हृदयेश त्रिपाठीले गृह जिल्लामै पाएनन् उम्मेदवार
परासी : नयाँ दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी भएका पूर्वमन्त्री हृदयेश त्रिपाठी आफ्नै जिल्ला पश्चिम नवलपरासीमा कमजोर देखिएका छन्। जनता प्रगतिशिल पार्टी गठन गरेका त्रिपाठीले १७ जिल्लामा संगठन रहेको दाबी गर्दै आएका थिए। तर स्थानीय तह निर्वाचनमा परेको उम्मेदवारीले उनी आफ्नै जिल्लामा कमजोर भएको देखाएको हो।
जिल्लामा ७ पालिका छन्। एउटा पालिकाबाहेक अन्य पालिकाका सबै पदमा उम्मेदवारी दिन उनले उम्मेदवार नै पाएनन्। आफ्नो पालिका रहेको प्रतापपुर गाउँपालिकामा मात्र प्रमुखसहित सबै पदमा उम्मेदवारी परेको छ। सुस्ता गाउँपालिकामा एउटा वडामा उमेदवार नपाएपनि अध्यक्ष र उपाध्यक्षसहित अन्य वडामा उमेदवारी परेको छ।
केही पालिकामा वडा तहमा उमेदवार उठाए पनि सुनवल नगरपालिका र सरावल गाउँपालिकाका कुनै पनि पदमा उनको पार्टीले उमेदवार उठाउन सकेन। सदरमुकामको रामग्राम नगरपालिकासहित जिल्लाका कुनै पनि नगरपालिकाकामा प्रमुख र उपप्रमुख उठाउन सकेनन्।
रामग्राममा ३ वटा वडा र बर्दघाटमा ३ वटा वडामा अध्यक्ष पदमा मात्र उमेदवारी परेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले बताए। सुनवल नगरपालिकामा कुनै पनि पदमा त्रिपाठीको पार्टीले उम्मेदवार उठाउन सकेन। पाल्हीनन्दनमा एउटा वडामामात्र अध्यक्ष पदमा उम्मेदवारी परेको छ। उम्मेदवारी दिने व्यक्ति नै पाउनु भएन भन्ने प्रश्नमा जिल्ला अध्यक्ष पाण्डेले भने, ‘उम्मेदवार नै पाएनभन्दा पनि नयाँ दल भएर थोरै गाह्रो भएको हो।’
एमालेको सूर्य चिन्ह लिएर पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं. १ बाट त्रिपाठीले प्रतिनिधि सभामा चुनाव जितेका हुन्। केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीसमेत भएका त्रिपाठीले तत्कालीन राजपा छाडेर सूर्य चिन्हबाट चुनाव लडेका थिए।