उम्मेदवार बन्न पाल्हीनन्दनकी उपाध्यक्षले कांग्रेस छाडिन
परासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। फेरि उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाएछि कोहाँरलाई कांग्रेसले टिकटका लागि सिफारिस नगरेपछि माओवादी केन्द्रमा प्रवेश गरेकी हुन्।
कांग्रेसले उपाध्यक्ष पदको उम्मेदवारमा २ जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा आफ्नो नाम नपरेको भन्दै कोहाँरले असन्तुष्टी जनाएकी थिइन्। ‘अध्यक्षको उम्मेदवारमा १ जना र उपाध्यक्षमा कोहाँरबाहेक २ जनाको नाम सिफारिस गरिएको छ।’नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ कार्य समितिका अध्यक्ष हरिहर चौहानले भने।
जिल्लाका २ पालिकामा मात्र गठबन्धन पार्टी मिलेर जानेबारे छलफल भएको छ। तर त्यहाँ पनि सहमति जुटेको छैन। पाल्हीनन्दनसहित अन्य पालिकामा भने गठबन्धनदलहरु छुट्टाछुट्टै जाने गरी उम्मेदवार चयन गरिरहेका छन्।
उक्त गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसले जितेको हो। माओवादी केन्द्रले उपाध्यक्ष पद दिने भएपछि कोँहारले कांग्रेस छाडेको बताइएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कोहाँरलाई माओवादीका नेताहरुले पार्टी प्रवेश गराएका छन्। ‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन। पार्टीमा आए उपाध्यक्षमा उम्मेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गएकी हुँ’ उपाध्यक्ष कोहाँरले बताइन्।