लैंगिक विरोधाभासमा नेपाली भूगोल

लैंगिक विरोधाभासमा नेपाली भूगोल

हाम्रो समाज लैंगिक छ र अझै पनि हाम्रो समाजले दुई लिंग अर्थात् महिला वा पुरुषलाई स्वाभाविक ठान्छ। तेस्रो लिंगलाई अस्वाभाविक ठान्छ। परिभाषाले भन्छ, तेस्रो लिंग भनेको जसको लिंग छैन अर्थात् सामाजिक तथा सांस्कृतिक बुझाइमा जब महिला ‘महिला’ हुँदैन वा पुरुष ‘पुरुष’ हुँदैन। उसलाई हाम्रो समाजले तेस्रो लिंगको ‘ट्याग’ भिराइदिन्छ र त्यसरी नै व्यवहार गर्छ।

जब भूगोल वा देशको कुरा आउँछ अनि यसको कुनै ठोस लिंग नै नभए पनि हामी कति स्वाभाविक रूपले यसलाई स्त्री लिंगसँग लगेर जोड्छौं। भूगोल तथा देश ‘आमा’ हुन्छिन्। भूगोललाई आमा अर्थात् ‘मातृभूमि’को उपनाम दिएर भावुक हुन्छौं, संवेदनशील हुन्छांै, देशप्रेमी हुन्छौं। यदि कसैले मातृभूमिमाथि अतिक्रमण गर्न खोज्यो भने हामी स्वयं आफ्नै ज्यानलाई दाउमा राखेर आफ्नो भूगोल तथा माटोलाई बचाउन खोज्छौं। यस्ताखाले अभ्यासले पक्कै पनि आमा तथा स्त्री जाति(माथि सम्मान देखाउँछ। तर, के हामीले व्यवहारतः स्त्री जातिमाथि त्यति नै भावना र सम्मान देखाउन सकेका छौं ? कुनै स्त्री बलात्कृत हुँदा हामी कतिले आफ्नो ज्यान दाउमा राखेर उनको बचाउ र अधिकारका पक्षमा लडेका छौं ? त्यही भएर समस्या लैंगिक विरोधाभाषमा छ, हाम्रो आदर्श र व्यवहारमा छ।

एकातिर ‘मातृभूमि’को नाममा कुनै लिंग नै नभएको भूगोललाई त्यति धेरै सम्मान गर्छौं। अनि यही भूगोललाई माया गर्ने कुनै तेस्रो लिंगी व्यक्तिलाई भने हेयको दृष्टिले हेर्र्छाैं। अर्को विरोधाभाष भनेको यही भूगोललाई आमाको नामसँग जोडेर हरेक नागरिकको संवेदना, भावना र देशप्रेम बटुल्छौं तर यसको आर्थिक उन्नति र विकासका पूर्वाधारतिर जुटेर लाग्न सक्दैनौं। आफू जन्मेको भूगोलको सशक्तीकरण तथा सबलीकरणतिर लाग्दैनौं। मात्र प्रतिरक्षात्मक भएर उभिरहन्छौं। भूगोलको आफ्नै क्षमता, स्रोत र साधनको परिचालनतिर लाग्न छोडेर खाली मातृभूमिको आदर्श र भावना मात्रै बोकेर हिँड्छौं। अर्कोतिर भने महिलाको सशक्तीकरणको कुरा गर्छौं। उनीहरूलाई पारिवारिक पृष्ठभूमिको घेराबन्दीभन्दा माथि उठ्न दिँदैनौं। अनि फेरि मातृभूमिको कुरा आयो भने जन्मदिने आमासँग लगेर जोड्छौं।

आफू जन्मेको भूगोललाई स्त्री लिंग अर्थात् मातृभूमिको ‘ट्याग’ दिएसँगै हामी भूगोलको बचाउका लागि भिड्न तयार हुन्छांै। उनको सुरक्षा गर्न र अस्तित्व बचाउन लागि पर्छौं। हामी यसरी सोच्छौं कि मातृभूमि अर्थात् हामी जन्मेको भूगोल आफैंले आफ्नो बचाउ गर्न सक्दिनन्। महिलाको बचाउ अर्थात् सुरक्षार्थका लागि पुरुष चाहिन्छ भन्ने संकीर्ण मानसिकताको हाबी यहाँ पनि भेटिन्छ। जब आफू जन्मेको माटोलाई स्त्री लिंगको ‘ट्याग’ भिराइन्छ।
आफू जन्मेको मातृभूमिको लैंगिकताको ट्यागलाई बुझ्न नेपाली समाजमा महिलालाई कसरी अझै पनि बुझ्ने गरिन्छ ? हेरौं। महिलाको लिंगलाई जैविकरूपमा हेर्नुभन्दा पनि महिलाको भूमिकामा लगेर हेर्नुले महिला र पुरुषको परिभाषामा सामाजिक सोच र चिन्तनको बढी हावी देखिन्छ। जसले महिलालाई पुरुषको आँखाबाट हेर्छ। पंक्तिकारकै पुस्तक ‘सेक्स, जेन्डर एन्ड डिसेबिलिटी इन नेपाल’मा छ, नेपाली सामाजिक तथा सांस्कृतिक बुझाइ भनेको महिलालाई उनको जिम्मेवारीसँग लगेर हेर्नु हो। र, उनको जिम्मेवारीमा छोराछोरीको हेरचाह, भान्साकोठाभित्रका काम, श्रीमान्को सेवा आदि इत्यादि पर्छन्। महिलाका यस प्रकारका जिम्मेवारीलाई बुझ्न ‘मनुस्मृति’ वा हिन्दू धार्मिक ग्रन्थमा उल्लेख गरिएका कुराहरूले अझ मजबुद बनाएको छ। जहाँ महिलालाई परम्पराको जगेर्ना गर्ने भनेर हेरिन्छ। यही कुरालाई हामी जन्मेको भूगोलसँग तुलना 
गर्ने हो भने हाम्रो भूगोलप्रतिको बुझाइ पनि लगभग त्यही हुन्छ– सहनशील, सृष्टिको आधार, परम्पराको संरक्षक, हरेक प्राणीप्रतिको माया तथा करुणा आदि इत्यादि।

सायद यिनै कारणले पनि हुनसक्छ, हामी जन्मेको भूगोलको पर्याय हामीलाई जन्मदिने आमा अर्थात् आमाको पर्याय हामी जन्मेको भूगोल। फेरि पनि प्रश्न के हो भने के हामीले जन्मेको भूगोलप्रति देखाउने माया तथा सम्मानजस्तै सम्पूर्ण स्त्री जातिमा देखाउन सकेका छौं ? के हामीले महिला सशक्तीकरणको कुरा गरिरहँदा यो भूगोलको सशक्तीकरणको बारेमा केही गरिरहेका छौं ? के हामीले भूगोललाई आमा तथा स्त्री लिंगको पहिचान दिइरहंँदा ‘पुरुष’ तथा ‘महिला’को लिंगमा नपर्ने तेस्रो लिंगलाई त्यतिकै सम्मान र पहिचान दिन सकिरहेका छौं ? कतै हामीले आफ्नो स्वार्थका लागि मातृभूमिको नाममा राजनीति त गरिरहेका छैनौं ? महिलाको शक्ति र क्षमतालाई अवमूल्यन गरेजस्तै भूगोलको क्षमता र शक्तिलाई अवमूल्यन त गरिरहेका छैनौं नि ?

इतिहासमा भूगोलको सुरक्षार्थ पुरुषसँगै महिलाको पनि उत्तिनै छ, विश्वभरि नै। खैर त्यसको प्रवृत्ति फरक होला। हरेक युद्धमा होस् वा देशको विकासमा महिलाको भूमिका उत्तिनै छ। चाहे त्यो माओवादी आन्दोलनमा होस् वा भारतको ‘सिभिल डिसओबेडियन्स’ आन्दोलनमा होस्। अथवा अमेरिकाको स्वतन्त्रताको संग्राममा होस्। महिला र पुरुषको मात्र नभएर विभिन्न यौनिकता र यौनिक पहिचान भएकाहरूको पनि उत्तिकै छ। तर महिला र पुरुष लिंगका आधारमा मात्र समाजको पहिचानको व्याख्या गर्नु र पुरुषलाई मात्र लडाकु र संरक्षकको पहिचान दिनु र भूगोललाई स्त्री लिंगको पहिचानमा सीमित राख्नुले लैंगिक समाजप्रतिको सामाजिक पूर्वाग्रहलाई अझ टेवा मिल्न सक्छ। त्यसो हो भने महिला तथा हामी जन्मेको भूगोलको क्षमताको अवमूल्यन हुन सक्छ।

ठूलाठूला आन्दोलन र युद्धहरूमा महिलाको परोक्ष तथा अप्रत्यक्ष सहभागिता मात्र होइन, त्यस्ता युद्धहरूलाई रोक्न सक्ने महिलाको सामथ्र्य तथा क्षमता भएका उदाहरण पनि छन्। लेखक एरिस्टोफेन्सले लेखेको कमेडी नाटक ‘लाइसेस्ट्रा’मा लाइसेस्ट्राले ‘पेलोपेनेसियन’ युद्ध रोक्न महिलालाई प्रभावित पारेको कुरा उल्लेख छ। उनले सबै महिलालाई युद्धमा सहभागी भएका आफ्ना प्रेमी तथा पतिहरूसँग सुत्न नजाने र जसको कारण उनीहरूको यौन चाहना पूरा हुन नपाएपछि युद्धतिर मन नजाने र युद्ध आफैं रोकिने भनेपछि सबै महिलाले त्यसै गरे। यसले पुरुषको यौनलाई नियन्त्रण गर्न सक्ने महिलाको सामथ्र्य र शक्तिलाई प्रदर्शित गर्छ।

सहनशील 

महिलाको अर्को भयनाक रूप के हुन सक्छ भन्ने कुरालाई पनि देखाउँछ। यसलाई आलंकारिक रूपमा भूगोलसँग दाँज्ने हो भने त्यो कहिलेकाहीँ भूगोलमाथि आउने विचलन पनि हुन सक्छ जस्तो भूकम्प वा अरू कुनै प्राकृतिक विचलन।

त्यही भएर भूगोलका आफ्नै स्रोत र साधनको सही सदुपयोग नगरिकन भूगोलमाथि अतिक्रमण गरेको खण्डमा उसले भयानक रूप देखाउन सक्छ। भूगोलले सहनशीलताको सीमा नाघ्न सक्छ। यो उसको आफ्नै प्रतिरक्षात्मक क्षमता हो। तर, हामीले कतै भूगोलको क्षमतालाई अवमूल्यन गरिरहेका त छैनौं ? जसरी हामीले महिलाको त्यो साहसिक सामथ्र्य र क्षमतालाई अवमूल्यन गर्दै आइरह्यौं, सामाजिक, वैचारिक, सांस्कृतिक तथा धार्मिक सन्दर्भ र परिवेशमा। पुरुष रुँदा ‘आइमाइते’ भइने, महिला भएपछि सहनशील हुनुपर्ने धर्तीजस्तै ! असल मान्छे धर्तीले जन्माएका छोरा हुने, गलत भए आमा दोषी हुने वा आमाले राम्रो संस्कार नदिएका कारण त्यस्तो हुने आदि। यस्तै खाले सामाजिक चिन्तन र सोचले महिलालाई दोस्रो दर्जामा राखिरह्यो। त्यही सोच र विचारमा पुरुषप्रधान समाजले राजनीति गरिरह्यो। यस्तै विचार, सोच र अभ्यासले लैंगिक विरोधाभासलाई प्रश्रय दिइरह्यो। यस्तै सोच हामीले भूगोलमाथि गर्ने व्यवहारमा पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रहिरह्यौं।

एरिस्टोटलले समेत महिलालाई नरम, कमजोर र दोस्रो दर्जाको रूपमा हेरे। पुरुषलाई ‘पब्लिक’, महिलालाई ‘प्राइभेट’ स्पेसमा राखेर हेरियो। हेगेलले लैंगिक फरकताका कारण त्योसँग जोडिने अरू नैतिक कुराहरू पनि फरक देखे। जहाँ महिला पुरुषको चाहनाको वस्तु भयो। फलस्वरूप पुरुष कर्ता भयो, शासक हुन सक्षम व्यक्ति भयो। जसको असर भनेको महिलाको सक्षमता र क्षमतामा संशय भइरह्यो। उनीहरूको ‘कमजोर क्षमता’लाई जन्मजात विशेषतासँग लगेर जोडिदियो। महिलाका जिम्मेवारी, कर्तव्यका कुरालाई लिएर हिन्दू धार्मिक ग्रन्थमा मात्र होइन कि पाश्चात्य दर्शनका विद्वानहरू जस्तो रुसो, एडाम स्मिथ, लक्, ह्युम, नित्सेलेसमेत महिलाको क्षमताको अवमूल्यन गरिरहे। जसका कारण देश बनाउने मुद्दामा समेत महिलाको भूमिकाको अवमूल्यन भइरह्यो।

‘जेन्डर एन्ड नेसन’ भन्ने पुस्तकमा निरा युभाल ड्याभिसले राष्ट्रिय आयोजनामा महिला र पुरुषको योगदानको खुब चर्चा गरेकी छन्। भनेकी छन् कि राष्ट्रको पुनत्पादन, यसको संस्कृतिक सभ्यता र नागरिकतामा साथै राष्ट्रका द्वन्द्व र युद्धमा महिलाको भूमिका अतुलनीय छ। तर, महिलालाई भने संस्कृतिको विम्बको रूपमा हेरिन्छ। जसका कारण उनीहरू राष्ट्रिय तथा पारिवारिक इज्जतको वाहक हुन्छन्। यस्ता कुराहरूले अझ लैंगिक विरोधाभासलाई प्रश्रय दिएको छ। यही विरोधाभाष हामी जन्मेको भूगोल वा हाम्रो मातृभूमिको बुझाइमा परिवर्तित हुन्छ।

र अन्त्यमा, देख्दा सुन्दर लाग्ने महिलालाई दिइने यी विभिन्न विम्बका कारण नै हो महिलाको क्षमतामाथि संशयको प्रश्न उठ्ने। यदि आफू जन्मेको भूगोलको माटोलाई आमा सम्झिने हो भने, कुनै महिलाको बलात्कार हुँदा भूगोल वा देशको बलात्कार भएको पनि सम्झिन सक्नुपर्छ। अनिमात्र भूगोल र महिला दुवैप्रति बराबर सम्मान मिल्न पुग्छ। कोही कसैको संरक्षक हुनुभन्दा उसैको क्षमतामा विश्वास गर्न सक्ने हुनुपर्छ। बरु उसको क्षमताको खोजी गरेर ऊभित्रकै स्रोत र साधनको सही उपयोग गरेर उसको सशक्तीकरणमा जोड दिनुपर्छ। चाहे त्यो पुरुष होस् वा महिला वा आफू जन्मेको भूगोल वा अरू कुनै यौनिक पहिचान भएको व्यक्ति। अनि मात्र व्यक्ति, समाज, देश, राष्ट्र तथा भूगोल क्षमतावान् र बलियो बन्छ। हामीले लैंगिक विरोधाभाषलाई चिर्नु आवश्यक छ।

भूगोललाई आमाको नामसँग जोडेर हरेक नागरिकको संवेदना, भावना र देशप्रेम बटुल्नुको सट्टा, आफू जन्मेको भूगोलको आर्थिक उन्नति र विकासका पूर्वाधारतिर जुट्न सके धेरै राम्रो हुन्छ। चाहे त्यो कुनै व्यक्ति होस् वा आफू जन्मेको भूगोल, हामी बरु त्यसको सशक्तीकरण तथा सबलीकरणतिर लाग्न आवश्यक छ। त्यसो हुन सके कोही कसैको प्रतिरक्षात्मक भएर उभिइरहने आवश्यकता नै पर्दैन। आफू जन्मेको भूगोल होस् वा नेपाली महिला उनीहरूको आफ्नै क्षमता, स्रोत र साधनको परिचालनतिर लाग्नुपर्छ। त्यसो हुँदा न मातृभूमिको आदर्श र भावना बोकेर हिँड्नु आवश्यक हुन्छ, न कोही कसैको रक्षक भएर लड्नुपर्ने अपरिहार्यता नै। न त लैंगिक विरोधाभाषभित्र राजनीति गर्नुपर्ने अवस्था नै।
आचार्यको विद्यावारिधिमा आधारित ‘सेक्स, जेन्डर एन्ड पोलेसी’ पुस्तक प्रकाशित छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.