सिटीको प्रभावशाली जित

सिटीको प्रभावशाली जित

लन्डन : च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले स्पेनिस महारथि रियल म्याड्रिडलाई ४–३ गोलले पराजित गरेको हो।

घरेलु मैदान इतिहाद स्टेडियममा म्यानचेस्टर सिटीलाई प्रभावशाली जित दिलाउन केभिन डी ब्रुन, गाब्रियल जिसस, फिल फोडेन र बर्नान्डो सिल्भाले एक÷एक गोल गरे। रियल म्याड्रिडका करिम बेन्जमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे।

निकै रोमाञ्चक खेलमा केभिन डी ब्रुनले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले रियाद महारेजको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए। बेल्जियन मिडफिल्डर केभिन डी ब्रुन यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले ९४ सेकेन्डमै रियल म्याड्रिडविरुद्ध गोल गर्न सफल भएका थिए। 

ब्रुनले मे २०१८ मा रियल म्याड्रिडविरुद्ध नै तेस्रो मिनेटमा योसुवा किम्मिचले बनाएको कीर्तिमानलाई तोडेका हुन्। च्याम्पियन्स लिगमै भने जर्मन क्लब बायर्न म्युनिखका रोय माकायको नाममा छिटो गोलको कीर्तिमान छ। उनले सन् २००७ मा रियल म्याड्रिडविरुद्ध २–१ को जित निकालेको खेलमा १०.१२ सेकेन्डमै गोल गरेका थिए।

त्यसपछि ११औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। उनले केभिन डी ब्रुनको पासमा बललाई जाली चुमाएका थिए। खेलको ३३औं मिनेटमा रियल म्याड्रिड खेलमा फर्किएको थियो। करिम बेन्जमाले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए। 

पहिलो हाफमा २–१ को अग्रता बनाएको म्यानचेस्टर सिटीले ५३औं मिनेटमा तेस्रो गोल गरेको थियो। फर्नान्डिन्होको पासलाई सदुपयोग गर्दै फिल फोडेनले गोल गरेका थिए। यसलगत्तै ५५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई ३–२ को स्थितिमा ल्याएका थिए। 

निकै प्रतिस्पर्धात्मक खेलको ७४औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई ४–२ को अग्रता दिलाए। त्यसपछि खेलको ८२औं मिनेटमा करिम बेन्जमाले पेनाल्टीमा गोल गरे पनि रियलको हार टार्न सकेनन्।
जितसँगै इङ्लिस प्रिमियर लिग लिडर सिटीले फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।

दोस्रो लेगमा बराबरी खेले पनि सिटी फाइनलमा पुग्नेछ। स्पेनिस ला लिगाको उपाधि नजिक रहेको रियल म्याड्रिडलाई भने फाइनलमा स्थान बनाउन ठूलै संघर्ष गर्नुपर्ने भएको छ। घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा रियललाई जित्नैपर्ने दबाब थपिएको छ। दुई टोलीबीचको दोस्रो लेगको खेल आगामी मे ५ मा हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.