उपसचिवबाट राजीनामा दिएर मेयरमा उठ्दै पाण्डे
गुल्मी : इन्जिनियर क्षेत्रको सरकारी उपसचिव राजेन्द्र पाण्डेले राजीनामा दिएका छन्। गुल्मीको रेसुंगा नगरपालिकामा मेयर लड्न उनी पदबाट राजीनामा दिएका हुन्।
नेकपा एमालेले मेयरका लागि उनको उम्मेदवार टुंगो लगाइसकेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला कार्यालय भक्तपुरको उनी जिल्ला आयुक्त पदमा कार्यरत थिए। दुई वर्ष सेवा अवधि बाँकी छँदै पाण्डेले राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका हुन्।
५६ वर्षीय पाण्डेले ३२ वर्ष चार महिना नेपाल सरकारका विभिन्न तहमा रहेर काम गरे। उनको जागिरे जीवनको सुरुवात ओभरसियरबाट भएको थियो। त्यसपछि खुल्ला प्रतिस्पर्धाबाट इन्जिनियरमा नाम निकाली हालः सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पदमा कार्यरत थिए।
लामो समय सरकारी जागिरे जीवनमा समय विताएका पाण्डेले आफ्नो अनुभव र क्षमतालाई नगरबासीको समृद्धिका लागि उपयोग गर्ने सोँच बनाएका छन्।
‘संघीयतापछि अत्यन्तै प्रभावकारी र जनताको जनजिविकासँग जोडिएको सरकार स्थानीय सरकार नै रहेको पाइयो,’ पाण्डेले भने, ‘नगरबासीको खुसीका लागि मेरो अनुभव उपयोग गर्न खोजेको हुँ।’ लामो समय मन्त्रालयमा सेवारत हुँदा राज्यका नीतिगत तहमा पनि काम गरेको अनुभव रहेको सुनाउँदै उनले गाउँदेखि केन्द्रसम्मको दूरीलाई नजिक बनाउने उनको योजना छ। रेसुंगा नगरपालिकाबासीले आधारभूत तहको पूर्वाधार विकास, बाटो, खानेपानी, विजुलीको गुणस्तर र नियमितताको अपेक्षा गरेको पाण्डेले सुनाए।
आफूले पूर्वाधार क्षेत्रमा काम गरेको अनुभवले पनि नागरिकका यी अपेक्षा पूरा गर्न आफू सक्षम रहेको उनले दाबी गरे। संघीयतापछि पनि गाउँ-घरहरु सुनसान बन्दै गएकाले त्यसको पुनरुत्थान गर्नेसमेत उनको योजना छ।
पाण्डेले इन्जिनियरिङ क्षेत्रको अरबाइन डिजाइन एण्ड कन्जरभेसनमा एमएससी गरेका छन्। सहरी क्षेत्रको डिजाइन, योजना र संरक्षणको क्षेत्रमा समेत उनको लामो अनुभव छ।