आमा नै निर्दयी बनेपछि...
राजविराज : ममताको खानी, जननी, सबै पीडा र बोझ बोक्ने, सन्तानको खुसी मात्र देख्नेजस्ता पर्यायका कारण आमाको गरिमा उच्च हुन्छ। आमाका नाममा धेरै गीत गाइएका छन्। कथा, कविता, उपन्यास लेखिए अनि नाटक मञ्चनसमेत भएका छन्। तीनै आमा निर्दयी बनेपछि के होला ? सम्झँदा पनि मन चसक्क हुन्छ। तर, सप्तरीमा यस्तै घटना भएको छ। बिहीबार काखे शिशुको हत्या गर्ने आमा पक्राउ परेकी छन्। प्रेमीसँग मिलेर छोरीको हत्या गरेको कसुरमा जन्मकैद सजाय पाएकी ३० वर्षीया रानीदेवी मण्डल राजगढ गाउँपालिका–५ मलेकपुरबाट पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ।
अवैध सम्बन्ध र प्रेममा अन्धो बनेकी रानीले प्रेमीको सर्त र दबाबमा अपराधमाथि अपराध गर्दै गइन्। दूधे बालिकालाई अवरोध ठान्दै पन्छाइन्। आफ्नै हातले ६ वर्षअगाडि छोरीको हत्या गरिन् र आमाको अपवाद बनिन्। रानीको खुसी र सन्तानको उज्ज्वल भविष्यको सपना बुनेर सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–७ डंग्राहीका ३० वर्षीय सूर्यनारायण मण्डल बिदेसिएका थिए। मण्डलको त्यो सपना घर फर्किंदा चकनाचुर भएको थियो। श्रीमती र छोरीका लागि साउदी अरबबाट भरिएको झोला ल्याउँदा उनको घर भने रित्तियो।
भिसाको अवधि सकिएकाले दुई वर्षपछि घर फिर्दै गरेको कुरा उनले टेलिफोनबाट श्रीमतीलाई सुनाउँदै के ल्याउदिऊ भनेर सोधेका थिए। खुशी हुँदै घर पसेका उनी एकसाथ आश्चर्य र चिन्तामा परे। उनले घरमा श्रीमती रानी र साढे एक वर्षीया छोरी प्रमिलालाई देखेनन्। सूर्यनारायण घर आउनु चार दिनअघि नै उनीहरू बेपत्ता थिए।
सूर्यनारायणले ससुराली, इष्टमित्र, आफन्त सबैतिर खोजे। केही पत्तो नलागेपछि अन्ततः जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७३ साउन ३० गते खोजतलासका लागि हुलिया जाहेरी दिए। जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरी खोजतलास सुरु गर्यो। रानी र शिवशंकरलाई प्रहरीले काठमाडौंबाट २०७३ असोज १२ गते फेला पार्यो।
सूर्यनारायणले फोन गरेर साउदी अरबबाट घर आउने बताएपछि आइपुग्ने दिनभन्दा चार दिनअघि नै उनी प्रेमी राजगढ गाउँपालिका–५ मलेकपुरका २९ वर्षीय शिवशंकर मालीसँग काठमाडौं भागेकी थिइन्। श्रीमान् घर फर्किने भएपछि प्रेमीसँगको सल्लाहमा दुवै जना घर छाडेर भागेका रहेछन्। प्रेमीसँग भागेको कुरा सूर्यनारायणले जसोतसो सहने हिम्मत जुटाइरहेका थिए। त्यसैबीचमा केही दिनपछि आरोपितहरूले सरकारी वकिल र प्रहरीसमक्ष दुधे बालिकाको हत्या गरेको स्विकारे। यो कुराले सूर्यनारायण मात्र नभई सिंगो गाउँ स्तब्ध बन्यो। हत्या स्विकारेपछि प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरी कारबाही थाल्यो।
पक्राउ परेका उनीहरू जिल्ला अदालतको आदेशमा २०७३ कात्तिक ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए। तर पुनरावेदन अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्यो। बालिकाको हत्या गरी राजविराज–हनुमाननगर सडक खण्डमा रहेको खाँडो खोलामा बगाएको तथ्य पुष्टि भएको भन्दै दुई वर्षपछि सप्तरी जिल्ला अदालतले २०७५ फागुन १५ गते दुवै आरोपितलाई जन्मकैद सजायको अन्तिम फैसला सुनायो। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाका अनुसार बालिकाको हत्यापछि लास लुकाउने, दबाउने अभिप्रायले खोलामा बगाएकाले उनीहरूलाई जन्मकैदका साथै जनही ६ महिनाको कैद सजाय पनि थपियो। शिवशंकर र रानीविरुद्ध शिवशंकरकी भाउजू ४२ वर्षीया बीनादेवी मालीलाई विष खुवाई हत्या गर्ने प्रयास गरेको आरोप छ। सामाजिक परम्पराअनुसार २३ वर्षअघि शिवशंकरका दाजु लालबिहारीसँग बीनाको विवाह भएको हो। लालबिहारी प्रहरी हबल्दार हुन्।
पटक–पटक घरेलु हिंसा गर्ने आरोपितहरूले अलग्गै छुट्टिएर बसेकी बीनालाई एकाबिहानै ढोका खोल्न लगाई कीटनाशक विषादी खुवाएर ज्यान मार्ने उद्योग गरेको आरोप छ। बीनाका बुवा कञ्चनरूप नगरपालिका–२ बरमझियाका ६५ वर्षीय खुसीलाल मालीले २०७६ साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका हुन्। जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगको आरोपमा बीनाका ससुरा रामदेव र सासू चन्दनदेवी मालीलाई २०७६ साउन १५ गते पक्राउ गर्यो। उनीहरू जिल्ला अदालतकोे आदेशले २०७६ भदौ १० गते जनही ६० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भए। शिवशंकर र रानी भने फरार रहेकाले वारेन्टसहितको म्यादी पुर्जी जारी भयो। उनीहरू पछिल्लो समय गाउँघरमै बस्दै आएका थिए। गाउँघरमा बसिरहेको अवस्थामा नै प्रहरीले रानीलाई पक्राउ गरी कैद भुक्तानको लागि राजविराजस्थित कारागार पठाएको डीएसपी माधवप्रसाद काफ्लेले बताए।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिदेसिएकाहरूको घरमा आपसी सम्बन्ध बिग्रिएर प्रत्येक महिना उजुरी लिएर आउने पुरुषहरूको संख्या बढ्दो छ। घरपरिवार, खेत र बस्तुभाउ छोडेर बिदेसिएका सूर्यनारायणले कैयौ दिन पाउरोटी मात्र खाएर साँघुरो कोठामा कोचिएर रात काटे। पछिको सुखका लागि दुःख गर्न गएका उनीमाथि झनै दुःखको पहाड आइलाग्यो। छोरीको हत्या गरी श्रीमती प्रेमीसँग भागेको दुई वर्षपछि सूर्यनारायणले गाउँकै अमेरिकादेवीसँग विवाह गरेर नयाँ जीवन सुरु गरेका छन्। जसबाट प्रमिलाझंै छोरी जन्मिएकी छिन्। रानीतर्फका छोरी प्रतिभा र छोरा प्रदीपको पालनपोषण अमेरिकादेवीले गरिरहेकी छिन्।
सूर्यनारायण भने फेरि बिदेसिएका छन्। केही वर्ष दुःख गरेर कमाइ ल्याएको रुपैयाँले ऋण तिर्ने र पछि आफ्नै ठाउँमा व्यवसाय गर्ने भन्दै उनी पुनः साउदी अरब हानिएको भाइ दीपेन्द्र बताउँछन्। अदालतको फैसलापाएपछि प्रमिलालाई सम्झिँदै रसिलो आँखा पारेर उनी भन्छन्, ‘पुरानो कुरा सम्झिँदा त दुःख लाग्छ तर अदालतको फैसला कार्यान्वयनले थोरै सन्तोष मिलेको छ।’