेक वर्षको समाप्तिदेखि नयाँ वर्षको पहिलो सातासम्म भक्तपुर जात्रामय बन्छ। प्रत्येक मन्दिर र ऐतिहासिक स्थल रंगिन्छन्। सिंगारिन्छन्। २७ चैतदेखि सुरु भएर आठ रात नौ दिनसम्म यो जात्रा मनाइन्छ। तौमडीस्थित न्यातपोल मन्दिर अगाडिबाट भैरव र भद्रकालीको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ मा गहिटी पुर्याएपछि समापन हुन्छ।
लामो समयदेखि चलेको बिस्केट जात्रालाई स्थानीयले जोगाएका छन्। सबै जात्रा बिस्का जात्राभित्र पर्छन्। जात्रा मुलुककै लागि गर्वको विषय हो । कम्तीमा दुई हजार वर्षदेखि भक्तपुरमा बिस्का जात्रा चल्दै आएको छ। यस क्षेत्रमा कुँदिएका शिलालेख र धर्मग्रन्थले ती कुरालाई पुष्टि गर्छ । लिच्छविकालमा सुरु भएको जात्रालाई मल्ल राजाहरू विश्व, जगज्योर्ति, रणजितलगायतले थप परिष्कृत गर्दै अहिलेको स्वरूपमा ल्याएको देखिन्छ । जात्राको मुख्य आकर्षणमा रथ तान्ने र खट बोक्ने पर्छ।
धेरै वर्ष र उतारचढाव जितेको यो जात्राले अघिल्ला वर्षमा फैलिएको कोरोना भाइरसलाई भने जित्न सकेन। जात्रा हुने क्षेत्र मौन रह्यो। मान्छेको भीडभाडमा संक्रमण जोखिम बढ्ने भएकाले यहाँ लिंगो ठड्याइएन, रथ तानिएन।
जात्रै जात्राको बिस्काः जात्रा
बिस्का जात्रालाई नै बिस्केट जात्रा भनिन्छ। भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसिंख्यःमा ५५ हात लामो यसिंद्योः (लिंगो) उठाउनु जात्राको मुख्य आकर्षण मानिन्छ। भैरवनाथको रथ तान्ने प्रचलन सुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको थियो । सुरुमा रथ एकतले थियो। भूपतिन्द्र मल्लको पालामा तीनतले रथ बनाइएको इतिहास छ। उनैले बिस्काः (बिस्केट) सँगै नवदुर्गा नाच पनि ठाउँठाउँमा देखाउने चलन चलाएको बताइन्छ।
बिस्काः ‘बि स्यात ख्यात’ भन्ने शब्दबाट आएको मानिन्छ। यसको अर्थ सर्प मारेर झुन्ड्याउने भन्ने हो। बिस्काःको लिंगोमा झुन्ड्याइने ध्वजा त्यसैको रूप भएको स्थानीय वृद्ध रामधेज खाइजू बताउँछन्। सर्प मारिसकेपछि मनाइने जात्रा भएकाले लिंगो ठड्याउनुअघि टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुइटा ध्वजा बाँधिन्छ। साथै अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर लिंगो उठाउने चलन छ। एउटा वंशको पतन र अर्कोको उदयका रूपमा मनाइने यो जात्रा सत्ता परिवर्तनको उत्सव पनि भएको खाइजूको तर्क छ। ‘देवीदेवताको जात्रालाई भैरव र भद्रकालीको सम्मानमा मनाउने गरिएको हो’, थिमिका विश्वमान श्रेष्ठ भन्छन्, ‘बिस्का जात्राको संस्कृतिलाई उचाइमा पुर्याउन र मानिसले मात्र नभई देवीदेवताले समेत भैरव र भद्रकालीले सम्मान व्यक्त गरेको अर्थमा टोलटोलमा जात्रा भएको हो।’
भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसिंख्यःमा ५५ हात लामो यसिंद्योः (लिंगो) उठाउनु बिस्का जात्राको मुख्य आकर्षण मानिन्छ।
जात्राको पहिलो दिन पाँचतले मन्दिर अगाडिको टौमढी चोकमा बनाइएको भैरवनाथको रथ तानिन्छ। यो प्यागोडा शैलीमा ३० फिट अग्लो बनाइएको हुन्छ। भक्तपुरको पाँचतले मन्दिर क्षेत्रलाई नगरको बीच मानिने भएकाले यहाँबाट जात्रा सुरु गर्ने चलन रहेको श्रेष्ठ बताउँछन्। सो ठाउँमा बनेको रथलाई नगरको माथ्लो भाग ‘थने’ र नगरको तल्लो भाग ‘क्वने’ मा लाने प्रचलन छ। श्रेष्ठका अनुसार पहिलो दिन देवता तल सवारी हुने दिन ‘द्यो क्वाविज्याइगु’ हो। दोस्रो दिन रथ तान्ने र सरसफाई गर्ने मात्र काम हुन्छ।
चैत मसान्तको दिन भेलुखेल ‘ल्योसिंखेल’ मा ५५ हात लामो उठाएको लिंगो नव वर्षको पहिलो दिन ढालिन्छ। लिंगो उठाउने र ढाल्ने दिने हेर्न आउनेको दिनभरि नै मेला लाग्छ। वर्षमा एक दिन हुने यो कार्य हेर्न उपत्यकाभित्र मात्रै नभई विभिन्न देशका पर्यटक आउँछन्। जात्राको तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाइन्छ। गुठी संस्थानद्वारा सरकारी पूजा गर्ने चलन छ। उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ। जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ। यसै दिन तेखाचोस्थित वाराहीको द्यो छें (देवघर)बाट वाराही पीठस्थित वाराही मन्दिर लैजाने परम्परा छ। स्थानीय बाजागाजासहित वाराहीलाई पीठमा लैजाने परम्परालाई स्थानीय भाषामा वाराही क्वाँहा बिज्यागु भन्ने गरिएको स्थानीय बुद्धिजीवी सुदर्शन शाक्य बताउँछन्।
चौथो दिन वाराहीको वाराही तिप्वा जात्रा हुन्छ। यसिँख्यमा यसीं अर्थात् लिंगो उभ्याउने जात्रापछि भक्तपुर नगरपालिका–३, तेखाचो टोलमा रहेको वाराहीको मूर्तिलाई खटमा राखी डुलाइन्छ। यसैलाई तिप्वा जात्रा भनिन्छ। खट प्यागोडा शैलीको हुन्छ। देवी वाराहीलाई एक रात पीठमा नै राख्ने चलन छ। भोलिपल्ट लिंगो ढालेपछि वाराहीको खटलाई पुज्न टोल टोलमा पुर्याइन्छ। यसलाई सबै टोलको परिक्रमापछि देवगृहमा लगिन्छ। बिस्का जात्राका क्रममा इन्द्रायणी देवीको त्वारिवा जात्रा पनि मनाइन्छ। यसबेला इन्द्रायणीको खटलाई शृंगार गरेर रथजात्रा मनाउने चलन छ। बिस्काकै आकर्षण हो, भैरव र भद्रकालीको रथ जुधाउने जात्रा।
परापूर्वकालदेखि नै सञ्चालित लिंगो जात्राको समापनलगत्तै वैशाख १ गते स्थानीय खँला टोलमा भैरव र भद्रकालीको रथ संगम जात्रा हुन्छ। यसलाई भैरव र भद्रकालीको विवाहका रूपमा पनि लिइने संस्कृतिविद् तेजेश्वरबाबु ग्वांग बताउँछन्। महाकाली र महालक्ष्मीको संगम जात्रा पनि यसैभित्र पर्छ। यो जात्रा नयाँ वर्षको भोलिपल्ट मनाइन्छ। महाकाली द्यो छेंबाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा सुरु गर्ने चलन छ। अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा राखेर जात्रा सुरु गरिन्छ। यस अवसरमा सहभागीले एकातर्फ पहेँलो टोपी र अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ।
ब्रह्मायणी र महेश्वरीको जात्रा त्यसको भोलिपल्ट मनाइन्छ। सूर्यमढीस्थित द्यो छेंमा रहेको ब्रह्मायणीको मूर्तिलाई खटमा राखी जात्राको सुरु हुन्छ। स्थानीयले चिलाख र मुस्याख्व बत्ती बाली खटको अगाडि हिँड्छन्। आआफ्नो इलाकामा जात्रा सुरु गरेपछि स्थानीय दत्तात्रय चोकको बीच भागमा आइपुग्दा भेट गराएर दुवैको रथ जुधाइन्छ। यसबेला दुवै खटको प्रसाद र चिलाख बत्तीसमेत साटासाट गर्ने प्रचलन छ। बिस्का जात्राको अवसरमा अष्टमातृका देवदेवीको मात्र नभई भैरव र गणेशको पनि जात्रा हुन्छ। परदेशी भीमसेनको खटजात्रा, सगुन पूजा, छुमा गणेशको जात्रा र द्योसँग पूजा (सगुन जात्रा)लाई बिस्काभित्रका महत्त्वपूर्ण जात्राका रूपमा लिइन्छ। बिस्काको अन्तिम दिन गहिटीमा रहेको भैरवको रथलाई माथ्लो टोलमा लगिन्छ। दिउँसो रथलाई पाँचतले मन्दिर अगाडि पुर्याएपछि जात्रा सम्पन्न हुन्छ।
जिब्रो छेड्ने जात्रा
बिस्का जात्राकै क्रममा जिब्रो छेड्ने जात्रा पनि हुन्छ। हरेक वर्ष वैशाख २ गते जीब्रो छेडिन्छ। बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले यो वर्ष नवौंपटक जिब्रो छेडेका छन्। छेड्नुअघि तीन दिनदेखि व्रत बस्ने चलन हुन्छ। व्रतदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनदेखि नै नुनसमेत नखाने स्थानीय बताउँछन्। व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ। एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इन्च लामो सुइरो जिब्रोमा छेड्ने परम्परा छ। त्यसपछि जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गर्ने परम्परा छ।
जात्रा रोकिएका इतिहास
हजारौं वर्षको इतिहास बोकेको बिस्का दुई वर्ष कोरोना महामारीका कारण रोकियो। मल्ल कालमा प्रताप मल्ल र ललितपुरका श्रीनिवास मल्लले भक्तपुरमा जात्रा हुन नदिन आक्रमण गरेको पनि इतिहास भेटिन्छ। करिब चार सय वर्षअघि बिस्काःकै समय पारेर भक्तपुरमा आक्रमण गर्दा जात्रा रोकिएको स्थानीय वृद्ध बलुचन्द खाइजू बताउँछन्। उनका अनुसार त्यो बेला एउटै औंलाले रथ तानेर जात्रा सम्पन्न गरेको किंवदन्ती छ।