चुनावको मुखैमा गाउँपालिका अध्यक्षद्वारा पार्टी परिवर्तन
राजविराज : नेपाली कांग्रेसबाट चरम भ्रष्टाचारी र स्वेच्छाचारी व्यवहारको आरोप खेपिरहेका महादेवा गाउँपालिका अध्यक्ष दिपककुमार यादव कांग्रेसमा प्रवेश गरेका छन्। स्थानीय तहको निर्वाचनमा दलहरुले उम्मेदवारी तय गरिरहेका बेला जनता समाजवादी पार्टीमा आबद्ध गाउँपालिका अध्यक्ष यादव मङ्गलबार कांग्रेस प्रवेश गरेका हुन्।
कांग्रेसको राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा केन्द्रीय सदस्य दिनेश यादव र जिल्ला सभापति रामदेव साह लगायतले यादवलाई स्वागत गर्दै पार्टी प्रवेश गराए।
गत स्थानीय निर्वाचनमा सप्तरीको महादेवा गाउँपालिकामा संघीय समाजवादी फोरमबाट यादवले ३०९१ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका थिए। हाल उनी जसपाको मधेस प्रदेश समितिमा आबद्ध थिए। पछिल्लो पटक गत चैत २० गते तिलाठी कोइलाडी गाउँपालिका–७ तोपामा भएको एक कार्यक्रममा यादव जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै मञ्चमा देखिएका थिए।
नेपाली कांग्रेसले यसअघि गाउँपालिका अध्यक्ष यादवले चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको थियो। कांग्रेस गाउँ कार्यपालिकाका संयोजक लोकेन्द्र कुमार नायकले गाउँपालिका भित्र वडा नम्बर १ देखि ६ सम्म कुनै ठोस काम नभएको र कमिशनको चलखेल गरी सबै रकम कुम्ल्याएको आरोप लगाएका थिए। यादवमाथि आरोप लगाउँदै नायकले अख्तियार दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याउन माँग गरेका थिए।
आसन्न स्थानीय तहको निर्वाचनमा जसपाले यादवलाई उम्मेदवार नबनाउने भएपछि उनी कांग्रेसमा प्रवेश गरेको स्थानीयवासी बताउँछन्।
अध्यक्ष यादवसँगै वडा नम्बर ३ का वडा अध्यक्ष अनिरुद्धप्रसाद यादव र अन्य कार्यकर्ताहरु समेत कांग्रेसमा प्रवेश गरेको कांग्रेस सप्तरीका सचिव सनतकुमार मण्डलले बताए।