कांग्रेसले टिकट दिएका रुस्तम विवेकशील साझाका उम्मेदवार
वीरगन्ज : नेपाली कांग्रेसले बाराको फेटा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका रुस्तम अन्सारीले विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएका छन्। आफूलाइ गाँउपालिका अध्यक्षको टिकट दिएपनि आफूले भनेकालाई कांग्रेसले वडा अध्यक्षको टिकट नदिएको भन्दै रुस्तमले कांग्रेस परित्यागगरी विवेकशील साझा पार्टीबाट पालिका अध्यक्षमा सोमबार मनोनयन दर्ता गराएका हुन्।
कांग्रेसले आफूलाई मात्र टिकट दिएको तर आफ्नो पक्षकालाई वडाध्यक्षको उम्मेदवार बनाएकाले आफूले कांग्रेस परित्यागगरी विवेकशील साझा पार्टीबाट प्यानलसहित उम्मेदवारी दर्ता गराएको रुस्तमले बताए।
सोमबार अपरान्ह ३ बजे विवेकीशल साँझा पार्टीबाट मनोनयन दर्ता गराएका रुस्तमले भने,‘म तीन दशकदेखि कांग्रेसमा थिए, कांग्रेसले पालिका अध्यक्षमा मलाइ टिकट दिएकै हो, वडा अध्यक्षमा पनि मेरो टिमका साथीहरुलाई नै टिकट दिने आश्वासन पनि दिएको थियो तर अन्तिम समयमा आएर कांग्रेसले वडा अध्यक्षको टिकट योग्यर सक्षमलाई नदिइ पैसामा बेच्यो, त्यही भएर मैले कांग्रेस छोडे।’
उनले विवेकशील साझा पार्टीबाट गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, ७ वटै वडा अध्यक्ष र सदस्यगरी सबै पदमा उम्मेदवारी दिएको बताए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाटै गाउँपालिका अध्यक्षमा चुनाव लडेका रुस्तम झिनो मतले पराजित भएका थिए।
पालिका अध्यक्षमा रुस्तमसंगै विवेकशील साझा पार्टीबाट उपाध्यक्षमा निलम साह, वडा नम्बर १ को वडा अध्यक्षमा संतोष साह, २ को वडा अध्यक्षमा जयकिसुन मुखिया, ३ को वडा अध्यक्षमा प्रहलाद साह, ४ को वडा अध्यक्षमा भगवान साह मुखिया, ५ को वडा अध्यक्षमा अजय साह, ६ को वडा अध्यक्षमा अमिरहमजा ठकुराई र ७ को वडा अध्यक्षमा महमद हुसेन अन्सारीले उम्मेदवारी दिएका छन्।