उदयपुरमा निर्वाचनको तयारी तीव्र
उदयपुर : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन कार्यालयले तयारीलाई तीव्रता दिएको छ। मतदान गर्ने समय २३ दिन बाँकी छँदा कार्यालयले तयारीलाई तीव्रता दिएको हो।
तयारी अन्तर्गत बुधबार कार्यालयले ८ वटै स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतको उपस्थितिमा निर्वाचन सम्बन्धी पत्रकार आचारसंहिता र हालसम्को अवस्थाको बारेमा पत्रकारसँग अन्तरक्रिया गरेको हो।
त्यसैगरी बिहीबार बिहान एकैसाथै सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए। त्यसका लागि बुधबार नै सम्बन्धित पालिकामा निर्वाचन अधिकृतहरु पठाइएको उनले बताए।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश दिपक खनालले निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पंक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व पत्रकारहरुको पनि भएकाले जिम्वेवारी वहन गरिदिन आग्रह गरे। उनले सञ्चारमाध्यममा आएका साना कुराले ठूलोरुप लिन सक्ने भएकाले निर्वाचन आचारसंहितालाई मध्यनजर गरी सूचना संम्प्रेषण गरिदिन अनुरोध गरे।
खनालले कतिपय अवस्थामा निर्वाचन आचारसंहिताको बारेमा जनप्रतिनिधि, नेता, कार्यकर्ता र सर्वसाधरणलाई जानकारी नहुँदा कानुनु आकर्षित हुने गरेकाले मिडियामार्फत सचेत गराई दिनुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले सबै पंक्षलाई निर्वाचन आचारसंहिता पूर्ण कार्यान्वयन गरिदिन आग्रह गरे।
उनले फेसबुक, मेसेन्जर, ट्विटरजस्ता सबैखाले सामाजिक संजालमा उमेदवार र परिवारलाई लाल्छना लगाउने खालका सामग्रीहरु प्रकाशन, प्रशारण, लाईक, कमेन्ट गर्न नहुने भएकाले असान्दर्भिक विषयबस्तुप्रति सजग रहन आग्रह गरे। उनले निर्वाचनलाई शान्तिपूर्णरुपले सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्थालाई तयारी अवस्थामा राखिएको बताए।
कार्यक्रममा सञ्चारकर्मीहरुले आचारसंहिता पालना गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाएका थिए। उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारीबाट संम्पेषण हुने गरी मिडिया डेक्स तयार गर्न सुझाब दिए।