राजनीतिमा बाहुबली र धनबली

राजनीतिमा बाहुबली र धनबली

प्रजातान्त्रिक राजनीतिको व्यवस्थाको सुन्दर पक्ष निर्वाचन भनिन्छ। केही समययता र आसन्न निर्वाचनका दृश्यले भने प्रजातन्त्र र राजनीति दुवैको खिल्ली उडाएका छन्। निर्वाचनको मतलब हो जनताले आफ्ना प्रतिनिधि स्वतन्त्र ढंगले चुन्ने। तर, त्यो स्वतन्त्रता जनतालाई छैनभन्दा पनि हुन्छ। प्रमुख दलहरूले उठाएका उम्मेदवारमध्ये कसै न कसैले जित्ने वातावरण सिर्जित छ। चुनावपूर्वको गठबन्धनले प्रमुख दलीय सिन्डिकेटलाई बलियो बनाएको छ। गठबन्धनकै कारण छनोटको अवसर कम जुरेको छ। सत्ता र प्रतिपक्ष दुवैथरी दलले पाएसम्मका अरू दलसँग गठबन्धन गर्दै चुनावी उम्मेदवार तय गरेका छन्। 

बहुदलीय व्यवस्थालाई साँघुरो पारेर सीमित दलीय व्यवस्थामा रूपान्तरण गर्ने खतरा पैदा भएको छ।

कतिपय देशमा दुईदलीय व्यवस्था भए पनि त्यो खासमा निश्चित दलको सिन्डिकेट हो, त्यस्तो व्यवस्था नेपालीले परिकल्पना गरेको होइन। हाम्रो संविधानले पनि बहुदलीय व्यवस्था अंगीकार गरेको छ। जसरी पनि चुनाव जित्ने ध्याउन्न दलहरूमा छ। तसर्थ साम, दाम, दण्ड, भेदको नीति मुख्य दलहरूले अपनाइरहेका छन्। न विचारको मतलब छ, न सिद्धान्त। न इमान्दारी न त नैतिकता। जे गर्दा चुनाव जितिन्छ, त्यसै गर्न दलहरू लागिपरेका छन्। उनीहरूको उम्मेदवार छनोटको आधार पनि त्यही नै छ। योगदान, सामाजिक छवि, नैतिकता, क्षमता र योगदान एकातिर पन्छाइएका छन्। अर्कोतिर दलहरूले बाहुबली, धनबली उम्मेदवार खोजिरहेछन्। यसको उद्देश्य नै जसरी पनि चुनाव जित्ने भन्ने हो।

चुनाव लोकतन्त्रमा महत्त्वपूर्ण हो भन्दै नैतिकता केही पनि होइन भन्ने भाष्य जबरजस्त स्थापना गर्न लाग्नु वास्तवमा लोकतन्त्रलाई कमजोर पार्ने खेल हो। लोकतन्त्रमा प्रमुख सर्त आवधिक निर्वाचन हो, तर निष्पक्ष, भयरहित र स्वच्छ प्रतिस्पर्धाचाहिँ निर्वाचनका सर्त हुन्। जसले पैसा खर्च गर्न सक्छ, जसले दादागिरी र मारमुंग्री गर्न सक्छ। त्यस्ता उम्मेदवारको खोजी गरिँदा जनताको मानसम्मानमा ठूलो चोट परेको छ। जनताले मूल्यांकन गरेर भोट दिन्छन् भन्ने विश्वास दलहरूमा नदेखिनु भनेको कमजोर मनोविज्ञान हो। आफैंमा विश्वास नहुनु हो। त्यो त असल कर्मका आधारमा आफूहरूलाई जनताले मत प्रकट गरी विश्वास गर्छन् भन्ने आत्मभरोसा नभएकै कारणले हो। जनउत्तरदायी नबन्ने तर भोटचाहिँ जनताको चाहिने विडम्बना जुन देखा परिरहेको छ, यसले पुनरुत्थानवादी शक्तिको मनोबल बढाएको छ। पछिल्लो समय दक्षिणपन्थी शक्तिको बढ्दो लोकप्रियता त्यसैको द्योतक हो। यो कुरामा मुख्यतः लोकतन्त्रका लागि संघर्ष गरेका कांग्रेस र कम्युनिस्टजस्ता मुलुकमा प्रमुख राजनीतिक शक्तिले विचार गर्नुपर्छ।

चुनाव जित्ने तर लोकतन्त्रले हार्ने भयो भने दलहरूको भविष्य हुँदैन। व्यवस्थामाथि खतरा आइलाग्नु भनेको दलहरूको पनि अस्तित्व संकटमा पर्नु र ७० वर्षदेखि नेपालीले गरेको संघर्षका उपलब्धि खेर जानु हुन्छ। हजारौं हजारको बलिदानीबापत आजको व्यवस्था प्राप्त भएको हो। यसका लागि सयौं, हजारौंले प्राण आहुति दिएका छन्, उत्सर्ग गरेका छन्। चुनाव जसरी पैसा हुनेले मात्रै जित्ने र निष्ठापूर्वक राजनीति गरेकाहरू पाखा लाग्नुपर्ने अवस्था आएको छ। यसले राजनीतिलाई फोहोरी खेल भन्ने कहावतलाई संस्थागत गर्दैछ। जनताको प्रतिनिधि हुन चाहिने नेतृत्व कौशल, असल चरित्र र सेवाभाव हो भन्ने मान्यता छ।

उक्त मान्यतालाई आत्मसात् गरिएन भने जनता राजनीतिबाट स्वाभाविक रूपमा निराश हुन्छन्। त्यो निराशाको फाइदा अराजनीतिक तत्त्वले उठाउन सक्छ। आखिर हरेक तानाशाही व्यवस्था लाद्ने शक्तिको स्रोत निराश जनता हुन्। व्यवस्था उल्टिए वा यो व्यवस्थामा खतरा पैदा भए फेरि पनि दुःख चाहिँ देश र जनतालाई नै हो। फेरि संघर्ष र आन्दोलन गर्नुपर्ने दिन नेपाल नआओस् भनेरै राजतन्त्रको अन्त्यसहितको व्यवस्था ल्याइएको हो। यसमा सबै दलले हेक्का राख्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.