उदयपुरमा एमालेका ८ वटै स्थानीय तहमा उमेदवारी दर्ता
उदयपुर : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले उदयपुरले जिल्लाका सबै तहमा उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको समयमा नै एमालले जिल्लाका ८ वटै स्थानीय तहका उमेदवारी दर्ता गराएको हो। एमालेबाट सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकामा भागवत राउत र उपमेयरमा महेश्वरी राईलाई उमेदवारी बनाएकोछ।
राउत पार्टीको प्रदेश कमिटी सदस्य र राई जिल्ला कमिटीको सचिवालय सदस्य हुन्। त्यसैगरी बेलका नगरपालिकामा पुरानै मेयर दुर्गाकुमार थापा (स्वस्ति) र उपमेयरमा जिरा राईले उम्मेदवारी दिएका छन्। थापा पार्टीको प्रदेश कमिटी सदस्य हुन्।
त्यस्तै चौदण्डीगढीमा मेयरमा कालूमान लामा र उपमेयरमा मनिकादेवी दुलालले उम्मेदवारी दर्ता गराएका छन्। लामा पार्टीको जिल्ला कमिटी सचिव हुन् भने दुलाल जिल्ला सदस्य हुन्। कटारी नगरपालिकामा पुरानै मेयर ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’ र उपमेयरमा गिता खड्का रहेका छन्। श्रेष्ठ पार्टीको जिल्ला उपाध्यक्ष हुन् भने खड्का सदस्य हुन्।
यसैगरी रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारी ज्यू ठकुरीले उमेदवारी दर्ता गराएका छन्। थापा पार्टीका उपसचिब हुन भने ठकुरी जिल्ला सदस्य हुन्। उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरले दर्ता गराएका छन्। खत्री प्रदेश कमिटी सदस्य हुन्।
ताप्ली गाउँपालिकाको अध्यक्षमा बाबुराम राई र उपाध्यक्षमा मनकुमारी थापाले दर्ता गराएका छन्। दुबै जना जिल्ला कमिटी सदस्य हुन्। यस्तै लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा राजकुमार राई उपाध्यक्षमा देवकुमारी कार्कीले उमेदवारी दर्ता गराएका छन्। राई पार्टीको गाउँपालिका कमिटी सचिब र कार्की सदस्य हुन्।