जन्ती बने मलामी, शोकमा डुब्यो गाउँ
राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट बेहुली लिन शुक्रबार राति जन्ती हिडेको थियो। डिजे बाजाको तालमा नाचगान गर्दै शुक्रबार राति खडक नगरपालिका–११ लालपुरका लागि जन्ती प्रस्थान गरेको थियो। जन्ती हिंडेपछि बाँकी गाउँलेहरू नयाँ बेहुलीको स्वागतमा प्रतिक्षारत थिए।
खुशीको प्रतिक्षामा बसेका गाउँलेहरूको आँखा अहिले रसाएको छ। बेहुली लिन शुक्रबार राति जन्ती हिँडेका गाउँलेहरू नै शनिबार मलामी बन्नु परेपछि गाउँमा सन्नाटा छाएको छ। दुलही भित्र्याउन हिंडेका जन्तीमध्ये २ दाजुभाईसहित ३ जनाको एकसाथ मृत्युको खबरले गाउँलेहरूमा रुवावासी छ। “जन्ती कुरेर बसेका आफन्त, पाहुना तथा गाउँलेहरू नै शव यात्रामा जानु पर्ने भयो” मन्दिप यादवले भने।
दुलही गाउँ भित्र्याउन हिंडेका जन्तीहरूको मृत्युपछि अहिले एउटै गाउँबाट ३ जनाको शव एकैसाथ घाट लैजाने तयारी भइरहेको छ। सिंगो गाउँ शोकमा डुबेको छ भने मृतक पप्पु यादवकी श्रीमती रूपादेबी बेहोस छिन्।
मृत्यु हुनेमा सोसिन्द्र यादवको छोरा ३० वर्षीय पप्पु यादव तथा हेमनारायण यादवको छोरा २८ वर्षीय बुच्चु भनिने रंजित यादव र २६ वर्षीय संदिप यादव रहेका छन्। पोष्टर्माटमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव ल्याइएपछि अस्पतालमा परिवारका सदस्यहरू र मृतकहरूका घरमा गाउँलेहरूको भिड लागेको छ।
पोर्ताहका अनुज साहको विवाहमा हिंडेका तीनै जना युवाको हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको जितेन्द्र यादवले बताए। तीन जना प्र.१–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्र.१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकलमा सवार थिए। मादक पदार्थ खाई तीव्र गतिमा मोटरसाइकल कुदाएका कारण ओभरटेक गर्दा एक आपसमा ठोक्किएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
गाउँलेहरूले भने दुबै मोटरसाइकल एकआपसमा नभई कुनै ट्रयाक्टरमा ठोक्किएको अनुमान गरेका छन्। दुबै मोटरसाइकलको अगाडिको भागमा भएको क्षति हेर्दा विपरित दिशाबाट आएको ठूलो सवारी साधनमा ठोक्किएको हुन सक्ने मृतकका आफन्त रूपनी गाउँपालिका–१ का जितेन्द्र यादवको दावी छ। “गाउँका तीन जना युवाको अकाल मृत्युको पीडा भोग्नु पर्यो।” प्रदिप यादव भन्छन्–“बिवाहको उत्सवमा मृत्युको पीडा सहनु पर्दा गाउँनै शोकमा डुबेको छ।”
बेहुलासहितको जन्ती प्रस्थान गरेपछि दुई मोटरसाइकलमा सवार तीन जनाले बाटोमा अलमल गरेको र पछिबाट तीब्र गतिमा मोटरसाइकल कुदाएर विवाहस्थल पुग्न खोज्दा दुर्घटनामा परेको अनुमान गरिएको छ। “विवाहस्थलमा तीन जना नपुगे पछि राति नै खोजखबर गरियो तर फोन लागेन” जन्तीमा गएका एक जनाले बताए। शायद त्यतिबेला सम्ममा उनीहरु दुर्घटनामा परिसकेका थिए। सुनसान मध्यरातमा ठूलो आवाज आएपछि निन्द्राबाट व्यँुझिएर गाउँलेहरू घटनास्थाल पुग्दा दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरिएको दिपक यादवले बताए।
दुर्घटनाको खबर गाउँभरि फैलियो। २५ वर्षीया रूपादेबीले यो खबर पाउने बित्तिकै बच्चालाई च्यापिन्। पहिलो श्रीमानको मृत्युपछि सहारा दिएका पप्पुको पनि दुर्घटनामा परेर जीवनदीप बुझिसकेको खबरले निस्तब्ध भईन्। हिजोसम्म हाँसिरहेको जीवन अहिले रोदनको अविरल आँशुको भेलमा हराउँदै गयो। एउटा अन्धकारमयी अनिश्चित भविष्य रूपाको अघि देखियो। उनले एक्लो महसुस गरिन।
पहिलो श्रीमान लाल पघैया यादवको २०७५ सालमा सिन्धुलीमा भएको ट्रक दुर्घटनामा परेर मृत्यु भएको थियो। शुभचिन्तकहरूले केही दिन सान्त्वना र ढाडस दिए। तर देवर नाता पर्ने पप्पुले जीवनभरी साथ दिने भन्दै रूपासँग विवाह गरेका थिए। जीवनभरी साथ दिने वाचा गरेका पप्पुले पनि बीचैमा छाडेर गएपछि रूपा शून्यतामा हराइन्।
उनलाई पप्पुले बोलाएजस्तै भान भयो र मनमा आत्महत्याको सोच पलायो। अर्धबेहोसी अवस्थामा नै घरमा राखिएको तरकारीमा छर्कने विषादी सेवन गरिन्। हाल रूपा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसियुमा उपचाररत छिन्।.स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन्।
गाउँलेहरूले पोइ टोकुवा भनेर कुरा काट्ने आशंका मनमा उब्जिएको हुन सक्ने एक गाउँलेले बताए। ती गाउँलेले नै भने – “दुर्घटनामा विवाहित र अविवाहित दुबै पर्छन, मृत्यु त बालक वा बृद्ध जो कसैको हुन्छ। दुर्घटना र मृत्यु त संयोग न हो।”