व्यवसायी पनि उम्मेदवार
काठमाडौं : मुलुक स्थानीय तहको निर्वाचनमा होमिएसँगै दर्जनौं व्यवसायीहरूले पनि उम्मेदवारी दिएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी, नेकपा (समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूबाट स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्षलगायतमा व्यवसायीहरूले पनि उम्मेदवारी दिएका हुन्।
वीरगन्ज महानगरपालिकाको मेयरमा व्यवसायी विजय सरावगीले उम्मेदवारी दिएका छन्। यसअघि मेयर सम्हालिसकेका सरावगीले यसपटक पनि उम्मेदवारी दिएका हुन्। यसअघि भने उनी जनता समाजवादी पार्टी (जसपा) बाट मेयर जितेका थिए। नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका उनको पुरानो व्यवसाय खाद्य उद्योगका लागि कच्चा पदार्थको आपूर्ति हो।
वीरगन्जको मौलिकता औद्योगिक र व्यावसायिक नगरी भएकाले यसलाई बचाउन र अझै बनाउन मेयरमा उम्मेदवारी दिएको सरावगी बताउँछन्। उनी १६ वर्षअघि वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका थिए। यो क्षेत्रमा चित्तबुझ्दो विकास नभएकाले आफैं मेयरमा उठेको सरावगी बताउँछन्। ‘कोभिडले गर्दा अधिकांश काम रोकिएका थिए। यसलाई पूर्णता दिन पनि मैले उम्मेदवारी दोस्रो पटक दिएको छु,’ उनले भने, अहिलेको सम्भावना पनि राम्रै देखेको छु। ठूलो पार्टी भएकाले पहिलो पटक काम गरेर विश्वास दिन सकेकाले जित सुनिश्चित छ।
हुन त हाम्रोविरुद्धमा कांग्रेस, जसपा, माओवादीलगायतको गठबन्धन छ। यद्यपि हामीले पनि लोसपासँग गठबन्धन गरेर चुनाव लड्दैछौं।’ साढे चार वर्षको अवधिसम्म मेयर हुँदा उनले गरेको कामको बारेमा सुनाए, ‘मेरो कार्यकालमा वीरगन्जमा दुई सय किलोमिटर सडक निर्माण, १ सय ७४ किलोमिटर नाला, ल्यान्डफिल्ड साइड, एसटीपी प्लान्ट नयाँ बनाइयो र १४ हजार एलईडीका लाइटहरू जडान गरिएको छ।
साथै मानव सेवा आश्रमका लागि १८ कट्ठा जग्गा र ५० लाख रुपैयाँ सहयोग दिएका छौं।’ उनले ज्येष्ठ नागरिक पार्क, चिल्ड्रेन पार्कलगायतका थुप्रै योजनाहरू पूर्ण गरेको र अझै थुप्रै काम गर्न बाँकी रहेको बताए।
यसैगरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्। व्यवसायसँगै राजनीतिमा समेत फड्को मारेका वैश्य नेपालगन्जको विकास गर्न, स्थानीय उद्योगहरूलाई बढावा दिन आफूले मेयरमा उम्मेदवारी दिएको बताउँछन्। ‘नेपालगन्जलाई धेरै विकास गर्न जरुरी छ। यसको पहिचान बनाउनु छ। स्थानीय उद्योगहरूलाई प्रवद्र्धन गर्न जरुरी छ,’ उनले भने।
यसैगरी मोरङको रंगेलीबाट मेयरमा नेकपा एमालेबाट उम्मेदवारी दिएका दिलीप अग्रवाल पनि पेसाले व्यवसायी हुन्। तर, यसअघिको स्थानीय निर्वाचनबाट मेयरमा चुनिएर कार्यभार सम्हालिसकेका उनी अझै अधुरा काम पूरा गर्न उम्मेदवारी दिएको बताउँछन्। यसैगरी विराटनगरका प्रकाश अग्रवाल व्यवसायी हुन्। उनले नेकपा एमालेकै तर्फबाट विराटनगर वडा नम्बर ९ को अध्यक्षमा उम्मेदवारी दिएका छन्।
यता बाजुरामा नगरपालिकादेखि गाउँपालिकामा मात्रै निर्माण व्यवसाय अर्थात् ठेकेदार पेसा अँगाल्दै आएका आधा दर्जनभन्दा बढी व्यवसायीहरूले विभिन्न दलबाट उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ठेकेदारले उम्मेदवार बन्न नपाउने नियम ल्याएपछि निर्माण व्यवसायीले फर्महरू नामसारी गरेका थिए।
यसअन्तर्गत नेकपा एमालेका तर्फबाट कालीबहादुर शाहीले जगन्नाथ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन्। यससँगै, कांग्रेसबाट सुन्दर विष्ट नेपाली जगन्नाथ गाउँपालिकाको अध्यक्षका लागि र नेपाल कांग्रेसबाट पदम गिरीले बूढीनन्दा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्। यससँगै स्वतन्त्रबाट बूढीनन्दा नगरपालिकाको उपमेयरमा रामबहादुर बोहरा र गौमुल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हरिबहादुर रोकायाले उम्मेदवारी दिएको बाजुराका अन्नपूर्णकर्मी पदमबहादुर सिंहले जानकारी दिए।