फेरि लड्न राजीनामा दिँदै जनप्रतिनिधि
प्यूठान/बझाङ : आफ्नो दोस्रो कार्यकालका लागि चुनाव लड्न दर्जनौ जनप्रतिनिधिहरु यतिबेला फटाफट पदबाट राजीनामा दिइरहेका छन्। यसैक्रममा प्यूठानका दर्जनौ जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् भने बझाङमा पनि ५ जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन्।
दोस्रो कार्यकालका लागि चुनाव लड्न प्यूठानका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पदबाट राजीनामा दिएका हुन्। सम्बन्धीत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले जनप्रतिनिधीको राजीनामा स्वीकृत गरेका छन्।
प्यूठानका गाउँपालिकाका नौं जना जनप्रतिनिधीहरुले शनिवारदेखि लागुहुने गरी पदबाट राजीनामा दिएको सरुमारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिए। नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा, वडा नम्वर १ का वडा अध्यक्ष मुकुन्दराज शर्मा, ३ का वडा अध्यक्ष भिम बहादुर मर्साङ्गी, ४ का अध्यक्ष चिन्त बहादुर सोमै र विभिन्न वडाका पाँच जना वडा सदस्यहरुले राजीनामा दिएका छन्। गाउँपालिका उपाध्यक्षले राजीनामा दिने चर्चा चलेपनि उनको राजीनामा परेन्।
नेपाली कांग्रेसबाट निर्वाचित गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले दिएको राजीनामा स्वीकृत भएको छ। गिरी र वडा नम्वर ७ का अध्यक्ष श्यामलाल पुरीले मात्र गौमुखीमा पदबाट राजीनामा दिएका छन्। राजीनामा पत्रमा गाउँपालिका अध्यक्ष गिरीले आफ्नो कार्यकालमा साथ, सहयोग गर्ने सवैप्रति आभार प्रकट गरेको लेखेका छन्।
नेकपा एमालेबाट निर्वाचित माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका सहितका वडा अध्यक्षहरुले आइतवारसम्म राजीनामा दिने तयारी गरेका छन्। वडा नम्वर ४ का अध्यक्ष हेमराज वली, ५ का वडा अध्यक्ष दुर्गा प्रसाद आचार्य सहित केही सदस्यहरुले राजीनामा दिने तयारी भइरहेको अध्यक्ष रोकाले जानकारी दिए। नेकपा माओवादी केन्द्रबाट विजयी भएका वडा नम्वर २ का सदस्य यामलाल पुनमगरले शुक्रवार नै राजीनामा दिएका छन्।
नौवहिनी गाउँपालिका अध्यक्ष शिव रिजाल, उपाध्यक्ष घन बहादु बुढा लगाएत केही वडा अध्यक्षहरुले राजीनामा दिइसकेका छन्। रिजाल नेपाली कांग्रेस र बुढा नेकपा माओवादी केन्द्रका हुन्। यस अघिको निर्वाचनमा उनीहरुको गठवन्धन थियो।
एक्लाएक्लै चुनाव लड्ने भएपछि ऐरावती गाउँपालिकामा पनि दर्जनौ जनप्रतिनिधीहरुले राजीनामा दिने तयारी गरिरहेका छन् । नेपाली कांग्रेसबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष नविलविक्रम शाह, माओवादीबाट जितेका गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले आइतवार राजीनामा दिने तयारी गरेका हुन्। दुवै जना अध्यक्ष पदमा चुनाव लड्दै छन्। ‘घटनाक्रम छिनछिनमा फेरिरहेका छन्’,उपाध्यक्ष बस्नेतले भने,‘परिस्थितीले फरक मोड लिएन भने आजसम्मको तयारी अध्यक्षमा चुनाव लड्ने नै छ।’ सोही गाउँपालिकामा वडा नम्वर एकका अध्यक्ष द्रोण पाण्डे, २ का अध्यक्ष भिमेसकुमार घर्ती र ५ का अध्यक्ष चन्द्र रोकाले राजीनामा दिने तयारी गरेका छन्। गठवन्धनको बैठकले मित्रबत रुपमा एक्ला एक्लै चुनाव लड्ने यहाँ लिखित सहमती नै गरेका छन्। झिमरुक गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी, उपाध्यक्ष पवित्रा जिसी सहित ८ वटै वडाका वडा अध्यक्षहरुले पदबाट राजीनामा दिएका छन्।
यस्तै बझाङको जयपृथ्वी नरपालिकाका ५ जना जनप्रतिनिधिहरुले पनि पदबाट राजीनामा दिएका छन्।
आज २ जना वडाध्यक्ष र ३ जना वडा सदस्य गरी जयपृथ्वी नगरपालिकाबाट ५ जनाले पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा वडा नं ६ का वडाध्यक्ष नरेन्द्र सिंह, वडा नं १० का वडाध्यक्ष दलबहादु विष्ट, वडा नं ११ का वडा सदस्य भक्तराज जोशी, वडा नं ५ का वडा सदस्य हर्कजंग बहादुर सिंह र वडा नं ४ का वडासदस्य गणेशराज जोशी रहेका छन्।
वडा नम्बर ६ को वडाध्यक्ष पदबाट राजीनामा दिएका नरेन्द्र सिंह र वडा नम्बर १० वडाध्यक्ष पदबाट राजीनामा दिएका दल बहादुर विष्टले मेयर पदमा दिन चाहेको बताएका छन्। अन्य जनप्रतिनिधिले पनि वडाध्यक्षमा दिने गरी राजीनामा दिएका छन्।
उम्मेदवारी दिँदा राजीनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधान विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने भएको हो।