सिन्धुलीका जनप्रतिनिधि धमाधम सुविधा फिर्ता गर्दै
सिन्धुली : सिन्धुलीका स्थानीयतहका जनप्रतिनिधिहरुले आफूले प्रयोग गर्दै आएका सवारी साधन लगायतका सुविधाका सामाग्रीहरु धामधम फिर्ता गर्न थालेका छन्।
आसन्न निर्वाचनमा सरकारी स्रोत र साधनको दुरुपयोग नहोस भन्नका लागि आफूले प्रयोग गर्दै आएको सवारी साधन र अन्य सुविधाका सामाग्रीहरु फिर्ता गरिएको उनीहरुको भनाई छ। सोमबार आफूले प्रयोग गर्दै आएको गाडी, मोबाइल, ल्यापटपलगायतका सुविधाका सामाग्री गाउँपालिकाई फिर्ता गर्दै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आफूले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेको जनाए।
फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवहरी दाहालले भने सूचना नै जारी गरेर पालिकाका जनप्रतिनिधिलाई सुविधा फिर्ता गर्न भनेका छन्। पालिकाका जनप्रतिनिधिहरुले सुविधा फिर्ता गर्न अटेर गरेपछि सूचनामार्फत सचेत गराइएको प्रमुख प्रशासकिय अधिकृत दाहालको भनाई छ।
जिल्लामा दुई नगरपालिकासहित ९ वटा स्थानीय पालिका रहेका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएकाहरु नै यस पटकसमेत दोह्याएर उम्मेदवार बन्ने आकाङ्क्षा राखेपछि सुविधा फिर्ता गरेर निर्वाचनमा होमिएका छन्। यद्यपी उमेदवार भने सबै पालिकामा टुंगो लगाउन प्रमुख दलहरुलाई सकस परेको छ।