मुस्ताङको लोघेकर गाउँपालिका अध्यक्ष बिष्टले दिए राजीनामा
जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले शुक्रबार पदबाट राजीनामा दिएका छन्। बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने पक्कापक्की भएपछि उनले गाउँपालिकाको कार्यालयमा पुगेर राजीनामा दिएका हुन्।
स्थानीय तहको निर्वाचन मनोनयपत्र बुझाउने समय दुई दिन बाँकी रहँदा गाउँपालिका अध्यक्ष बिष्टले पदबाट राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले जानकारी दिए।
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पालिका उपाध्यक्ष ढोका गुरुङ समक्ष राजीनामा पेश गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले उल्लेख गरे। गाउँपालिका अध्यक्ष बिष्टको राजानामा गाउँपालिकाकी उपाध्यक्ष ढोका गुरुङले स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए।
गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले प्रयोग गर्दैआईरहेको बोलेरो जीपको साँचो र आफुले प्रयोग गरेको मोवाईल सीमकार्ड पालिकालाई हस्तान्तरण गरेका छन्। उनले पेश गरेको राजीनामा पत्रमा आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन आफू ईच्छुक रहेकाले आजैको मितिबाट लागु हुँने गरी स्वइच्छाले राजीनामा पेश गरेको उल्लेख गरेका छन्।
लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राजीनामा बुझाएका अध्यक्ष बिष्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारकोरुपमा अध्यक्षको रुपमा निर्वाचित भएका थिए। उनी त्यसपछि नेकपा एमालेमा प्रवेश गरेका थिए।