अध्यक्ष जिते ५ वर्षसम्म तलब भत्ता लिन्न : लालचन
जोमसोम : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचनले निर्वाचन जिते ५ वर्षसम्म तलब भत्ता नलिने बताएका छन्।
मुख्य निर्वाचन कार्यालय मुस्ताङको मनोनयपत्र दर्ता गर्ने क्रममा स्थानीय तह अन्तर्गत आफू निर्वाचित भए आफूले पाएको तबल भत्ता ५ वटै पालिकालाई समानुपातिकरुपमा वितरण गर्दे प्रतिवद्धता ब्यक्त गरेका छन्।
लामोसमयदेखि बैदेशिक रोजगारका क्रममा विदेश बस्दै आएका कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लालचन विगत ५ वर्षदेखि आफ्नै गृह गाउँ मार्फामा बस्दै आईरहेका छन्। पर्यटन व्यवसायीसमेत रहेका लालचनको मार्फामा होटल मार्फा प्यालेस सञ्चालनमा छ। उनले कांग्रेसका तर्फबाट मनोनयनपत्र दर्ता गर्ने क्रममा पत्रकार सोधेको प्रश्नमा आफू भ्रष्टाचार गर्न, पैसा कमाउन र सेवा सुविधा लिने नभई पालिकाको समृद्धि र विकासमा योगदान गर्न उम्मेदवारी दिएको उल्लेख गरे।
कांग्रेसकातर्फबाट घरपझोङ गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लालचनले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा पालिकाको विकासमा समर्पित रहने बताए।‘मलाई पैसा कमाउने, सेवा सुविधा लिने र ठूलो मान्छे बन्ने रहर होईन विशुद्ध पालिकामा रहेर सेवा गर्ने रहरले उम्मेदवारी दिएको हुँ’उनले भने।