नवलपरासीमा ११ सय ४७ जनाको उमेद्वारी
परासी : पश्चिम नवलपरासीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ११ सय ४७ जनाले उमेद्वारी दर्ता गराएका छन्। जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिकामा गरी ७ स्थानीय तह छन्।
सबैभन्दा बढी उमेद्वारी दर्ता गराउनेमा सुनवल नगरपालिकामा २ सय ८५ जना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दर्ताका आधारमा सबैभन्दा कम उमेद्वारी दिनेमा बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकामा ८३-८३ जना छन्।
त्यसैगरी पाल्हीनन्दन गाउँपालिकामा २ सय ४५, रामग्राम नगरपालिकामा २ सय ५०, सुस्ता गाउँपालिकामा १ सय १७ र सरावल गाउँपालिकामा ८४ जनाले उमेद्वारी दर्ता गराएका छन्। निर्वाचनमा सहभागी हुनका लागि जिल्लामा २७ दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
आ–आफ्नै अनुकुलमा गठबन्धन
पश्चिम नवलपरासीमा सत्तागठबन्धन बाहेक एमालेले पनि गठबन्धन गरेर उमेद्वारी दिएको छ। सत्तागठबन्धनका घटकका सबै दल एकजुट हुन सकेनन्। सबै घटक मिले भागबण्डा नपुग्ने भएपछि उनीहरुले दलअनुसार अनुकुल मिलेर तालमेल गरेका हुन्।
नेपाली कांग्रेस र माओवादी केन्द्रले सुनवल र बर्दघाट नगरपालिकामा गठबन्धन गरेका छन्। त्यहाँ दुवै प्रमुख पद कांग्रेसले लिएको छ। उपमेयर माओवादी केन्द्रलाई दिइएको छ।
सुनवल नगरपालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरमा भागबण्डा गरेका छन्। त्यस्तै बर्दघाट नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्दलाई उपमेयर दिइएको छ। १३ वटा वडा रहेको सुनवल र १६ वटा रहेको बर्दघाटमा ३-३ वटा वडाका अध्यक्ष लिएर माओवादी केन्द्रले चित्त बुझाएको छ। गठबन्धनले बर्दघाटमा मात्र नेकपा एस (एकीकृत समाजवादी) लाई १ वडा अध्यक्ष र १४ सदस्य दिएको कांग्रेस जिल्ला सचिव कुलदिप आचार्यले बताए।
गठबन्धनको अर्को घटक जसपा र माओवादी केन्द्रले रामग्राम नगरपालिकामा गठबन्धन गरेका छन्। जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर लिएको छ।
प्रतिपक्ष दल एमालेले भने बर्दघाट नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेर उमेद्वारी दर्ता गराएको छ। त्यहाँ एमालेलाई मेयर र जनमुक्तिलाई उपमेयर दिइएको छ।