रातारात परिवर्तन हुनेहरु बने दलका उम्मेदवार
राजविराज : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि टिकट नपाएपछि रातारात पार्टी परिवर्तन गर्नेहरुले नै नयाँ पार्टीबाट उम्मेदवारी पाएका छन्।
जसपाबाट भिमराज यादवले टिकट पाएपछि अर्का दावेदार राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले नेकपा (माओवादी) केन्द्रबाट नगर प्रमुखमा उम्मेदवारी दिएका छन्।
माओवादीबाट छिन्नमस्ता गाउँपालिका अध्यक्षमा बिनोद यादवले टिकट पाएपछि अर्का दावेदार जयप्रकाश यादवले नेकपा एकिकृत समाजवादीबाट उम्मेदवारी दिएका छन्।
छिन्नमस्ता गाउँपालिकामा लोसपाबाट बिद्यानन्द चौधरीले अध्यक्षको उम्मेदवारी पाएपछि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका छन्।
महादेवा गाउँपालिकाबाट जसपाले टिकट नदिएपछि दिपनारायण यादव लामो समयपछि नेकपा (एमाले) फर्किएर अध्यक्षमा उम्मेदवारी दिएका छन्।
स्वतन्त्रबाट छिन्नमस्ता गाउँपालिका–३ मा वडा अध्यक्ष निर्वाचित भई जसपामा प्रवेश गरेका दिपेन्द्र यादवले नेकपा (एमाले) बाट अध्यक्षमा उम्मेदवारी दिएका छन्।
गत स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालबाट निर्वाचित एक मात्र छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डलले जसपाबाट उम्मेदवारी नपाए पछि नेपाल सद्भावना पार्टीबाट अध्यक्षमा उम्मेदवारी दिएका छन्।
हनुमाननगर कंकालिनी नगरपालिकामा जसपाबाट नगर प्रमुख शैलेशकुमार साहले उम्मेदवारी पाएपछि गत स्थानीय निर्वाचनमा संघीय समाजबादी फोरमबाट उम्मेदवारी दिएर निकटतम प्रतिद्वन्द्वी रहेका बिरेन्द्र माझी जसपा परित्याग गरी जनमत पार्टीबाट नगर प्रमुख पदको उम्मेदवार बनेका छन्।
बिष्णुपुर गाउँपालिकामा गुलाब यादवले अध्यक्षमा उम्मेदवारी पाएपछि हालैमात्र एमाले प्रवेश गरेका मुनीलाल खंगले माओवादीबाट उम्मेदवारी दिएका छन्। हालै मात्र कांगे्रस प्रवेश गरेका राजविराज-४ का वडा अध्यक्ष सुदर्शन सिंह र ७ का वडा अध्यक्ष मागीलाल नाईले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। यसअघि पनि उनीहरुले स्वतन्त्रबाटै निर्वाचित भएका थिए।
यसअघि महादेवा गाउँपालिकाका अध्यक्ष दिपक यादवले टिकट नपाउने पक्का भएपछि जसपाबाट कांग्रेस प्रवेश गरी उम्मेदवारी सुनिश्चित गरेका छन्।
तिरहुत गाउँपालिकामा गत स्थानीय निर्वाचनमा राजपा उम्मेदवार भई निकटतम प्रतिद्वन्द्वी रहेका विजय यादवले कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका छन्।
पार्टी परित्याग गरेर दल परिवर्तन गर्नेहरुले नगर प्रमुख र गाउँपालिका अध्यक्षको उम्मेदवारी नै पडकाएपछि त्यस्को सिको गर्दै उम्मेदवारी नपाउने वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले ठूलो सङ्ख्यामा पार्टी परिवर्तन गरेका छन्। पार्टी परिवर्तन गर्नेहरुले अन्य दल र स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन्।
तिलाठी कोइलाडी गाउँपालिका–१ का वडा अध्यक्ष दिनेश्वर मिश्र कांग्रेसबाट जसपामा, छिन्नमस्ता गाउँपालिका–१ का बिनोद यादव र राजविराज ४ का बसन्त साह जसपाबाट माओवादीमा, राजविराजका अशोक साह लोसपाबाट जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका छन्।
पाटी परिवर्तन र परित्यागले सप्तरीमा सबैभन्दा बढी कांग्रेस र जसपालाई असर गरेको छ भने माओवादी, एकीकृत समाजवादी र साना दललाई फायदा भएको राजनीतिक विश्लेषक निपीन देवले बताए।