देउवालाई भेटेर पर्साका कांग्रेस नेताहरुले भने- वीरगन्जबारे पुनर्विचार गरिदिनुस्
वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी जसपालाई दिने सत्ता गठबन्धनको निर्णय माथि पुनर्विचार गर्न पर्साका कांग्रेस नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासंग आग्रह गरेका छन्।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री एंव पार्टी सभापति देउवालाइ भेटेर पर्साका नेताहरुले वीरगन्जबारे शीर्ष नेताहरुले गरेको सहमतीबारे पुनर्विचार गरिदिन आग्रह गरेका हुन्।
गठबन्धनका शीर्ष नेताहरुबीच ६ महानगर र ११ उपमहानगरको भागबन्डाबारे भएको सहमतीमा वीरगन्ज महानगरको मेयर जसपा र उपमेयर कांग्रेसलाई दिने सहमति भएको हो। तर उक्त सहमति प्रति असन्तृष्ट पर्साका कांग्रेस नेताहरु बुधबार अपरान्ह वीरगन्जबाट काठमाण्डौं पुगेर साँझ देउवालाइ भेटेर वीरगन्जका सन्दर्भमा पुनर्विचार गरिदिन आग्रह गरेका हुन्।
प्रधानमन्त्री एंव पार्टी सभापति देउवासंग भएको भेटमा वीरगन्जबारे गरिएको सहमति बारे पुनर्विचार गरिदिन आफूहरुले आग्रह गरेको भेटमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए। सभापति देउवाको अति निकट मानिने रिजालले भने,‘वीरगन्ज महानगरको मेयर जसपालाई दिने सहमति प्रति जिल्लाका नेता कार्यकर्ताहरुको असन्तुष्टि भन्ने जानकारी गरायौं त्यसैले वीरगन्ज बारे पुनर्विचार गरिदिन सभापति ज्यूलाई आग्रह गर्यौं।
जवाफमा सभापती देउवाले वीरगन्जबारे गठबन्धनका शीर्ष नेताहरुसंग फेरि एक पटक छलफल गर्ने आश्वासन दिएको रिजालले बताए। बिहीबारसम्म सभापती देउवाबाट आउने निर्णय कुर्ने र त्यसपछि जिल्लाका नेताहरुको बैठक बसेर वीरगन्ज महानगरका बारेमा निर्णय गरिने पनि रिजालले बताए।
देउवासंग बुधबार भएको भेटमा सहभागी कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले पनि वीरगन्जका सन्दर्भमा गठबन्धनको शीर्ष नेतृत्वले गरेको सहमतिमा पुर्नविचार गरिदिन देउवासंग आग्रह गरिएको बताए। उनले भने,‘सभापति ज्यूसंगको भेटमा हामीले वीरगन्जबारे भएको सहमती राम्रो भएन भनेर भन्यौं, किन कि कांग्रेस एक्लैले चुनाव जित्ने अवस्था छ, गठबन्धनमा जाँदा कांग्रेसलाइ घाटा हुन्छ भनेर बिफ्रीङ गर्यौं, सभापतीज्यूले हुन्छ म यसबारे कुरा गर्छु भन्नुभयो।
जिल्ला सभापती क्षेत्रीले बिहीबार बिहानसम्म सभापति देउवाकातर्फबाट आउने निर्णय कुर्ने र त्यसपछि जिल्लाका नेताहरु बसेर वीरगन्जबारे छलफल गर्ने जानकारी दिए। बुधबार साँझ सभापती देउवासंग भएको भेटमा कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया, पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापती जनार्दनसिंह क्षेत्री, संविधानसभा सदस्य अनिल रुंगटाको सहभागीता रहेको थियो।
पर्साका कांग्रेस नेताहरुले वीरगन्ज महानगरमा गठबन्धन नगरि कांग्रेस एक्लैले चुनाव जित्न सक्ने अवस्था रहेको भन्दै शीर्ष नेतृत्वलाइ निरन्तर दबाब दिँदै आएका थिए। तर बुधबार काठमाडौंमा बसेको गबठन्धनका शीर्ष नेताहरुको बैठकले वीरगन्जको मेयर जसपालाई दिने सहमति गरेपछि पर्सामा कांग्रेस नेताहरुले चर्को असन्तुष्टि जनाएका छन्।
त्यही भएर बुधबार नै वीरगन्जबाट काठमाडौं गएर जिल्लाका कांग्रेस नेताहरुले पार्टी सभापति देउवालाइ भेटेर वीरगन्ज बारे पुनर्विचार गरिदिन आग्रह गरेका हुन्। यसअघि गत शनिवार बेलुकी गठबन्धनमा रहेका कांग्रेस र (जसपा) का जिल्ला सभापतीहरुले वीरगन्ज महानगरसहित पर्साका सबै पालिकामा गठबन्धन नगरि छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेर संयुक्त विज्ञप्ती नै जारी गरेका थिए।
यसअघि गत चैत ३० गते बसेको कांग्रेस जिल्ला कार्य समितिको बृहत बैठकले पनि वीरगन्जसहित पर्सा जिल्लाका सबै १४ पालिकामा कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय नै गरेको थियो। त्यही दिन वीरगन्जमा कांग्रेसका क्षेत्रीय सभापति, नगरसभापति र महाधिवेशन प्रतिनिधीहरुले पनि पत्रकार सम्मेलन नै गरेर केन्द्रले जबरजस्ति गठबन्धन गरे विद्रोह गर्ने चेतावनी दिएका थिए।