नाम कटौती गरी अन्यलाई सिफारिस गरेको भन्दै मेयरदेखि पूर्वक्षेत्रीय सभापतिले दिए कांग्रेस जिल्ला समितिमा निवदेन
परासी : नगर समितिले नाम कटौती गरेर सिफारिस गरेपछि पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको कांग्रेसबाट मेयर पदमा आकांक्षा देखाएका ३ जनाले जिल्ला समितिमा निवदेन दिएका छन् । निवेदन दिनेमा फेरि दोहोरिन खोजेका रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता छन् ।
त्यस्तै, मेयर पदका आकांक्षी वडा नं.८ का वडाअध्यक्ष महेन्द्र ठाकुर र पूर्वक्षेत्रीय सभापति एंव महाधिवेशन प्रतिनिधि गुणनिधी तिवारीले पनि जिल्ला समितिमा निवेदन दिएका छन् । तिवारी प्रदेशसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारसमेत थिए । उपमेयरमा पनि नाम सिफारिस नगरेको भन्दै आरधना भट्टले जिल्ला समितिमा निवेदन दिएकी छन् । वडातहहरुबाट सिफारिस गरेर पठाइए पनि पार्टीको नगर समितिले नाम कटौती गरी जिल्ला तहमा पठाएको उनीहरुले बताएका छन् ।
नगर समितिमा मेयर पदका लागि ७ जना र उपमेयरमा ५ जनाको नाम सिफारिस गरिएको थियो। नाम सिफारिसबारे नगर समितिमा विवाद भएपछि बहुमतको नाममा पूर्वाग्राही ढंगले आफूखुसी जिल्ला समितिमा नाम पठाइएको निवदेनमा जनाइएको छ ।
'पार्टीमा लामो समयदेखि आवद्धलाई पाखा लगाउँदै विधान विपरित क्रियाशिल सदस्यतासमेत नरहेका र भर्खर मात्र अर्को पार्टीबाट आएकाहरुको नाम पठाइएकाले आफूहरुको नाम समावेश गरी प्रकृया अघि बढाउन माग गर्दछौं, 'उनीहरुले दिएको निवदनमा उल्लेख छ ।
नगर समितिले प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिमार्फत जिल्ला समितिमा पठाएको पत्रमा १ महिलासहित ३ जनाको नाम मेयर र ३ जनाको नाम उपमेयरका लागि सिफारिस गरिएको छ । नगर समितिले सिफारिस नगरेको भन्दै ३ जना मेयर र १ जना उपमेयरका आंकाक्षीको नाम आएको जिल्ला सचिव उमेश यादवले बताए ।
नगर समितिले पठाएका र जिल्ला समितिमा आएका मेयर र उपमेयर सबैको नाम समावेश गरी प्रदेश समितिमा पठाइएको यादवले जानकारी दिए ।