लोमान्थाङमा अध्यक्षका उम्मेदवारविरुद्ध उजुरी
जोमसोम : मुस्ताङमा कांग्रेसका उम्मेदवारविरुद्ध उजुरी परेको छ। लोमान्थाङ गाउँपालिकाका लागि अध्यक्ष पदमा उम्मेदवारी मनोनयपत्र दर्ता गरेका कांग्रेसका उम्मेदवार टसी गुरुङविरुद्ध नेकपा एमाले जिल्ला कमिटी मुस्ताङले चीन विरोधी गतिविधिमा संग्लन रहेको उल्लेख गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा उजुरी दर्ता गराएको हो।
नेकपा एमाले जिल्ला कमिटी मुस्ताङका अध्यक्ष आशबहादुर थकालीद्धारा हस्ताक्षरीत कांग्रेस उम्मेदवार टसी गुरुङविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय मुस्ताङमा दर्ता भईसकेको छ। एमाले मुस्ताङले आसन्न स्थानीय तह निर्वाचनमा लोमान्थाङ गाउँपालिकामा कांग्रेसकातर्फबाट उम्मेदवारी दर्ता गराएका लोमान्थाङ—१ निवासी गुरुङ नेपाल सरकारको एक चीन नीतिप्रति प्रतिवद्ध नभएको र उनले चीन विरोध गतिविरोधी गरेको एमालेको उजुरीपत्रमा उल्लेख गरिएको छ। एमालेले पेश गरेको उजुरी पत्रमा आरोपित उम्मेदवार गुरुङको मतदाता नम्बरसमेत खुलाएको छ।
एमाले मुस्ताङले कांग्रेसका अध्यक्ष पदका उम्मेदवार गुरुङलाई केही महिना अघि तिब्बतको निर्वासित सरकारको आम चुनावमा महिला बिधायकको रुपमा उम्मेदवार बन्नु भएकी श्रीमती ग्यारी ढोमाको चुनाव प्रसारप्रसार गर्ने क्रममा नेपालस्थित तिब्बतीयन क्याम्पमा हिडेको आरोप लगाईएको छ। श्रीमती ग्यारी ढोमा अहिले तिब्बत सरकारको गृहमन्त्री पदमा रहेको उजरी पत्रमा उल्लेख गरिएको छ।
एमाले मुस्ताङको उजुरी पत्रमा कांग्रेसका उम्मेदवार गुरुङको नेपाली नागरिक भएपनि उक्त आचरण नेपाल सरकारको एक चिन नीतिप्रति प्रतिवद्ध हुनुपर्नेमा सो नीतिकोविरुद्ध राष्ट्र हित प्रतिकुल गतिविधि गरेको र यसरी एउँटा देशको नागरिकले छिमेकी राष्ट्रको विरुद्ध अवैधानिक कृयाकलापमा संग्लन रही तिब्बतीयन नागरिक सरह कार्य गर्नु दुभाग्यपूर्ण भएको उजुरीमा भनिएको छ। एमाले मुस्ताङले यसप्रकारको नेपालको प्रचलित कानुन विपरित सार्वभौम र राष्ट्रिय अखण्डताविरुद्ध संग्लन निज ब्यक्तिलाई तत्काल पक्राउ गरी प्रचलित कानुन बमोजिमको कडा कारवाही गरी राष्ट्रहित विपरितको कार्य रोकिपाउँ भनी उजुरी दिएको जनाएको छ।
एमालेले पेश गरेको उजुरीपत्रसहित लोमान्थाङमा कांग्रेसकातर्फबाट अध्यक्षपदमा उम्मेदवारी दर्ता गराएका गुरुङको फेसबुक प्रोफाईलमा तिब्बती गृहमन्त्री ग्यारी ढोमाको तस्विर राखिएको प्रतिसमेत उजरी पत्रसहित पेश गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए। उनका अनुसार लोमान्थाङमा कांग्रेसका अध्यक्ष पदका उम्मेदवार विरुद्ध एमाले मुस्ताङले मुख्य निर्वाचन कार्यालय जोमसोम र निर्वाचन कार्यालय लोमान्थाङमा बोधार्थ पठाईसकेको उल्लेख गरे।
यता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लोमान्थाङ गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार टसी गुरुङ विरुद्ध उजुरी दर्ता भएको सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले पुष्टि गरे।