टिकटमा कुरा नमिल्दा बेलका कांग्रेसका १५ जनाले पार्टी छाडे
उदयपुर : टिकट वितरणमा असन्तुष्ट व्यक्त गरेका नेपाली कांग्रेस बेलका नगरपालिकाका सचिबसहित १५ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। उम्मेदवारी चयनमा काखा र पाखा गरेको भन्दै असन्तुष्ट पार्टी नेताले विद्रोह गरेका हुन्। उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
नेपाली कांग्रेसका बेलकाका चर्चित नेता जयप्रसाद सुवेदी, बद्रीबहादुर सापकोटासहित पूर्वगाउँ पार्टी सचिव बाबुराम थापा, प्रदेश सदस्य भरत कार्की, वडा उपसभापति शेरबहादुर बस्नेत, रामुकमार खड्कासहित १५ जना नेपाली कांग्रेस उदयपुरका नेता तथा क्षेत्रिय प्रतिनिधिले पार्टी परित्याग गरेका हुन्। सुवेदी मेयर पदका आकांक्षी थिए। उनी पार्टका पुराना र इमान्दार नेता हुन्।
कांग्रेसले बेलका नगरपालिकामा मेयरमा अशोक कार्कीलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन्। उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए। एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिएको र आफुहरुसँग कुनै परामर्श नलिएको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन्।
पार्टी एकलौटी ढंगले सञ्चालन गरेको र गुटगत तरिकाले टिकट वितरण गरेको भन्दै कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन्। पार्टी परित्याग गरेकी नगर सचिब मायादेवी वलीले सामाजिक संजालमा लेखेकी छिन्, ‘टिकेट नपाको रिस पोखेको नसम्झिनु होला म अहिले टिकेट हातमा दिँदा पनि चुनाब लड्ने मानसिक्तामा थिई। तर निर्णय पँङ्तीमा रहेका हामी महिलालाइ समेत टिकेट बितरणको बेला अधेँरोमा राखेर आँफु खुसि साँठगाँठ हुन्छ भने राजनीति नगर्दा पनि केही हुदैन।’
उनले बाँकी समय स्वतन्त्र रहने र छोराछोरी र परिवारको लागि दिनेसमेत लेखेकी छिन्। बेलकामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नगर सभापति अशोक कार्की र उपमेयरमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनोज तामाङ्ग मैदानमा छन्।
कार्की यसअघि नेकपा एमालेका दुर्गाकुमार थापा (स्वस्ति)सँग पराजित भएका हुन्। यसपटक पनि उनै थापासँग उनको प्रतिस्पर्धा हुने भएको छ। एमालेले मेयरमा थापा र उपमेयरमा जिरा राईलाई उम्मेदवारी बनाएको छ।