उपल्लो मुस्ताङको ८ वडामा महिला दलित उम्मेदवार शून्य
जोमसोम : उपल्लो मुस्ताङको दुई पालिकामा महिला दलित उम्मेदवारको संख्या न्यून पाईएको छ। उपल्लो मुस्ताङमा दलित समूदायको बसोबास नहुँदा दुई पालिकामा गरी ८ वटा वडालाई आवश्यक पर्ने महिला दलित सदस्य कोटा त्यसै फ्रिज भएको हो।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लोमान्थाङ गाउँपालिका-५ मा कांग्रेस र एमालेले १-१ जना महिला दलित सदस्य उम्मेवारका लागि मनोनयनपत्र दर्ता गरे। उपल्लो मुस्ताङकै अर्को गाउँपालिका लोघेकर दामोदरकुण्ड-२ मा एमालेका तर्फबाट १ जना दलित महिला सदस्यले मात्र एकल उम्मेदवारी दर्ता गरिन्।
लोमान्थाङमा कांग्रेसकातर्फबाट बुटिक बिक र एमालेकातर्फबाट दावा पामो विकले उम्मेदवारी दर्ता गरेको लोमान्थाङबाट निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए। उनका अनुसार लोमान्थाङको १, २, ३ र ४ वडामा महिला दलित सदस्य पदमा उम्मेदवारी दर्ता हुन सकेन। यस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ मा एमालेको तर्फबाट टसी ल्हामो सुन्चौरीले एकल उम्मेदवारी दर्ता गराएको लोघेकर दामोदरकुण्डबाट निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी दिए। उनका अनुसार त्यहाँ पनि वडा १, ३, ४ र ५ मा महिला दलित सदस्यमा उम्मेदवारी परेन। लोघेकर-२ मा एमालेको एकजना मात्रै उम्मेदवारी परेकाले महिला दलित सदस्य सुन्चौरी निर्विरोध भएकी हुन्।
नेपालको संविधानले निर्दिष्ट गरेको तीन तहको संघीय सरचना अन्तर्गत स्थानीय तहको प्रत्येक वडामा अनिवार्य महिला दलित सदस्यको कोटा आरक्षण गरिएको छ। तर स्थानीय तह संञ्चालन ऐनमा उल्लेख भएपनि उपल्लो मुस्ताङमा दलित समूदायको उपस्थिती न्यून हुँदा स्थानीय तहमा महिला दलितको उपस्थिती कम हुँने गरेको छ।
उपल्लो मुस्ताङमा गुरुङ, बिष्ट र लोहा समूदायका मानिसको बसोबास छ। उपल्लो मुस्ताङ दलित समूदायको बसोबास एक प्रतिशत पनि छैन। उपल्लो मुस्ताङको लोमान्थाङमा १९४८ मतदाता हुदा त्यहाँ महिलाको संख्या १०२२ छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १४४ मतदाता हुँदा त्यहाँ महिलाको सख्या ७५५ छ। उपल्लो मुस्ताङको दुई पालिकाको १० वडा मध्ये २ वटा वडामा मात्र ३ जना महिला दलितको उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङमा गरी कुल १५ महिला दलित सदस्य पदको कोटामा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले फरक फरक प्रकारले उम्मेदवारी दर्ता गरेका हुन्। घरपझोङको १, २ र ५ वडामा ३ जना महिला दलित सदस्य निर्विरोध भएका छन्।